पोखरालाई फिल्म सिटी पनि भन्ने गरिन्छ । प्राय नेपाली फिल्महरुको छायाँकन हुनुका साथै नेपाली फिल्म प्रदर्शनका लागी विग स्टेशन भएकोले पोखरालाई नेपाल सरकार चलचित्र विकास बोर्डले फिल्म सिटी घोषणा समेत गरेको छ । फिल्म सिटी घोषणा गरे पनि पोखरामा प्राकृतिक सुन्दरता बाहेक फिल्म सिटी बन्नका लागी आवश्यक पुर्वाधार विकास हुन सकेको छैन ।
विकास बोर्डले फिल्म सिटी घोषणा गरेपछि पुर्वाधार विकासको पहिलो चरण अर्न्तगत कास्कीको धितालमा स्थलगत अध्ययन गरेका थियो । बोर्डका अध्यक्ष गणेश भण्डारी सहितको टोलीले कास्कीको धिताल गाउँमा अध्ययन गरेर स्टुडियो निर्माण गर्न सकिने प्रतिवेदन निकाल्दै २ अर्ब वजेट विनियोजनका लागी सरकार समक्ष माग गर्ने बताएपछि स्थानियबासीले स्टुडियोका लागी आवश्यक जग्गा समेत उपलब्ध गराएका थिए । फिल्म सिटी बन्ने भएपछि मख्ख बनेका यहाँका फिल्मकर्मी र फिल्मप्रेमीहरु यतिबेला भने निराश भएका छन् । उनीहरुले पोखरालाई नाम मात्रको फिल्म सिटी बनाईएको प्रति गुनासो गर्न थालेका छन् ।
पोखराका फिल्म निर्माता तथा निर्देशक माओत्से गुरुङ फिल्म सिटीको बारेमा भन्छन्–‘सबै पुर्वाधारको जोहो गर्नुपर्ने हुन्छ अहिल्यै त यो जिरो लेभलमा मात्र चलेको कुरा हो ।’ स्टुडियो निर्माण पश्चात पनि बिजुलीको निरन्तर उपलब्धता, खानेबस्ने व्यवस्था, छायाँकनका लागी आवश्यक सामाग्रीको सहज उपलब्धता सबैभन्दा पहिला हुनै पर्ने पुर्वाधारहरु भएको उनले बताए । निर्देशक नेत्र गुरुङले पोखराका फिल्महरु आपसमा अव्यवसायिक प्रतिस्पर्धामा जुट्दा चाहिँदो दबाब नपुगेर विकास बोर्डले फिल्म सिटीको विषयलाई बेवास्ता गरेको हुन सक्ने अनुमान लगाउँछन् ।
पोखरामा एक वर्षमा करिब २५ भन्दा धेरै ठुला फिल्म, १५ भन्दा बढि भिडियो फिल्म, १२ भन्दा बढि गुरुङ फिल्म र सयौँ म्युजिक भिडियो सुटिङ हुने गरेका छन् । बसुन्धारा पार्क, रातामाटे डाँडा, पर्वतीय संग्रहालय, विश्व शान्ति स्तुपा, सराङकोट, फेवाताल लगाएतका स्थानहरु पोखराको अधिकांश फिल्म शुटिङ हुने स्थानहरु हुन् । यहाँको प्राकृतिक सुन्दरताले नै फिल्मकर्मीहरुलाई छायाँकनका लागी आकर्षण गरिरहेको छ । छायाँकनका लागी सँधै पोखरा आउनुपर्ने भएपछि सबै काम पोखराबाटै हुने गरि फिल्म सिटीको अवधारणा फिल्महरुले धेरै अगाडी देखि राख्दै आएका थिए । त्यसैअनुरुप विकास बोर्डले पोखरालाई फिल्म सिटी घोषणा गरेर धितालमा अर्न्तराष्ट्रिय स्तरको फिल्म स्टुडियो निर्माण गर्ने वचन दिएपनि त्यसलाई कार्यान्वयन गर्न सकेको छैन ।
‘सबै कुरा अर्काको मुख ताकेर मात्रै हुँदैन पोखरालाई फिल्म सिटी नै बनाउने हो भने यहाँकै फिल्मकर्मीहरु लाग्नु पर्ने देखिन्छ’, पोखरेली फिल्म निर्देशक जीवन रसाईलीले भने–‘आपसमा नमिलेका फिल्मकर्मीहरुबाट यस्तो काम होला जस्तो मलाई लाग्दैन ।’ यद्यपी संगठनात्मक रुपमा यहाँका फिल्मकर्मीहरुले विकास बोर्डलाई दबाब दिन सके फिल्म सिटी कार्यान्वयनका लागी वजेट ल्याउन सकिने रसाईलीको धारणा छ ।
पोखरामा सिनेप्लाजा संचालन गर्दै आएका फिल्मकर्मी उत्तम द्वाले विकास बोर्डको निर्णयलाई आफुले पहिल्यै देखि नपत्याएको बताए । ‘सबै कुरा केन्द्रिकृत छ’, द्वाले भने–‘फिल्म नगरीकै रुपमा संचालित हुन कि त सबै उद्योग नै यतै सार्नुपर्छ होईन भने पोखरा कहिल्यै पनि फिल्म नगरी हुन सक्दैन ।’ लेखनाथको बुढिबजारमा ईन्डोर सुटिङको लागी ‘वाराहि स्टुडियो’ संचालन गरेपनि आफुलाई त्यसबाट घाटा भएको द्वाले दुखेसो पोखे । फिल्म सिटीका लागी बोर्डले दीर्घकालिन योजना सहित काम अगाडी बढाउन सक्नुपर्ने उनको विचार छ ।
हिमाल, तालतलैया, खोला, छहरा, वनजंगल र हरियाली पोखराका आकर्षण हुन् । त्यसैको आधारमा नै पोखरालाई फिल्मकर्मीहरुले प्राकृतिक स्टुडियो भएको बताउँदै आएका छन् । यद्यपी पोखरामा एउटा ईन्डोर स्टुडियोको आवश्यकता छ । त्यसका लागी नेपाल सरकार चलचित्र विकास बोर्डले सुविधा सम्पन्न स्टुडियो र एउटा पावरफुल जेनेरेटर राखिदिनु पर्ने आवश्यकता देखिन्छ । दिनभरी आउटडोर सुटिङ र रातमा ईन्डोर सुटिङ गर्न फिल्म निर्माण पक्षलाई सजिलो अनि छिटो पनि हुने अनि त्यो संगै सरकारले स्टुडियोबाट भाडा पाउने भएकोले दुवै पक्षलाई फाईदा हुन सक्छ । तर विकास बोर्डले यी सबै कुरा जानेर पनि पोखरालाई नाम मात्रको फिल्म सिटी बनाउन लागि परेको छ ।
माओबादीको तर्फबाट बोर्डको अध्यक्ष पदमा आएका गणेश भण्डारीले शुरुवात कालिन समयमा केहि आशा देखाए पनि उनले प्राय सबै गफैमात्र हानेका छन् । पोखराको धितालमा फिल्म स्टुडियो निर्माण गर्ने आशा देखाएका भण्डारीले दोलखामा पुगेर पनि त्यहाँका स्थानियबासी तथा फिल्मकर्मीहरुसंग यस्तै सपना बाँडेका छन् । यद्यपी दोलखामा पनि पोखराको जस्तै स्थिती दोहोरिने कुरामा कुनै दुईमत छैन । हिजो दोलखा पुगे भोली रोल्पा पुगेर पनि फिल्म सिटी घोषणा नगर्लान भन्न सकिंदैन । बिना योजना फिल्म सिटी घोषणा गर्दै हिंड्दा त्यसको प्रत्यक्ष असर स्थानिय क्षेत्रमा बढि पर्दछ । त्यसैले फिल्म सिटी घोषणा गर्नु पूर्व एक पटक राम्रोसँग सोचविचार गरे राम्रो हुनेछ । अन्यथा घोषणा गर्ने प्रतिको अविश्वास पूर्ण रूपमा कम हुनेमा दुईमत छैन ।