नेपाली चलचित्र उद्योगमा महिला कलाकारहरु आफूमाथि भएको शोषण वा विभेदको विरोध त गर्न सक्दैनन् आफूमाथि लागेको आरोपको खण्डन पनि आँटले गर्न सक्दैनन् । नेपाली चलचित्र विकासको इतिहासदेखि वर्तमानसम्म आइपुग्दा यस उद्योगमा प्रवेश गर्ने महिला कुनै न कुनै रूपमा विभेद, शोषण र हिंसामा पएको दृष्टान्त धेरै छन् । नेपाली चलचित्रमा महिला कलाकारलाई शोषण भयो भन्ने खबर वा विषय समाचार पनि बन्दै आएको सत्य हाम्रा सामु छर्लङ नै छ । नेपाली चलचित्र उद्योगमा विदेशी चलचित्र उद्योगमा जस्तो महिला कलाकारलाई गोप्य तरिकाले छानिने परम्परा छैन तर पनि महिला कलाकार पर्दासम्म आउने शैली वा प्रविधि थाहा नपाएर शोषित भएको उदाहरण हामी प्रशस्त देख्छौँ ।
नेपाली चलचित्र उद्योगमा लागेर आफ्नो जीवन निर्वाह गर्न सकिएला ? धेरै कलाकारहरु यस उद्योगमा लागेर आफ्नो जीवन धान्न गाह्रो पर्ने बताउँछन् । अझ महिला कलाकार त झनै पिडित छन् । चलचित्रका नायकले त केहि रकम पाउलान् तर नायिका नायक भन्दा पीडित छन् । नायिकाहरुले त कैयौं फिल्म खेले बापतको पैसा नै पाउँदैनन् । पाउनेहरुको पारिश्रमिक पनि नायकहरुको तुलनामा निकै कम छ । हुन त बलिउड हलिउडमा पनि नायिकाको तुलनामा नायकको पारिश्रमिक धेरै हुन्छ तर नेपाली चलचित्र उद्योगमा भने नायिकाहरु धेरै नै मारमा पर्ने गरेका छन् । एक जमानाकी हलिउडकी चर्चित नायिका जुलीयर होड नायकको भन्दा धेरै पारिश्रमिक लिन्थिन् । बलिउडमै पनि नायिका करिना कपुरले मधु भण्डारनको चलचित्र हिरोईनमा अभिनय गर्नको लागि ८ करोड लिएको भन्ने समाचार आयो ।
नेपाली चलचित्रमा पनि नायिका निरुता सिंह र बिपना थापाले एक ताका राम्रै रकम लिएर चलचित्र खेल्थे । भर्खरै नायिका नम्रता श्रेष्ठ, रेखा थापा, केकी अधिकारी र निशा अधिकारीले अहिले पनि राम्रै रकम लिने गरेको बुझिन्छ । तर यि अपबादमा पर्ने नायिका हुन् । तर यी अपबादलाई छोडेर समग्र नेपाली नायिकाहरुको पारिश्रमिक हेर्ने हो भने नायकको तुलनामा एकदमै कम रहेको छ । नसिब आफ्नो, नाइ नभन्नु ल र म तिम्रो भईसकें जस्ता चलचत्रि निर्माण गरिसकेका निर्माता तथा निर्देशक बिकाश आचार्य भन्छन्, 'नेपाली समाज नै पुरुष प्रधान समाज भएकोले यहाँ जति पनि चलचित्र बन्छन् पुरुष पात्रलाइ केन्द्रमा राखेर बन्छन् । नायिकाको भुमिका सहयोगी पात्रको रूपमा मात्र हुन्छ । त्यसैले अभिनयको आधारमा पारिश्रमिक दिंदा नायकको तुलनामा नायिकाको पारिश्रमिक कम हुन्छ ।' नेपाली नायिकाहरु महिला केन्द्रित भुमिका निर्वाह गर्न सक्षम छैनन् त ? किन पुरुष केन्द्रित चलचित्र मात्र बनाईन्छ ? यो सबैको चासोको बिषय बन्नु पर्छ । यस कुरामा नायिकाहरुले पनि आफ्नो सहभागिता कसरी बढाउने भन्ने बारेमा सोच्नु पर्छ ।
नेपाली चलचित्रका नायिकाहरुले नायकको भन्दा कम पारिश्रमिक पाउने र आर्थिक शोषण हुने गरेकाले नायिकाहरु नेपाली चलचित्र उद्योगमा लामो समय सम्म टिक्न सकेका छैनन् । आफ्नो पारिश्रमिक भन्न पनि लजाउँछन् नायिकाहरु । निर्माताहरु सकभर कम पैसा दिन पाए हुन्थ्यो भनेर सोच्ने भएकोले नायिकाहरु पीडित हुने गरेका छन् । नेपाली चलचित्रमा नै अभिनय गरउनु परे निर्माताहरुले भारतीय नायिकालाई भने बढी पैसा दिन पनि तयार हुन्छन् । तर आफ्नै देशका नायिकाहरुको श्रम शोषण गर्छन् । नेपाली चलचित्र त्रिनेत्रमा अभिनय गर्दा भारतीय अभिनेत्री श्वेता तिवारीलाई २० लाख दिएको हल्ला चल्यो भने सोहि चलचित्रका नायक निखिल उप्रेतीलाई ३ लाख मात्र दिईयो । यस किसिमको दास मानसिकताबाट माथि उठ्न सकिएन भने नेपाली चलचित्रले कहिल्यै बिकास गर्दैन । नेपाली राजनीतिका नेताहरु सधैं भारतसंग दास बने भनेर आरोप लगाई रहँदा चलचित्र उद्योग पनि त्यसबाट अछुतो रहन सकेको देखिएको छैन । सधै यसरि नै नायिकाहरुलाई उचित पारीश्रमिक नदिएर बिभेद गरिरहने हो भने एकदिन क्षमता भएका नायिकाहरुको अभाव नपर्ला भन्न सकिंदैन । त्यसैले नायिकाहरुको क्षमता र योग्यता अनुसार पारिश्रमिक निर्धारण गर्न सकियो भने मात्र नेपाली चलचित्र उद्योग व्यवसायिक हुने छ ।
यहाँ पैसा मात्र नभएर अन्य कुराबाट पनि महिला कलाकारहरू शोषित पिडित भएका छन् । चलचित्र क्षेत्रमा महिला माथिको मानसिक, शारीरिक र सामाजिक हिंसाले पनि ठूलै ठाउँ लिएको देखिन्छ । खास गरी महिला पात्रहरूलाई बस्तुको रूपमा मात्र हेरिन्छ । अधिकांश चलचित्रमा हेर्ने हो भने नायिकाहरूलाई 'शो बिजनेश' को रूपमा प्रयोग गर्ने गरेको पाईन्छ । नायकहरू पूरै कपडाले ढाकिएका हुन्छन् तर नायिकाहरूलाई भने जति सक्दो छोटो कपडामा प्रस्तुत गर्न लगाईन्छ । पर्दाभित्र महिलाको जति बढी आँसु झार्न सकिन्छ, जति कम कपडामा देखाउन सकिन्छ त्यति मुनाफा आर्जन गर्न सकिने चलचित्रकर्मीहरू बताउँछन् । नायिकाहरूको शरिर बेच्नु पर्ने तुच्छ सोच भएका निर्माता निर्देशकहरूले नै आज नेपाली चलचित्रको स्तर गिराई रहेका हुन्छ । चलचित्र खेलाइदिने बहानामा शारीरिक शोषण र हिंसाका घटनाहरू भएको उजुरी प्रहरी कार्यालयसम्मै पुग्नुले पनि यो क्षेत्रमा महिलाको अवस्था सजिलै बुझन सकिन्छ । सत्य तितो नै लाग्छ । नायिकाहरू पनि निर्माता निर्देशकसँग कुम जोड्न पाए भने जुन सुकौ हर्कत गर्न पनि तयार देखिन्छन् । त्यसैले गल्ति निर्माता निर्देशक भन्दा पनि बढि महिला पात्रहरूले नै गरिरहेका छन् ।
जबसम्म महिला पात्रहरूको मानसिकतामा नै परिवर्तन आउँदैन तबसम्म नेपाली चलचित्रमा महिला हिंसा र लैङिक बिभेदताले प्रश्रय पाईरहन्छ । महिला अधिकारकर्मी सपना मल्ल प्रधानले भनेकी छिन्, 'असन्तुष्ट शक्ति संरचनामा महिलाहरू रहेकाले पनि आज नेपाली चलचित्रमा महिला हिंसा र लैंगिक बिभेदता मौलाउँदै गएको हो ।' पुरुषको दाँजोमा महिला कमजोर र अशक्त हुन्छन् भन्ने मानसिकताका साथ संरक्षण दिने नाममा समानता अधिकार र अवसर प्रदान नगर्ने प्रवृत्तिले पनि महिला विरुद्ध हिंसा भइरहेको हुन्छ । यसैले महिला विरुद्ध भइरहेका यस्तो भेदभाव र हिंसालाई पनि परास्त गर्न महिला र पुरुषको संयुक्त प्रयासबाट नै सम्भावना व्यापक छ ।