मिति : २०८१ चैत्र २०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

चलचित्रमा महिला सहभागिता आजको आवश्यकता : माधव ढुङ्गेल

फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख २८, बुधवार

महिलाको चलचित्र भनेको नारीवादी चलचित्र मात्रै होइन र महिला निर्देशकको चलचित्र मात्रै पनि होइन । फेरि यसलाई महिला विषयक चलचित्र भन्नु पनि सही हुँदैन किनभने कथा महिलाका विषयमा हुँदैमा त्यसलाई महिलाको चलचित्र भन्ने गरिएको छैन । एकातिर महिला दर्शकहरूको रूचिलाई ध्यानमा राखेर बनाइएका चलचित्रहरू पनि महिलाका चलचित्र हुन सक्छन् भने अर्कातिर जुनसुकै रूपमा महिलाको केन्द्रीयतामा बनाइएका वा महिला दर्शकलाई ध्यानमा राखेर बनाइएका चलचित्रहरू पनि महिलाका चलचित्र मानिन्छन् ।

 


निर्देशक, प्रमुख भुमिका वा विषयबस्तु महिलाको हो भनेर चलचित्र हेर्न हलसम्म जाने मानिसहरूको संख्या पनि दर्शक समाजमा छ । त्यसो हुँदा महिलाको चलचित्र खाली महिला विषयक चलचित्र मात्रै नभएर एक विधाका रूपमा स्थापित भएको छ । त्यसैले महिलाको चलचित्र वा वुमन्स फिल्म भन्ने पदावली चलचित्र समीक्षाका क्षेत्रमा एक विधाका रूपमा स्वीकार्य पदावली बनेको छ । (डिक, सन् २००५: १६५)

 


महिलाहरू चलचित्रका क्षेत्रमा विशिष्ट दर्शक मानिन्छन् । कतिको विश्वास के पनि छ भने चलचित्रका दर्शकहरूमा महिलाको संख्या ज्यादा हुन्छ । अधिकांश समाजमा गृहिणी प्राय: महिलाहरू नै हुने भएकाले मनोरञ्जनका लागि उनीहरू समय निकालेर चलचित्र भवनमा पुग्ने गर्छन् । घरकै सानो पर्दामा चलचित्र हेर्नेहरूमा पनि पुरूषका सापेक्षतामा महिलाहरूको संख्या ज्यादा नै हुन्छ । केही चलचित्रकर्मीहरू के पनि बिश्वास गर्छन् भने पुरूषलाई मन परेको चलचित्र हेर्न महिला साथी भएर जाने सम्भावना जति कम हुन्छ महिलाहरूलाई मन परेको चलचित्र हेर्नका लागि साथी लगेर जाने पुरूषहरूको संख्या त्यसभन्दा धेरै बढी हुन्छ । महिलालाई चलचित्र मन पर्नु भनेको चलचित्रले राम्रो व्यवसाय गर्नु र लोकप्रिय हुनु हो भन्ने विश्वास उनीहरूमा पाइन्छ । चलचित्रका प्रशंसकहरू पुरूष भन्दा महिला नै ज्यादा छन् भन्ने विश्वास एक किसिमले सबैमा धेरथोर रहेकै हुन्छ । त्यसैले महिला दर्शकलाई आकर्षण गर्नकै लागि ३० र ४० को दशकतिर हलिउडमा पनि विशेष छुटमा टिकट बेच्ने गरिन्थ्यो । (डिक, सन् २००५: १६५)



विश्व चलचित्र क्षेत्रमा त्यस्ता धेरै नायिकाहरू छन्, जसको प्रभाव समाजमा नायकको भन्दा बढी हुन्छ । हाम्रा तिर पनि नायक कुन हो भनेर चलचित्र हेर्न जाने दर्शकहरू प्रशस्तै छन् । कुनै दिन भुवन केसी, शिब श्रेष्ठ आदिलाई त्यो हैसियत थियो भने पछि राजेश हमाल, निखिल उप्रेती, बिराज भट्ट आदिले त्यो लोकप्रियता आर्जन गरे । राजेश हमाल यिनीहरू मध्ये सबैभन्दा माथि मानिन्छन् । विश्व चलचित्र बजारमा बेट्टे डेभिस, जन क्राओफोर्ड, बारबारा स्टानविक आदि त्यस्ता नायिकाहरू हुन् जसको लोकप्रियता आफ्नो युगमा नायकहरूको भन्दा ज्यादा थियो ।



महिलाका चलचित्रहरूको कथा मूलत: महिलाकै सोच र जीवनशैली तथा चुनौती र अवसरकै वरिपरि घुमेका हुन्छन् । समाजलाई लैङ्गिक आँखाले हेर्ने र कतिपय अवस्थामा पितृसत्ताका विरूद्व महिला मुक्तिका लागि प्रेरित गर्ने काम यस्ता चलचित्रहरूमा भएको हुन्छ । वामपन्थी विचार धाराबाट प्रेरित महिलाका चलचित्रहरू नारीवादका नजिक देखिन्छन्; पितृसत्ताका विरूद्व लैङ्गिक समता र महिला स्वतन्त्रताका पक्षमा देखिन्छन् भने अन्य केही पुँजीवादी सोच भएका महिलाका चलचित्रहरूले सहनशीलतालाई महान देखाएका हुन्छन् र महिलालाई सहानुभुती पात्रका रूपमा प्रस्तुत गर्ने गर्दछन् । यसरी गैरवामपन्थी विचारका चलचित्रकर्मीहरू महिलाको महानता देखाउने नाममा पितृसत्ताको पक्षपोषण गरिरहेका हुन्छन् ।



अधिकांश महिलाका चलचित्रहरूले महिलामाथि हुने सामाजिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक, राजनीतिक र पारिवारिक शोषण उत्पीडनलाई विषय बनाएका हुन्छन् । यस्ता चलचित्रहरूले आफ्नो जीवन र भविष्यका बारेमा महिला आफैंले निर्णय गर्ने अधिकार र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारलाई स्थापित गर्ने प्रयास गर्छन् । कहाँ कहाँ कुन कुन क्षेत्रमा महिलाहरूमाथि कसरी दमन चलिरहेको हुन्छ र उनीहरूलाई कसरी मूल्यहीन जीवन बाँच्न बाध्य पारिएको हुन्छ भन्ने कुरालाई यस्ता चलचित्रहरूले प्राथमिकताका साथ उठाएका हुन्छन् । यस्ता चलचित्रहरूले एकातिर महिलाको भूमिकालाई स्थापित गर्ने काम गरेका हुन्छन् भने अर्कातिर आफ्ना अधिकारलाई सुनिश्चित गर्ने प्रयास गरेका हुन्छन् ।

 


महिलाकै चलचित्र भनेर बनाइएका सुरू सुरूका चलचित्रहरूमा महिलाका साथीहरू धेरै हुँदैनथे, सामाजिक क्षेत्रमा उनीहरूको संलग्नता त्यति हुँदैनथ्यो, पेसा वा व्यवसायमा उनीहरूको उपस्थिती असाध्यै न्यून देखिन्थ्यो । उनीहरू एक किसिमले पुरूषका सहयोगी चरित्रका रूपमा प्रस्तुत गरिन्थे । नायक क्रुर मात्रै छैन, उसको हृदयमा प्रेम पनि छ भन्ने देखाउनका लागि नायिकाको व्यवस्था गरिएको हुन्थ्यो । अझै पनि हाम्रा तिरका मूलधारका अधिकांश चलचित्रहरूमा नाचगान गर्न, नायकसँग प्रेम गर्न र खलनायकको चारित्रिक दुर्बलता देखाउन नायिकालाई उपयोग गर्ने प्रचलन ज्यादा छ । पश्चिमका पुँजीवादी चलचित्रहरूमा नायकको यौन पार्टनरको रूपमा प्रयोग गर्न वा ग्ल्यामर रचनाका लागि महिलाहरूको उपयोग ज्यादा हुने गरेको देखिन्छ । त्यसैले यिनीहरूका नजरमा राम्री नायिका भनेको सेक्सी र कामुक हुनु हो । यही मान्यतालाई खण्डन गर्दै पश्चिममा महिलाका चलचित्रहरूमा महिलालाई राजनीतिक नेताका रूपमा, प्रशासकीय व्यक्तित्वका रूपमा, पत्रकार, वकिल, मानव अधिकारकर्मी वा व्यवसायीका रूपमा प्रस्तुत गर्ने गरियो । यस्ता चलचित्रहरूले चलचित्रकर्मलाई केवल मनोरञ्जन मानेनन्, बरू सामाजिक जागरण र सुन्दर संसार निर्माणका लागि उपयोगी कलाका रूपमा यसलाई प्रयोग गरे । समाजमा बहसका रूपमा चलचित्रकर्मलाई अगाडी बढाएर जसले चलचित्र कलाको सामाजिक उत्तरदायित्व र प्रभावको सामर्थ्यलाई स्थापित गर्ने काममा महत्वपूर्ण योगदान दियो । सन् १९६० को दशकपछि समलिङ्गी चलचित्रहरूले पनि आफूलाई महिलाका चलचित्र भन्न रूचाए । यस्ता चलचित्रहरूले महिलाका चलचित्रको जुन पहिचान थियो त्यसलाई बङ्ग्याउने र विकृत तुल्याउने काम गर्‍यो ।

 


विवाह र यौन महिलाका चलचित्रका महत्वपूर्ण विषय रहने गरे । विवाहपूर्वको महिलाको जीवन र पछिको जीवनका बिचको भिन्नता, आमा हुनुको विशिष्टता, यौन सम्बन्धमा र प्रेम सम्बन्धमा देखिने परिवर्तन तथा महिलाको दृष्टीबाट देखिने पुरूषको स्वरूप यस्ता चलचित्रहरूमा दृष्टीगोचर हुन्छ । पहिचानको खोजी अर्थात विवाहपछि पुरूषको थर वा जात अपनाउँदा हुने असहजतालाई पनि यस्ता चलचित्रहरूले महत्वका साथ चित्रण गरेको पाईन्छ ।



हाम्रो जस्तो समाजमा महिलाहरू चक्रिय दमनको सिकारमा छन् तर यो कुरा चलचित्रको विषय बनेर आउन सकेको छैन । धनी परिवारका महिलाहरू पुरूषबाट शोषित छन् भने गरिब महिलाहरू पुरूष र धनी दुवैबाट हेपिएका छन् । अझ त्यो महिला दलित समुदायकी हो भने त थप जातीय दमन पनि उसले सहनु परिरहेको छ । त्यो दलित महिला अझ दुर्गम वा उपेक्षित क्षेत्रकी हो भने त उसले एकै चोटी चार पाँच थरी शत्रुहरूको सामना गरिरहेकी हुन्छे । हाम्रो समाजमा महिला हुनु र नहेपिनु भनेको दुर्लभ कुरा बन्न पुगेको छ । त्यसो हुँदा महिला विषयक चलचित्रहरूको क्षेत्र असाध्यै व्यापक छ, गर्नु पर्ने कामहरू असाध्यै धेरै छन् । कलाकार हुनुभन्दा बाहेक चलचित्र निर्माणमा नेपाली महिलाहरूको उपस्थिती पनि निकै न्यून छ ।

 


आजभन्दा अगाडी महिलाका विषयमा केही चलचित्रहरू बनेका भए पनि ती मूलत: सामन्ती र पुँजीवादी सोचबाटै बनेका छन् । महिलाको विषय भन्दै चलचित्रको कथालाई सासू बुहारीको झगडामा केन्द्रित गरेर सासूलाई दमनकारी शक्तिका रूपमा र बुहारीलाई सहनशील बिचराका रूपमा प्रस्तुत गरिनु त महिला मुक्तिका क्षेत्रमा दोहोरो दमन हो । यसले सासू पुस्ताको विरोध त गरेको छ नै सँगसँगै नयाँ पुस्ताका बुहारीहरूलाई पनि सहेर बस्नुपर्छ भन्ने गलत शिक्षा दिइरहेको हुन्छ ।

 


 यस्ता चलचित्रहरूले अन्तत: महिला दमनकै लागि वातावरण बनाइदिने हुनाले महिला मुक्तिको आवाजलाई बुलन्द गर्न सक्दैनन्, सकेका छैनन्; यो उनीहरूको भित्री चाहना पनि होइन । हो, आफूले रोजेको केटोसँग विवाह गर्न पाउनु पर्छ भन्ने मतमा भने महिलाका तर्फबाट केहि विद्रोह भएका छन् तर केटो छानेर बिहे गर्ने कुरामै सिमित छ भने पनि हुन्छ, बिहेपछि उ फेरी आफ्नो प्रेमी वा पतिबाट दमित हुन तयार हुन्छे, पति परमेश्वर उसको मानसिकताबाट हटेको हुँदैन । तर, पछिल्लो समयमा नेपाली चलचित्रमा पनि महिलाका समस्याप्रतिको आकर्षण बढेर गएको छ । महिलाका चलचित्र बन्न नसकेकै भए पनि एकादुई चलचित्रहरू महिला बिषयक भने अवश्य देखिएका छन् ।

 

 

माधव ढुङ्गेलद्वारा लिखित 'चलचित्र सिद्वान्त' नामक पुस्तकबाट साभार ।