
नेपाली चलचित्र क्षेत्रको मात्र नभएर नेपालमा व्यवासायिक हकहितका लागि स्थापना भएका संघ संस्थाहरुमा पुराना संस्थाको रुपमा नेपाल चलचित्र संघ रहेको कुरा आज फेरी एकपटक स्मरण गराउन चाहन्छु । साधारणसभाको कुरा गर्दा ४० औंले हामीबीच केही भ्रम सिर्जना गर्नसक्ने कुरा नकार्न सकिँदैन । यथार्थ यथार्थै हुन्छ । पुराना अभिलेख हेर्दा संस्था वि. सं. २०१३ सालमा नै क्रियाशिल भएको देखिन जान्छ । वि.सं. २००८ सालदेखि चलचित्र प्रदर्शन सुरु भएको नेपालको पहिलो चलचित्र भवन जनसेवा हल जसमा पहिला चलचित्र राम विवाह प्रदर्शन गरिएको थियो। २०१३ सालअघि नै संचालनमा रहेका उपत्यकाका हलहरु र उपत्यका बाहिरका हलहरुले आफ्नो व्यवसायिक क्षमता बृद्धि मर्यादित चलचित्र व्यवसायका साथै हक र हितका लागि एउटा साझा थलोको आवश्यकता महसुस गरी वि.सं.२०११ सालमा तात्कालिन मेजेष्ट्रिीमा नेपाल मोसन पिक्चर्स एशोसियसनको रुपमा यो संस्था विधिवत स्थापना भएको हो । हामीसँग २०१३ सालदेखिको अभिलेख भएकोले त्यसैलाई स्थापना बर्ष मानिआएका छौं । वि.सं. २०१३ देखि यो संस्था नेपाल मोसन पिक्चर्स एशोसिएसन २०४२ देखि भने नेपाल चलचित्र संघको नाममा क्रियाशिल छ ।
विदेशी भाषामा निर्मित चलचित्र मात्र पाइने सो बेलामा विदेशी भाषामा निर्मित अझ सिधै भन्दा हिन्दी चलचित्र मात्र प्रदर्शन गरिन्थ्यो । चाहे जे होस् त्यो बेला चलचित्र घर निर्माण गरेर साहस देखाउने हाम्रा अग्रजहरु नै आजका नेपाली चलचित्र क्षेत्रको पहिलो पथ प्रदर्शक हुन् भन्ने गौरव सबैले गर्नुपर्दछ । त्यही साहसको परिणाम चलचित्र घरहरु भएपछि नेपाली चलचित्रहरुको निर्माण सुरु भइ आज नेपाली चलचित्र क्षेत्रको उपस्थिति मुलुकमा देखिन्छ । आज नेपाली चलचित्र क्षेत्रमा व्यवसायिक र पेशागत थुप्रै संघ संस्था क्रियाशिल छन् । नेपाली चलचित्र क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाखौंले रोजगारी प्राप्त गरिरहेका छन् । यसमा सबैभन्दा बढी गौरव चलचित्र संघले गर्नु स्वाभाविक हो भन्ने मलाई लाग्दछ । हिजो एक्लै चलचित्र क्षेत्रको अगुवा गरिरहेको संघलाई आज थुप्रै संस्थाहरुको साथले हौसला प्रदान भइरहेको मैले महसुस गरिरहेको छु । मैले यसो भनिरहँदा सबैलाई सहज लागिरहेको छ नै भन्ने पनि होइन । यथार्थ र धरातलीय सत्यता भन्दा म बाहिर गएको ठान्न छुट पनि छ । तर म जे भनिरहेछु सत्य भनिरहेछु । हामीबीचको समान सोचाइहरुको म मूल्यांकन गरिरहेछु । किनकी म सकारात्मक सोचको धनी हो । सकारात्मक सोच राखेर हेर्दा चलचित्र क्षेत्रमा कि्रयाशील सबै संघ संस्था आजको दिनमा यस क्षेत्रका समान आधार स्तम्भहरु हुन् । एकले अर्को संस्थाको अवमूल्यन गर्नु भनेको समग्र चलचित्र क्षेत्रको उन्नतिको बाधक बन्नु हो । कुनै एक संस्थाको कुनै कारणले हुने अवसानले समग्र चलचित्र क्षेत्रमा भुकम्प आउँछ भन्ने हाम्रो ठम्याई हो । त्यसैले समग्र चलचित्र क्षेत्रलाई जोगाएर राख्न हामीले आफ्नो पेशा व्यवसाय र आफू संलग्न संघ संस्था मात्र जोगाएर पुग्दैन भन्ने हो ।
हामी कोही प्रदर्शक कोही निर्माता कोही बितरक कोही कलाकार त कोही प्राविधिक अनि पत्रकार सर्जक हेर्दा हाम्रो भूमिका फरक फरक छ तर जसरी एउटा चलचित्र निर्माण गर्दा धेरैको भूमिका हुन्छ र चलचित्र निर्माण हुन्छ त्यसैगरी चलचित्र क्षेत्र बनाउन हामी सबैको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरा मस्तिष्कमा राख्न जरुरी छ । एउटै पेशा वा व्यवसायमा सम्मिलितहरुबाट उक्त संघ बने झैं संघ संस्थाहरु जो चलचित्र क्षेत्रमा क्रियाशिल छन् ती संघ संस्थाहरुका सामुहिक प्रतिनिधित्व चलचित्र क्षेत्रले गर्दछ । अध्यक्षले साधारणसभामा बोल्ने कुरा अलि फरक हुनुपर्ने हो की आफ्नो कार्यकालका उपलब्धी समिक्षा र भावी कार्यनीति आदि । तर यहाँ चलचित्र क्षेत्रको इतिहास अनि संरचनाको चर्चा मात्र भयो होला भन्ने पनि यहाँहरुलाई लाग्दो होला । जे सुनेको त्यही भन्नुपर्छ नै । फेरी म मेरै कुरामा पुग्न अनुमति चाहन्छु । मैले चलचित्र क्षेत्रमा आफ्नो संस्थालाई अगुवाको रुपमा प्रस्तुत गरे भने अर्कोतर्फ सबै संस्थाहरु समान आधार स्तम्भ हुन् पनि भने । कुरा सिधा छ अगुवा भनेर मैले इतिहास दोहोर्याएको मात्र हो र समान आधार भनेर वर्तमान धरातलीय सत्यतालाई उजागर गरेको छु । मैले सुरुदेखि नै चलचित्र क्षेत्र भनिरहेँ । उद्देश्यमूलक ढंगले मैले यसो भनेको हुँ । अहिले पनि नेपाली चलचित्र क्षेत्र उद्योगको रुपमा विकास नभएर मैले त्यसो भनेको हुँ । चलचित्र संघमा हाम्रो कार्यसमितिले सबैभन्दा पहिले यो क्षेत्रलाई मर्यादित प्रतिष्ठित र व्यवस्थित बनाउन यस क्षेत्रमा कार्यरत सबै संघ संस्थासँग भातृत्व विकास गर्ने प्रयत्न गर्यौं । धेरै हदसम्म नेपाल चलचित्र संघसँगको सहकार्य अझ भनौं एक संघ र अर्को संघबीचको सहकार्य गर्ने वातावरण तयार भयो । दूरी घटाउने काम पनि भयो । एक अर्कोको सहयोगी रुपमा कतिपय ठाउँमा प्रस्तुत भयौं पनि । औपचारिक अनौपचारिक रुपमा नेपालमा नेपाली चलचित्रको विकास र प्रर्वद्धनका लागि विचार मन्थन पनि गर्यौं तर पनि हामी आशातित सफल हुन सकेनौं । नेपाली चलचित्र क्षेत्रलाई उद्योगमा परिणत गर्न सफल भएका छैनौं । भन्न त कतिले यसलाई चलचित्र उद्योग पनि भन्छन् नामले उद्योग हुने होइन । कार्यले उद्योग हुनुपर्यो । हामी कहाँ जे कुरामा पनि सरकारको मुख ताक्ने बानी छ । सरकारसँग वातावरण सिर्जना गर्ने कुरामा मुख ताक्न सकिन्छ तर सबै कुरा सरकारले गरिदिने भए हाम्रो भूमिका के त भूमिका विनाको नायक पात्रको इज्जत पनि के सरकारले यस क्षेत्रलाई उद्योग बनाइदिने होइन । हामीले उद्योग बनाएर सरकारलाई स्वीकार्न लगाउने हो ।
त्यसैले यस क्षेत्रलाई उद्योगमा रुपान्तरण गर्ने दायित्व हामी सबैको हो भन्ने कुरा बुझ्न जरुरी छ । अमुक व्यक्ति वा संस्थाहरुको बक्यौता हुन सक्दैन न त जिमिन्दारी नै । यस क्षेत्रमा लागेका हामी सबैसँग केही न केही खुबी र दक्षता छ भन्ने सबैले स्वीकानु जरुरी छ । एक थुकी सुकी सबै थुकी नदी भनेझैं सबैको सामुहिक प्रयासको जरुरी छ । पेशा र व्यवसायले फरक स्वार्थ हुनु स्वभाविक नै भए पनि सबैको साझा स्वार्थमा नै सबैको हित लुकेको कुरा बुझ्न जरुरी छ । त्यो भनेको नेपाली चलचित्र उद्योगको स्थापना । उद्योग बन्न त्यसै प्रकारको चरित्रहरु हुन जरुरी छ । र त्यो चरित्र निर्माण गर्ने कार्य हामी सबैको हो । व्यक्ति होइन पेशा र व्यवसाय स्थापित हुने काम गर्नुपर्यो । व्यक्तिको निरन्तरता हुन सक्दैन तर पेशा र व्यवसायको हुन सक्दछ । अनि चलचित्र उद्योगमा समाहित हुनेहरुको भविष्य उज्वल हुन्छ । जहाँ उज्वल भविष्य देखिन्छ त्यहाँ लगानी मैत्री वातावरण बन्दछ । अनि जहाँ लगानी प्रशस्त हुन्छ त्यहाँ काम र दामको अवसर प्रशस्त हुन्छ । जहाँ काम र दाम प्रशस्त हुन्छ त्यो राज्यको नजरमा सम्मानित क्षेत्र हुन्छ । राज्यकै आशाको केन्द्र हुन्छ । अनि राज्य सधैं त्यो क्षेत्रको विकास र प्रवद्र्धनको लागि आफैं सजग रहन्छ । हामीले राज्यको मुख ताक्ने होइन राज्य हाम्रो उद्योगको मुख ताक्छ । आज नेपालीहरु संसारभरि छरिएका छन् । कोरियन चलचित्र नेपाली दर्शकमाझ विशेष गरी युवा पुस्तामा लोकप्रिय हुनसक्छन् भने नेपाली चलचित्र हिन्दी भाषीहरुका लागि सजिलै पाच्य हुनसक्छ भन्नु गलत हुँदैन कि ? यसरी हाम्रो बजारले नेपालको सीमा नाघ्न सके विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत बनाउन सक्छौं । यसबाट हाम्रा वितरक साथीहरुलाई थप आत्मसम्मान प्राप्त हुन जान्छ भन्ने हामीलाई लाग्दछ ।
मेरो कुरा काल्पनिक पनि लाग्न सक्छ । किनकी मुलुक अहिले परिवर्तनको संघारमा छ । सरकारको मुख्य दायित्व शान्ति र संविधान निर्माण हो । सरकार आफ्नो दायित्व पूरा गर्न सफल रहोस् हाम्रो शुभकामना छ । तर हाम्रो दायित्व देश विकासमा टेवा पुर्याउने हो । यसका लागि हाम्रो क्षेत्रलाई वास्तविक उद्योगमा परिणत गर्न केही कुराले छेक्दैन होला । छेक्यो भने इच्छा शक्तिको कमी सहकार्यको कमी र नकारात्मक सोचले मात्र छेक्न सक्छ । लगानी मैत्री वातावरण सिर्जना गरे लगानीकर्ताको कमी हुँदैन । ठूला उद्योगपतिहरुले यस क्षेत्रमा हात नहालेका होइनन् तर तिनीहरुलाई निराशा पार्ने काम हामीबाटै भयो । व्यवसायिकता हामीबीच अझैं छैन । नत्र नेपालीहरुले लगानी गर्ने ठाउँ नभेटेको कुरा बैंकहरुको शेयर खरिदबाट थाहा हुन्छ । सहकारीको सोचाइ पनि नेपाली चलचित्र उद्योगमा भित्र्याउन सकिन्छ । अहिलेकै अवस्थामा पनि नेपाली चलचित्र क्षेत्रलाई उद्योग बनाउन सकिन्छ त्यसैले एकअर्कामा सहकार्य गरी अगाडि बढ्न सबैमा अनुरोध गर्दछु ।
अब हाम्रो कार्य समितिको कार्यकालको कुरा म गर्न चाहन्छु । सबै भन्दा पहिले अध्यक्षात्मक प्रणालीबाट हामीले सामुहिक नेतृत्वमा संस्थालाई अगाडि बढाउने परम्पराको थालनी गर्यौं । मैले माथि नै भनेको थिएँ चलचित्र क्षेत्रमा कुनै पनि संघ संस्थाका भूमिका कमजोर हुनु भनेको समग्र चलचित्र धरासायी हुनसक्छ । त्यसैले आफ्नो संस्थाको भूमिकालाई सशक्त बनायौं । संस्थाको आधार स्तम्भ सदस्यहरुको मनोबल उच्च पार्दै बन्द भएका हलहरु खोल्न वातावरण तयार गर्न डिजिटल प्रणालीको विकासमा काम गर् यौं । जसको नतिजा धेरै ठाउँका बन्द हलहरु खुले । संसारमै नभएको शुल्कमा तोकिएको न्यूनतम शुल्क तिर्नैपर्ने बाध्यताकारी नियमलाई सर्वोच्च अदालतद्वारा खारेज गर्न लगाउन सफल भयौं । नेपाली चलचित्रमा लगाइएको चलचित्र विकास शुल्क नेपाली चलचित्रको विकासका लागि बाधक भएकोले सो लाई खारेज गर्ने कार्यमा अन्य संघ संस्थाको पनि सहयोगमा हामी सफल भयौं । ठूला साना सबै हलहरुले एकैचोटी चलचित्र प्रदर्शन गर्न पाउने अवसर पनि हाम्रै पालादेखि शुरु मात्र भएन की चलचित्र प्रदर्शनका लागि वितरण र प्रदर्शकबीचको मतभिन्नतलाई कम गरी सुमधुर सम्बन्ध विकासको थालनी पनि गर् यौं । यसबाट सबै सदस्यहरुले राहत महसुस गरेका छन् भन्ने हामीलाई लागेको छ ।
हामीले यस्ता प्रत्यक्ष अप्रत्यक्ष कामहरु गर् यौं तर पनि पूर्ण रुपमा सफल हुन सकिएन भन्ने मलाई लाग्दछ । प्रदर्शक वितरक सदस्यहरुको पक्षमा गर्नुपर्ने धेरै काम हामीले गर्न सकेनौं । वितरक साथीहरुको व्यवसायिक सुरक्षा र विस्तारमा काम गर्न खोज्दा खोज्दै अधुरो रह्यो । वितरण प्रणालीलाई राज्यको सीमा नघाएर अन्तर्राष्ट्रियकरण गर्ने सोचाई अधुरै रह्यो । समग्रमा भन्नुपर्दा नेपाली चलचित्र उद्योगमा रुपान्तरण गर्ने केही काम अधुरा रह्यो । तर पनि आगामी दिनमा निर्माण हुने नयाँ कार्यसमितिको नयाँ नेतृत्वलाई आफ्नो आफ्नो अनुभवका आधारमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाउन चाहन्छु । मेरो नेतृत्वको कार्य समितिसँग सहकार्य गरी अगाडि बढ्न खोज्ने नेपाली चलचित्र क्षेत्रमा संलग्न अग्रज र संघ संस्थाहरुप्रति आभार व्यक्त गर्दछु । चलचित्र विकास बोर्ड र सबै संघ संस्थाको सहकार्यले निरन्तरता पाउनुपर्छ । साथै विकास बोर्ड विकास कै लागि भएकोले नेतृत्वदायी भूमिकामा जहिले पनि रहनुपर्दछ । सबैलाई समेटेर लैजाँदा मात्र चलचित्र क्षेत्र उद्योगको रुपमा स्थापित हुन सक्छ । चलचित्र विकास बोर्डले हामीलाई गरेको सहयोगप्रति पनि आभार व्यक्त गर्दछु । साथै विकास बोर्डबाट आगामी दिनमा सहयोगको अपेक्षा समेत गर्दछु । चलचित्र पत्रकार संघ र सम्पूर्ण चलचित्र पत्रकार साथीहरुलाई वहाँहरुको रचनात्मक सहयोग प्रति आभार व्यक्त गर्दछु । कार्य समितिका सबै साथीहरु भूपू अध्यक्षज्यूहरु सबै प्रदर्शक, वितरक साथीहरुमा साथै संघका कर्मचारी मित्रहरु प्रति आभार व्यक्त गर्दछु ।
अन्त्यमा नेपाली चलचित्र क्षेत्रलाई मर्यादित प्रतिष्ठित र व्यवस्थित बनाउँदै यस क्षेत्रलाई उद्योगको रुपमा स्थापित बनाउन एकपटक यस क्षेत्रका हामी सबै एकजुट भएर लागौं । यही नवबर्ष २०६८ को मंगलमय शुभकामना सहित विदा हुन चाहन्छु ।