त्यो वेला हिन्दी धार्मिक चलचित्र 'जय सन्तोषी मा’ को खुब चर्चा भयो । नियमित रूपमा चलचित्र हेर्नेले 'जय सन्तोषी मा’ नहेर्ने कुरै भएन जीवनमा चलचित्रको पर्दा नै नदेख्नेले पनि त्यो चलचित्र हेरे, जसमध्ये मेरो हजुरमुमा, मुमाहरू पनि हुनुहुन्थ्यो । त्यतिवेलासम्म चलचित्र भनेको के हो मैले चाल पाएको थिइना । चलचित्र मात्र हैन टेलिभिजन पनि मैले हेरेको थिइना किनभने त्यो वेलासम्म हाम्रो गाउ (हरिवन, सर्लाही) मा विद्युत् पुगेको थिएन । घरका सबै चलचित्र हेर्न गएको मैले चाल पाएपछि घरमा मेरो जिद्दी सुरु भयो । त्यो जिद्दीले भेरो हातमा पनि ५ रुपैया पारिदियो किनकि स्कुल पढ्न जानुपरेकोले म उहाहरूसागै चलचित्र हेर्न जानबाट छुटेको थिए ।
जब मेरो हातमा ५ रुपैया पर्यो त्यसपछि म जस्तै चलचित्र हेर्न छुटेका छिमेकी साथीहरुसागै लागेर म पनि चलचित्र भवन मा पुगे । दुर्भाग्य हामी पुगेकै दिन 'जय सन्तोषी मा’ परिवर्तन भएर 'जख्मी सेर’ नामक चलचित्र लागेको रहेछ । त्यतिवेलासम्म चलचित्र भनेको नायक नायिकाको फोटो मात्रै देखाउने होला भन्ने मलाई लागेको थियो तर त्यसो होइन रहेछ । त्यहा त मान्छे बोल्ने मात्रै हैन, नाच्ने, गाउने, फाइट गर्ने, माया गर्ने अनेक गर्दा रहेछन् म छक्क परेर बाहिर निस्किए ।
मेरो वेलामा हिन्दी चलचित्रको नायक मिथुन निकै हिट थिए । अग्लो शरीर, लामो कपाल, खुट्टा बङ्ग्याएर गर्ने डिस्को डान्स अनि गर्जिंदो आवाज, हामी सबै मिथुनका ठूला पयान थियौ । पर्दामा मिथुन आएपछि हाम्रो हातमुख सिटी बजाएर उनलाई स्वागत गर्नमा नै व्यस्त हुन्थ्यौ । मेरो घर छेउको चोकमा एउटा पसल थियो, पसलको माथिपट्ट चलचित्रको पोस्टर टाँगिन्थ्यो । त्यही पोस्टर हेरेर म लगायतले हलमा फिल्म फेरिएछ भनेर बुझ्थ्यौ । र बाटैबाट आफूले लगाएको स्कुलको कपडालाई बाहिर पाथ्र्यौ 'अनि भित्रपट्टको कपडालाई बाहिर पार्थ्यौं । जस्तै गर्मी भएपनि सिनेमा हेर्नकै लागि पढाउने शिक्षक र घरका अभिभावलाई छल्न २ जोर कपडा लगाएर स्कुल जाने बानी थियो म र मेरा साथीहरूको ।
एकदिन त्यही चोक भएर स्कुल जाँदै थिएँ त्यहाँ टाँसिएको नयाँ चलचित्रको एउटा पोस्टर देखेर म अडिएँ । नेपाली कथानक चलचित्र 'युगदेखि युगसम्म’ लेखेको पोस्टरमा त मिथुन चक्रवर्ती पो छ त ! म अलमल्लमा परें । मलाई लाग्यो मिथुनले नेपाली चलचित्र खेलेछ । अब त झन् हेर्न नजाने कुरै भएन, स्कुलको बाटो छलेर गाउँको आलीको बाटो लागियो मिथुनको नेपाली चलचित्र हेर्न । हलमा छिरेर सिटमा बसियो, कास्टिङ सुरु भयो, त्यो पुरै कास्टिङलाई आँखा झिमिक्क नपारी हेरेको मिथुनको त नामै छैन, चलचित्र सुरु भएको केही दृश्यपछि मिथुन त देखियो तर हिन्दी हैन नेपाली मिथुन, पछि थाहा भयो त्यो नेपाली मिथुनको नाम रहेछ राजेश हमाल ।
त्यो युगदेखि युगसम्म चलचित्र हेरेपछि हिन्दी भाषा बोल्ने मिथुनका चलचित्र काम हेरिन थालियो भने नेपाली भाषा बोल्ने नेपाली मिथुनका चलचित्र अब धेरे हेरिन थालियो, भनौ राजेश हमालले खेलेका प्रायः कुनै पनि चलचित्र हामीले छुटाएन । तिनै राजेश हमालले नेपाली चलचित्रमा काम गरेको २० वर्ष पुगिसकेको छ । लभरब्वाईको चरित्रबाट अभिनय यात्रा सुरु गरेका हमालको परिचय एङ्ग्री योङ म्यानको छविमा परिणत भएको पनि वर्षौं भइसक्यो । उनी आज पनि चलचित्रमा उत्तिकै व्यस्त रहेका छन् । नेपाली रजतपटमा बन्ने झन्डै ९० प्रतिशत चलचित्रमा उनको उपस्थिति अहिले पनि अनिवार्य हुने छाडेको छैन । विद्रोही स्वभाव बोकेर पर्दामा राजेश हमालले 'हे' भनेर गर्जिंदा आपनो चलचित्रको लगानी र लोकपि्रयता सुरक्षित हुने विश्वास आम चलचित्र कर्मी र प्रदर्शकमा अझै पनि रहेको छ । उनको बिकेको टाउकोसागै झुन्डिएर आएका निकै चलचित्रकर्मी पनि आज आपनो टाउको बिकाउने भइसकेका छन् । उनको फ्यान भएर उनका दर्जनौ चलचित्र हेर्दै थपडी बजाउने मैले पनि उनलाई मेरा दुई चलचित्र 'मर्यादा' र 'मौसम' मा निर्देशन गर्ने अवसर मात्र पाइना उनलाई अवार्ड दिलाउने सौभाग्य नै पाए । जसलाई मैले आपनो अहोभाग्य सम्झेको छु ।
महानायक
विगत केही समयदेखि नेपाली चलचित्र क्षेत्रका केही संघ संस्था र व्यक्तिले राजेश हमाललाई महानायक उपाधि दिएर सम्मानित गरेका छन् । हमाललाई महानायक किन भनियो ? नायक कतिवेला महानायक हुन्छ ? यही कारणले हमाललाई 'महानायक' को रूपमा सम्मान गर्र्यो भन्ने कारण त सम्मान गर्नेले आजसम्म बताएका छैनन् तर राजेश हमाल 'महानायक' हुन भन्ने कुरामा मेरो पनि दुई मतचाहिँ छैन । मेरो बुझाइमा उनी निम्न कारणले 'महानायक'को उपाधि लिन लायक हुन सक्छन् ।
क) एउटा उच्च घरानियाँ परिवारमा जन्मेको, त्यो वेलाको राजदूतको छोरो सुविधा, सम्पन्नता नपाउने त कुरै भएन । अभावले एकछाक भोको पेट बस्दा कति पीडा हुन्छ भन्ने कुरा हमालले चलचित्रको पात्र भएर मात्रै व्यहोरे होलान् हैन भने पाँचतारे होटलमा गएर दिनहुँ खान सक्ने उनको हैसियत त्यो वेला पनि थियो र आज नहुने त कुरै भएन । तर ठीक यसको विपरीत उनले अभिनय गरेका अधिकांश चलचित्रमा उनी निम्नस्तरका जनताको प्रतिनिधि पात्र भएर देखिएका छन् । उनको जीवन जहिले पनि दुःख दरिद्रता र विद्रोही चरित्रमा नै बितेको पाइन्छ । वास्तविक जीवनमा अत्यन्तै शालिन, त्यो समुदायसँग पटक्कै हेलमेल नभएको र एउटा बौद्धिक व्यक्तित्व तिनै दुःखी र सर्वहारा वर्गको प्रतिनिधि र आदर्श पात्र बनेर दुई दशकसम्म रहिरहनु त्यो चानचुने कुरा अवश्य होइन ।
ख) यो दुई दशक लामो अभिनय यात्रामा हमाललाई ज्वरो आएर कसैले आपनो चलचित्रको छायांकन रोक्नु परेन, हमालले चलचित्रकर्मीसँग कहिल्यै छुट्टी मागेनन्, कुनै पनि निर्माता निर्देशकलाई रोजेनन्, उनले नयाँ पुराना सबै चलचित्रकर्मीलाई समान इज्जत दिएर सबैको इच्छा पूरा गरिरहे । यो यात्रामा हमालको कसैसँग रिस राग भएन, कसैसँग झगडा परेन, हमालको कारण अप्ठेरोमा पर्यौँ भनेर कुनै संघसंस्थामा उजुरी परेन । एउटा स्वच्छ छवि बनाएर हमालले नेपाली चलचित्रमा २ दशक लामो यात्रा पूरा गरिसकेका छन् ।
ग) चलचित्रमा प्रवेश गर्ने भन्नेबित्तिकै घरपरिवारबाट विरोधका आवाज एउटा सामान्य परिवारबाट आज त आउँछ भने त्यो वेला हमालको परिवारबाट त झन् नआउने कुरै भएन । एकपटक मेरो चलचित्रमा काम गर्दा उनले मलाई भनेका थिए उनको चलचित्रमा प्रवेश गर्ने निर्णयदेखि उनका पिताजी खुसी थिएनन् । उनी यो क्षेत्रमा लागून् भन्ने चाहना उनको पिताजीलाई पटक्कै स्वीकार्य थिएन तर हमालले पनि आफ्नो निर्णय बदल्ने सोच बनाएनन् । पिताजीको इच्छाको उल्टो उनले चलचित्रमा आफूलाई प्रवेश गराएरै छाडे । यही कारणले गर्दा पिताजीसँग उनको बोलचाल नै बन्द भयो । तर, अपसोच जब राजेश हमालको प्रवेशले हमाल स्वयं र समग्र चलचित्र क्षेत्रले नै नयाँ सम्भावनाको आशा जगायो उतिवेलै हमालको पिताजीको स्वर्गवास भयो, बाबुछोराको बोलचालविनै पिताजीको देहान्त हुन पुग्यो के त्यो त्यागले पनि राजेश हमाललाई साँच्चिकै 'महानायक' बनाएको छैन त ?
निश्चय पनि राजेश हमाल र नीर शाहजस्ता बौद्धिक र दरो पृष्ठभूमि भएका व्यक्तिले यस क्षेत्रलाई निरन्तरता दिनाले पनि यो क्षेत्रप्रतिको आकर्षण दिनानुदिन बढ्दै गएको कुरा चलचित्र विश्लेषक बताउँछन् ।
पल्टने
हाम्रो गाउँघरमा स्वस्थ्य र बलिष्ठ पाखुरा भएका युवा पल्टन जाने कुरा युगौँदेखि चल्दै आएको हो । बेरोजगार छोरो भएको घर अनि पल्टने छोरो भएको घर, यसलाई हेर्ने दृष्टिकोणमा पनि निकै फरक पाइन्छ यस्ता गाउँघरमा । कलिलो उमेरको केटो जब पल्टने भएको समाचार गाउँघरमा आउँछ अनि उसलाई छोरी दिनेको प्रतिस्पर्धा नै सुरु हुन्छ । बाबुआमाले योग्य वधु छानेपछि पल्टनमा भएको छोरो (पल्टने) लाई खबर पुग्छ अनि केही दिनको छुट्टी मिलाएर ऊ विवाहका लागि गाउँ आउँछ । गाउँ आएर बिहे गर्छ त्यसपछि २/४ दिन बसेर त्यो मस्त जवान स्वास्नीलाई छिट्टै र्फकने आश्वासन दिँदै फेरि पल्टन र्फकन्छ । तर, उसले भने जसरी ऊ यति छिट्टै घर भने फर्कदैन ऊ छिट्टै र्फकनलाई घरमा या त ठूलै पर्व हुनुपर्छ या त कुनै ठूलो भवितव्य नै ।
ठीक यही सन्दर्भ राजेश हमाल र समस्त चलचित्रकर्मीमा पनि लागू भएको मलाई भान हुन्छ, किनभने सुटिङमा निश्चित दिनका लागि अनुबन्धित भएर आएका राजेश हमाललाई फेरि अनौपचारिक रूपले भेट्न त्यति नै गाह्रो छ जति पल्टनेकी श्रीमतीले पल्टनेलाई भेट्न गाह्रो छ । तिसौँ दिनसम्म दिन रात एउटा चलचित्रको सुटिङ सेटमा सँगै काम गरेर फर्किएका हमालले फेरि त्यो समूहलाई अनौपचारिक रूपले फोन गरेको अथवा भेटेको कुरा आज ९५ प्रतिशत चलचित्रकर्मी बताउन सक्दैनन् । उनलाई फेरि त्यसरी नै आफूसँग पाउन अर्को चलचित्र नै निर्माण गरेर अनुबन्धित गर्नुको विकल्प छैन कसैसँग । पल्टनेलाई त छिट्टै र्फकन बाध्यता होला, गणपतिले बिदा नदेलान् तर राजेश हमाललाई फेरि भेटघाट गर्नबाट रोक्ने त्यस्तो को छ ? आजसम्म यो रहस्य कसैले बुझ्न सकेको छैन । राजेश हमाललाई पहिलो पटक 'युगदेखि युगसम्म' चलचित्रमा नायक बनाएका निर्माता छविराज ओझालाई त यो २० वर्षमा एकपटक पनि हमालको फोन आएको थाहा छैन भने अन्य चलचित्रकर्मीको गुनासो यहाँ उल्लेख गर्नुको औचित्य नै के हुनसक्छ र ?
यद्यपि हमाल सबैका प्रिय पात्र हुन् । राजेश हमाललाई 'महानायक' बनाउन लाखौँ दर्शक सँगसँगै ती समस्त चलचित्रकर्मीको पनि थोरबहुत योगदान अवश्य छ । अरू वेला नसही कमसेकम वर्षमा एकदिन आफ्नो जन्मदिनको उत्सव पारेर हमालले ती चलचित्रकर्मीलाई निम्तो दिए भने उनीहरू आफ्ना 'महानायक' को सुख, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्न हमालको घरको गेटमा निर्धारित समयभन्दा अघि नै लाइन लाग्ने थिए होलान् भन्ने विश्वास मेरो रहेको छ ।