मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

चलचित्रको कथानकमा पुन: संरचनाको खाँचो - विजयरत्न तुलाधर

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र २६, आईतवार

एकपछि अर्को गर्दै लगातार असफलताको भुमरीमा डुब्दै गएपछि नेपाली चलचित्र क्षेत्र आक्रान्तित बनेको थियो  । दुई वर्षको अवधीमा गोर्खापल्टन, फस्टलभ, आफ्नो मान्छे आफ्नै हुन्छ, नाई नभन्नु ल, कस्ले चोर्‍यो मेरो मन, श्रीमान्, अन्दाज जस्ता थोरै मात्र चलचित्र राम्रै चले ति बाहेक अरु अस्सी–नब्बे वटा चलचित्रहरु असफलताको खाल्डो भित्र पुरिए । यसले गर्दा एक प्रकारको भयावह स्थिती नै सिर्जना हुनपुग्यो । यो स्थितीलाई दृष्टिगत गर्दै राज्य (चलचित्र विकास बोर्ड) ले चलचित्र जगतमा संकटकालको घोषणा गर्ने तयारी समेत गरीसकेको थियो । यसैबीच “लुट” चलचित्र प्रर्दशनमा आयो र अप्रत्याशित रुपमा सफल भयो । सफलताका पुराना सबै किर्तिमानहरु तोड्न सफल “लुट” ले नेपाली चलचित्र क्षेत्रमा नयाँ आशाको विजारोपण गरेको छ ।


व्यावसायिक सफलताका लागि अपरिहार्य मानिंदै आएका अनुहारहरुको कुनै पनि उपस्थीति नरहेको “लुट” को सफलताको कारण भनेको यो चलचित्र प्रति बढेको युवावर्गको आर्कषण हो । मल्टिप्लेक्स भनिने ठूल्ठूला हलहरुमा महङ्गो टिकट किनेर विदेशी चलचित्र हेर्दै आएका युवा जमातलाई “लुट” ले सजिलै तान्यो । “लुट” को सफलताले नेपाली चलचित्र प्रति दर्शकको आकर्षणलाई मर्नबाट बचाएको छ भन्दा पनि फरक पर्दैन । बैंक लुट्ने वा लुटको योजना बनाउने कथामा देशी विदेशी थुप्रै चलचित्रहरु आईसकेका छन् । तर “लुट” ले यसलाई काठमाण्डौंको माटो, परिवेश र जीवन सुहाउँदो पात्रहरुको माध्यमबाट जीवन्त बनाउन सफल भयो । यो एउटा उदाहरणीय परिवर्तन हो । “लुट” को कथा वाचनले पुरातन शैलीलाई तोड्ने साहस गर्‍यो । यो नै “लुट”को जीत हो ।


कथावाचनको नयाँ शैली अहिलेको आवश्यकता हो । नयाँ शैलीले मात्र नयाँ दर्शकलाई तान्न सक्छ । अन्यथा स्थिती अझ बिग्रिन सक्छ । नयाँ सोच र शैलीको विकासको लागि अन्तर्राष्ट्रिय ख्याती प्राप्त चलचित्रहरुको बारेमा अध्ययन अति आवश्यक छ । यहाँ त्यस्तो हुन सकिरहेको छैन वा गर्न चाहिरहेका छैनन् । आफुले बनाएका दुई चार वटा चलचित्र व्यावसायिक रुपमा सफल भएपछि त्यो निर्देशक आफ्नो त्यहि शैलीबाट अलगिन खोज्दैनन् । यहाँ यही बिडम्बना छ ।


त्यसैले नेपाली चलचत्रि जगतमा सोच र शैलीको परिवर्तन अपरिहार्य भईसकेको छ । यही कुरालाई दृष्टिगत गर्दै नेपाल चलचित्र निर्देशक समाजले राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरका केही कार्यशालाहरु सम्पन्न गरीसकेको छ । यसै क्रममा हालै मात्र दोलखा जिल्लामा एउटा बृहत अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला सम्पन्न गरियो । मदन घिमिरे, दिपक श्रेष्ठ, दयाराम दाहाल, शोभित बस्नेत, रामराजा दाहाल, रामजी लामिछाने जस्ता नियमित रुपमा चलचित्र बनाउँदै आएका कोही पनि निर्देशक यस्ता कुनै पनि कार्यशालामा सहभागी भएको देखिंएन भने शिव रेग्मी, उज्जव घिमिरे, नरेश पौड्याल जस्ता केही निर्देशकहरु भने विगतका केही कार्यशालामा सहभागी भए पनि यसपालि सहभागी भएनन् । 'केही नाम चलेका निर्देशकहरु सहभागी भएर आफ्नो सोच परिवर्तन र कथा वाचनको नयाँ शैली बारेको अनुभव हासिल गरोस् भन्ने उद्देश्य थियो तर उहाँहरु नआए पनि सुदर्शन थापा जस्ता युवा निर्देशक देखि लिएर युग पाठक, झलक सुबेदी, हरि रोका आदि स्रष्टाहरुको सहभागीताले गर्दा दोलखामा सम्पन्न वर्कशप अति नै सफल साबित भयो', आयोजक संस्थाका अध्यक्ष के.पी. पाठक भन्छन् ।


अन्तर्राष्ट्रिय ख्याती प्राप्त चलचित्र सर्जकहरुलाई स्रोत व्यक्ति बनाइएकोले अन्तर्राष्ट्रिय फिल्म वर्कशपको संज्ञा दिईएको यस्तो कार्यशालामा गत वर्ष भारतका ख्याती प्राप्त व्यक्तित्व गोविन्द निहलानी लगायत के.एन.टी. शाश्त्री र कोरियाका किम डोंग बिन स्रोत व्यक्तिका रुपमा रहेका थिए भने यसपालि भारतका चलचित्रको श्रीबृद्धि अभियानका लागि रहेका प्रेमेन्द्र मजुमदार, फ्रान्समा चलचित्र अध्यापन गराउने ड्रागान मिलिन्कोभिक र कोरियाका विख्यात सिनेमाटोग्राफर युन टेक चोय् स्रोत व्यक्तिका रुपमा रहेका थिए ।

 

नेपाली चलचित्रको कथावाचनमा पुनः संरचनाको उद्देश्य बोकेर आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय चलचित्र कार्यशालाको मुख्य पक्ष भनेको दोलखा जिल्लाका जीवन शैलीलाई अध्ययन गरी त्यही परिवेशमा चलचित्र बनाउने रहेको थियो । यही उद्देश्य अनुरुप सहभागी समुहहरुले विभिन्न सात वटा छोटा चलचित्रहरु निर्माण सम्पन्न गरेको मात्र नभई कार्यशालाको अन्तिम दिन प्रर्दशन पनि गरिएको थियो । वर्कशपका सहजकर्ताका रुपमा रहेका मनोज पण्डितका अनुसार नेपालमा यो यस प्रकारको पहिलो कार्यशाला हो भन्ने देखिन्छ । वर्कशपका सहभागीहरुले बनाएका लघु चलचित्रहरु मध्ये उत्कृष्ट ठहरिएको एउटा चलचित्रलाई नगद पुरस्कार समेत प्रदान गरिएको यस वर्कशपमा निर्देशक सुदर्शन थापालगायत साहित्यकारहरु युग पाठक, झलक सुबेदी अनि पत्रकारहरु सन्तोष रिमाल र सुशील पौडेल आदि सम्मिलित टोलिले सो पुरस्कार जित्न सफल भएको थियो । 


नेपालमा चलचित्र अध्ययन र अध्यापनको परम्परा बस्न सकेको छैन । यसलाई एकेडेमिक क्वालिफिकेशनको रुपमा विकास गर्न सकिएको छैन । आधिकारीक रुपमा हालसम्म “ओस्कार कलेज अफ फिल्म स्टडिज” मात्रै त्यस्तो एउटा औपचारीक अध्ययनशाला हो भने गोपीकृष्ण मुभिजले पनि एउटा सिनेमा अध्ययनशाला खोल्ने घोषणा गरेको छ । यसरी चलचित्र बारेको औपचारीक शिक्षा हासिल गर्ने थलोको अभाव रहेको बेला यस्ता वर्कशपले ज्ञान र अनुभव बटुल्न ठूलो सहयोग पुर्‍याउने गर्दछ । वर्कशपका लागि स्थानिय संयोजकका रुपमा रहेका वरिष्ठ अभिनेता मदनदास श्रेष्ठ पनि यो वर्कशपले आफुलाई समेत नयाँ उर्जा प्रदान गरको अनुभव सुनाउँछन् ।


   
प्रेम कथामा चलचित्र बनाउँदै आएका युवा निर्देशक सुदर्शन थापा पनि यो वर्कशपमा सहभागी भएपछि आफुले कथावाचन शैलीबारे धेरै नयाँ कुरा थाहा पाएको अनुभव सुनाउँछन् भने विगतका वर्कशपमा सहभागी भएका लेखक तथा निर्देशक रविराज अर्यालका अनुसार, “त्यस्ता वर्कशपमा बटुलिने अनुभव अनुसार हामी चलचित्र बनाउन सक्दैनौं । बनाउनका लागि निर्माता पाईंदैन । निर्माता पाए पनि बजार पाउँदैनौं ।” यस कारणले उनी यसपालिको वर्कशपमा सहभागी नभएको बताउँछन् । विचारहरु आ–आफ्ना हुनसक्छन् । त्यस अनुसार चल्ने स्वतन्त्रता सबैलाई छ तर नेपाली चलचित्रको कथावाचन शैली बदलिनुपर्छ भन्ने कुरा भने अहिलेको ज्वलन्त समस्या हो ।


“लुट” ले देखाएको बाटो वा निर्देशक समाजको अगाडि बढाएको पाटो नै सम्पूर्ण कुरा होइन । यो भन्दा पृथक वा नवीन सोच छ भने त्यसलाई प्रयोगमा ल्याउनु जरुरी छ । मेरो गोरुको बाह्रै टक्का भन्ने कुरामा अडिग रह्यौं भने नेपाली चलचित्रको स्थिती अझ बिग्रिन सक्छ भन्ने कुरामा दुई मत गर्ने ठाउँ छैन ।

 

[email protected]