“रावण” वि.सं. २०६८ भित्र प्रदर्शित अन्तिम फिल्म हो । वर्षको अन्तिम हप्ता (चैत्र २७) प्रदर्शित “रावण” समेत गरी ६९ फिल्म एकै वर्ष भित्र प्रदर्शनमा आउनु भनेको आफैमा एउटा कीर्तिमान हो । प्रदर्शित फिल्म मध्ये ६० भन्दा बढी फिल्म व्यवसायिक रूपमा नराम्ररी पछारीनु पनि अर्को कीर्तिमान साबित भई दिएको छ । “लुट” ले लुट मच्चाउनु अघिसम्म यो वर्ष “अन्दाज” मात्रै एउटा त्यस्तो फिल्मको रुपमा रहेको थियो जुन फिल्मले आफ्नो लागत उठाउन सफल भएको मानिन्छ ।
विराज भट्ट र निखिल उप्रेती जस्ता अर्ध विस्थापित नायकहरुका कुनै पनि फिल्मले दर्शकको मन जित्न नसके पछि यी नायकहरु अहिले पूर्ण रुपमा विस्थापित हुन पुगेका छन् । यिनीहरु कै लहरमा उभिएका अर्का नायक राजेश हमाल हुन् । पारिश्रमिक हसुर्न पाइयो भन्दैमा शिर न पुच्छरका भुमिकाहरुमा अभिनय गर्ने गरेका यी अभिनेताका कारणले गर्दा आफ्नो भुमिका र फिल्मको पटकथाबारे जानकारी लिन चाहने कलाकार एकपटक नराम्ररी बदनाम हुन पुगेका थिए । अहिले उनै नायकको लोकप्रियताको चूली चढ्दैछ । यसरी आफ्नो भुमिका, साथी कलाकार र फिल्मको नालीबेली बुझेर मात्र काम गर्न खोज्ने नायक आर्यन सिग्देल हुन् । आर्यनलाई एक पटक घमण्डी नायकको दर्जा दिइएको थियो । चकलेटी नायकका रुपमा आर्यन सिग्देलले छाप छोडे पनि कलायात्रामा लामो रेसका घोडाका रुपमा सौगात मल्ल र दयाहाङ राई अगाडि पर्ने सम्भावना प्रबल हुँदैछ । “लुट” को अप्रत्याशित सफलताले उनीहरुलाई स्थापित गरी दिएको मात्र नभई उनीहरुको बजार भाउ पनि माथि पुर्याई दिएको छ ।
लुट नेपाली फिल्म जगतको अहिले सम्म कै सर्वाधिक सफल फिल्म भईदिएको छ । विगत दुई वर्ष भित्रको फिल्म बजारको विश्लेषण गर्ने हो भने करीब डेढ सय वटा फिल्म प्रदर्शित भईसकेका छन् भने ती मध्ये दस/पन्ध वटाले मात्रै आफ्नो लगानी जोगाउन सफल भएको छ । “लुट” ले धराशायी हुन लागेको फिल्म उद्योगलाई जुर्मुराउन सक्ने बनाई दियो । लुट पछि नै “मिस यू”, “आई एम सरी”, “काठमाण्डु” ले आंशिक सफलता हासिल गर्न सफल भयो । भुवन के.सी.को अति नै प्रचार गरिएको “साथी म तिम्रो” ले भने जुर्मराउँदै गरेको बजारको लाभ लिन सकेन । अहिलेसम्मको लेखाजोखा गर्दा “चपली हाइट” पछि कुनै पनि फिल्मले उलेख्य व्यापार गर्न सकेको छैन । तर “चपली हाइट” पनि चर्चा गरिए अनुरुपको साबित हुन सकेन ।
थुप्रै संख्यामा नवनायिकाहरु भित्रिए पछि स्थापित मानिएका नायिकाहरु विस्थापित हुँदै गए । तर पनि झरना थापा अहिले पनि सर्वाधिक व्यस्त नायिकाको रुपमा अग्रपंक्ति मै रहन सफल भईन् । अहिले पनि संख्यात्मक रुपमा उनकै हातमा बढी फिल्म छन् भने रेखा थापा गुणात्मक रुपमा अगाडि बढ्ने सोच सहित अगाडि बढी रहेकी छिन् । नायिकाहरुको भीडमा निशा अधिकारी, केकी अधिकारी, नीता ढुंगाना, शुष्मा कार्की, ऋचा शर्मा, सुमीना घिमिरे, नम्रता श्रेष्ठका प्रदर्शित फिल्महरुले आशातित छाप भने छोड्न सकेको छैन । सार्थक कलात्मक फिल्मको दर्जा पाएको “मसान” केकी अधिकारीको लागि माइल स्टोन साबित हुन सक्थ्यो । उनले यसमा आफ्नो अभिनय प्रतिभाको राम्रो छाप पनि छोडिन् । मसानकी अर्की नायिका नीता ढुंगाना पनि प्रसंशित त भईन् तर फिल्मले अपेक्षित सफलता हासिल गर्न नसकेपछि उनीहरु ओझेलमा परे ।
यो वर्ष आचार्य, मसान, पल जस्ता पृथक धारका फिल्महरुले दर्शकको मन जित्न सकेन । यी मध्ये “आचार्य” ले निकै राम्रो प्रशंसा कमाउन सफल भयो तर व्यापारीक सफलतामा पछि पर्यो । कुनै एउटा फिल्म सफल भएपछि त्यहि धारमा फिल्महरु बन्ने चलन पुरानै हो । अहिले पनि “चपली हाइट” को सफलता पछि छाडा बोलि र यौनजन्य दृश्यहरुको बाहुल्यता भएका फिल्महरु बनाउने होडबाजी शुरु भईसकेको छ । यस्ता फिल्महरुमा निर्देशक के.पि.पाठकको “रेडमार्केट”, सुरेश दर्पण पोखरेलको “कल गर्ल” लगायत मेमोरी कार्ड, ए.टि.एम पर्छन् । यी फिल्महरुका साथै भारतमा लोकप्रिय भएको हिन्दी फिल्म “डर्टि पिक्चर” बाट प्रभावित भएर नेपालमा पनि फिल्म जगतकी नायिकाको जीवन र चलचित्र संसारको पीडामा आधारित फिल्महरु बनाउने घोषणा भईरहेको छ । नायिका प्रियङ्का कार्कीले 'हिरोनी' बनाउने घोषणा गरिन् । यस्तै गरी नवराज आचार्यले पनि आफ्नो पहिलो फिल्मका रुपमा “कलिउड” अनि निर्माता एवं अभिनेता रोज राणाले “हिरोइन” बनाउँदै छन् । उदय सुब्बाको रत्नपार्क , कृष्ण चापागांइको ब्वाइफ्रेण्ड , सबिर श्रेष्ठको रेडवाइन जस्ता थुप्रै फिल्महरु पनि यहि धारमा बन्ने फिल्महरु हुन् । यहि परम्परालाई पछ्याउँदै “लुट” पछि अपराध कथा पनि फिल्म बनाउनेहरुको प्रिय विषय बन्न थालेको छ ।
वर्ष २०६८ लाई विवादै विवादले भरिएको वर्ष भन्नु उपयुक्त होला । वर्षको अन्त्य तिर विश्वज्योति हलमा पालो मिचेर “माई लाइफ” प्रदर्शित गरिंदा हल नै बन्द गर्नुपर्ने अवस्था आयो । एकातिर फिल्म चलाउन विद्यमान पालो प्रथा खारेज नै हुनु पर्छ भन्ने आवाज उठिरहेको छ भने अर्कोतिर पालोमा नरहेको फिल्म चलाउँदा विश्वज्योति हल विवादमा अल्झिनु पर्यो । यो वर्ष चलचित्र विकास बोर्डले सार्वजनिक गरेका कतिपय योजनाहरु कार्यान्वयन हुन नसक्दा बोर्ड आलोचनाको शिकार बन्न पुग्यो । त्यसमाथि पनि बोर्डले सार्वजनिक दश बूँदे कार्ययोजनामा समाहित फिल्म व्यवसायको सूचना प्रदान गर्न बक्स अफिस स्थापना गर्ने, बिहानी शो खारेज गर्ने, बोर्ड मै सेन्सर गर्ने आदि लगायतका बूँदाको विरोधमा चलचित्र क्षेत्रको जेठो संगठन नेपाल चलचित्र संघ आन्दोलनमा उत्रिने शंखघोष गरे । अहिले संघ फिल्मको सेन्सर प्रणाली नै खारेज गर्नुपर्ने माग सहित अघि बढी रहेको छ ।
बोर्डले स्थापना गर्ने भनिएको फिल्म स्टुडियो पनि कहिले पोखराको धिताल गाउँ त कहिले दोलखाको लामी डाँडामा राख्ने भन्ने दुई बेग्लाबेग्लै उद्घोषको कारण मूर्त रुप लिन सकेको छैन । यो वर्षको सबैभन्दा चर्चित स्क्याण्डल भनेको नायिका निशा अधिकारीले फिल्मीखबरका प्रतिनिधी अनुप भट्टराईको क्यामेरा खोसेकोको घटना र “चपली हाइट” फिल्मको प्रचार सामग्रीका लागि खिचिएका बिनीता बरालका टपलेस तस्वीरहरु सार्वजनिक भएपछि चलेको चर्चालाई लिन सकिन्छ । भुवन केसी र शर्मिला डंगोलको सम्बन्धको चर्चा र राजेश हमाल र बालकुमारीको काण्ड पनि यो बर्षको चर्चित घटना हुन् । यस्तै गरी रेखा थापाले आफ्ना श्रीमान् निर्माता छविराज ओझासित सम्बन्ध विच्छेद गर्ने भनि गरेको उद्घोष पनि ठूलै स्क्याण्डल साबित हुन पुग्यो । मनिषा कोइरालाले आफ्नो श्रीमान सम्राट दाहालसित सम्बन्ध बिच्छेद गर्ने चर्चा पनि वर्ष भरि नै चलिरह्यो । बिनीता बरालले “चपली हाइट” का तस्वीरहरु माथि आपत्ति जनाए जस्तै नायिका शशी खड्काले पनि अहिले “चन्द्रावती” फिल्ममा प्रयोग गरिएको यौनजन्य आफ्नो दृश्य प्रति आपत्ति उठाइरहेकी छिन् । बिनीता बराल र शशी खड्काका यी आपत्तिहरु फिल्मको चर्चा तताउने प्रायोजित हल्लाहरु हुन् भन्नेहरु धेरै छन् ।
स्वाद फेरिनु राम्रो हो । परिवर्तन हुनु जरुरी छ । तर यहि निहुँ पारेर सबैले एउटै खालका फिल्म बनाउन थालेपछि त्यसको परिणाम के हुने हो ? त्यसतर्फ ध्यान गएको देखिंदैन । एक पटक “दर्पण छाँया” ले अप्रत्याशित सफलता हासिल गरेपछि ट्रेण्ड चेन्ज भयो भन्दै धेरैले त्यस्तै खालका फिल्म बनाए । तर ती फिल्महरु अर्को दर्पण छाँया बन्न सकेन । अहिले पनि सबै लुट र चपली हाईटलाई पछ्याउने सुरमा छन् । यसको परिणाम पनि छिट्टै नै हेर्न पाईने नै छ ।
यो वर्ष नेपाली फिल्मका केही मूर्धन्य हस्तीहरु यो संसार छोडेर गए । ती मध्ये निर्देशक दीपक रायमाझी र अभिनेत्री सुशीला रायमाझीको निधनमा उनीहरुको परिवारले फिल्मकर्मीहरुमाथि गरेको व्यवहारलाई धेरैले रहस्यमय माने । उनीहरुको निधनको खबर फैलिनु अगावै अन्तिम संस्कार सम्पन्न गरीनाले यस्तो प्रश्न चिन्ह खडा भएको थियो । यसरी विभिन्न आरोह र अवरोह गर्दै वि.सं.०६८ अस्ताएको छ भने वि.सं.०६९ को उदयमान सूर्यले नेपाली फिल्म जगतलाई प्रकाशमय बनाउने आशाका साथ नयाँ वर्षको आगमन भईसकेकोको छ ।