मिति : २०८१ मंसिर ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

वर्तमान नेपाली चलचित्रको अवस्था, भविष्य र चलचित्रकर्मीको दायित्व : लक्ष्मीनाथ शर्मा

फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ २३, मंगलवार

नेपालमा आमसंचार, मनोरञ्जन र चेतना अभिवृद्धिको एउटा सबल र प्रभावकारी माध्यमको रुपमा चलचित्र माध्यमले निकै ठूलो लोकप्रियता कमाइसकेको कुरा निर्विवाद छ । नेपाली समाजमा प्राचीन कालदेखिनै प्रगाढ रुपमा जरा गाडेर बसेका अन्धविश्वास, कुरीति एवम् विविध विकृतिहरुलाई उदाङ्गो पारेर वैज्ञानिक तथा अग्रगामी विकासका निम्ति जनमानसमा एउटा प्रमुख प्रेरक माध्यमका रुपमा आफ्नो जन्मकाल देखिनै नेपाली चलचित्रहरुले कुनै न कुनै रुपमा भूमिका खेल्दै आएको कुरा पनि यहाँ उल्लेख नगरी हुँदैन ।

 

विश्वमा सर्वप्रथम सन् १८९५ मा चलचित्र जस्तो अत्यन्त लोकप्रिय माध्यम चलचित्र निर्माण कार्यको थालनी भएपछि त्यसको तीन दशक पनि बित्दा नबित्दै विकसित एवम् विकासशील देशहरुमा यस विधाले प्रशस्त विकसित हुने अवसर पायो । कलात्मक, शैलीगत, व्याकरणीय एवम् सैद्धान्तिक पक्षमा द्रुत विकास भई विश्व दर्शकहरु समक्ष यो विधा मनोरञ्जनको एउटा अत्यन्त लोकप्रिय माध्यम, व्यापार व्यवसायको एउटा अचूक साधन, प्राज्ञिक अध्ययनको एउटा गम्भीर तथा गहन बिषय; जनचेतना, शिक्षा तथा विकास – निर्माण अनि घटना–दुर्घटना, युद्ध र शान्ति, उत्सव–समारोह, भूगोल, इतिहास, अर्थ र वर्तमान जस्ता यावत जानकारी सम्प्रेषण गर्ने क्षमता बोकेको एक महत्वपूर्ण माध्यम बनी चलचित्र दिनदिनै अघि बढ्दै गयो । आजको सन्दर्भमा आफ्नो रोचक विविधता तथा जनपयोगिताको कारणले गर्दा चलचित्र माध्यम मानव जीवनको एक अभिन्न अंग भइसकेको छ ।


भारतको कलकत्तामा बि.स. २००७ सालमा स्व. डि.बी. परियारको निर्देशनमा नेपाली भाषाको कथानक चलचित्र ‘सत्य हरिश्चन्द्र’ को निर्माण भएपछि नेपाली चलचित्र निर्माण कार्यको सूत्रपात भएको हो । त्यस चलचित्रद्धारा सत्यवादी राजा हरिश्चन्द्रको पौराणिक एवम् धार्मिक बिषयमा कथा वाचन गरिएको थियो । चलचित्र ‘सत्य हरिश्चन्द्र’ को निर्माण भएको १५ वर्षपछि अर्थात वि.स.२०२२ सालमा मात्रै स्व. हीरासिंह खत्रीको निर्देशनमा नेपालमा पहिलो कथानक चलचित्र ‘आमा’ निर्माण भएको थियो जसलाई तत्कालीन सरकारको लगानीमा प्रस्तुत गरिएको थियो । त्यसको ठीक एक वर्षपछि अर्थात २०२३ साल पुष १ गते निजी नेपाली लगानीमा व्यावसायिक स्वरुप दिएर बी.एस. थापाको निर्देशनमा निर्माण भएको चलचित्र  ‘माइतीघर’ प्रर्दशन गरिएको थियो । त्यसै गरी सरकारी लगानीमै स्व. हीरा सिंह खत्रीकै निर्देशनमा ‘हिजो आज भोलि’(२०२४) तथा ‘परिवर्तन’(२०२७) नेपाली दर्शक सामु प्रस्तुत भएका थिए । त्यस बेलाको कुरा गर्दा चलचत्रि निर्माण गर्ने उपकरण, शुटिङ स्टुडियो, रेकर्डिङ स्टुडियो, प्राविधिक आदि धेरै कुराको अभाव थियो ।

 

इन्डोर शुटिङ गर्न तथा पोस्ट् प्रोडक्शन कार्यका निम्ति समेत भारतै कलकत्ता र बम्बई जानु पर्ने वाध्यता थियो भने उपरोक्त नेपाली चलचित्रहरुका निम्ति भारतीय प्राविधिक एवम् कामदारहरुको प्रयोग गरिएको थियो । संक्षेपमा भन्नु पर्दा उक्त चलचित्रहरु निर्माण गर्नु पछाडी जुनसुकै उद्देश्य र तिनको स्वरुप जे जस्तो भए पनि प्रारम्भिक कालमा चलचित्र जस्तो कलात्मक र उपयोगी माध्यमलाई मुलुकभित्र भित्र्याएर यस माध्यमको रोचकता एवम् लोकप्रियतालाई नेपाली जनमानसमा चलचित्र माध्यमको उपयोगिता र भविष्यमा निर्माण गर्न सकिने विविध नेपाली चलचित्रको गोरेटो खुलाएको कुरालाई ऐतिहासिक दृष्टिले निकै महत्वपूर्ण मान्न सकिन्छ । त्यस बेला सबै दर्शकले अनुभूत गरेको तथ्य के हो भने हामी हाम्रै भाषामा पनि चलचित्र बनाउन सक्ने रहेछौं ।

 

फलस्वरुप, दोस्रो दशकको अन्त्यतिर अर्थात बि.स. २०२८ सालमा चलचित्र निर्माण कार्यलाई संस्थागत स्वरुप दिई तत्कालीन चलचित्र संस्थान गठन भएपछि नेपाली चलचित्रले एउटा बलियो बाटो समात्यो । उपकरण, रेकर्डिङ थिएटर, सम्पादनकक्ष एवम् थोरै संख्यामा भए पनि नेपाली चलचित्र प्राविधिकहरुको व्यवस्था हुँदै गई चौथो दशक शुरु हुना साथै निजी निर्माताहरु जुर्मुराएर यस माध्यममा सहभागी हुने थाले । यस उपक्रममा विविध विषयका प्रशस्त नेपाली चलचित्रहरु बनिन थाले । राम्रा कलाकार तथा प्राविधिकहरुको संख्या पनि बढ्दै गयो । पाँचौं दशक शुरु हुँदा नेपालमै फिल्म प्रशोधनशाला खुलेपछि पोस्ट् प्रोडक्शन कार्य पनि गर्न सकिने सुविधा प्राप्त भई लचित्र निर्माता एवम् निर्माण संख्यामा पनि उल्लेख्य अभिवृद्धि भयो । फलस्वरुप थुप्रै उपयोगी एवम् सुन्दर चलचित्रहरुको पनि निर्माण हुन गयो । तथापि चलचित्र निर्माणमा केही विकृतिहरु देखा परे । उदाहरणका लागि छिमेकी मुलुकका चलचित्रबाट कथा, र पटकथा नै उतार्ने प्रवृतिलाई औंल्याउन सकिन्छ । चलचित्रको गहन, गम्भीर , कलात्मक र उपयोगितापूर्ण सिर्जनात्मक प्रस्तुतिलाई एकातिर पन्छाएर केवल मनोरञ्जन गराई आर्थिक आर्जन गर्ने हेतुले मात्रै पनि अनुपयोगी चलचित्रहरु बनेको कुरालाई समेत यहाँ इंगित गर्न सकिन्छ ।


एउटा ध्रुवसत्य कुरा के हो भने कलात्मक सिर्जनाका माध्यमहरु प्रशस्त छन् तर तिनमध्ये चलचत्रि माध्यम चाहिं निर्माणका दृष्टिले सबै भन्दा महँगो र खर्चिलो व्यवसाय हो । लगानी धेरै गर्नु पर्ने हुन्छ । त्यसैले चलचित्र निर्माण गर्दा निर्माताको लगानी उठाउने र थोरै भए पनि नाफा हुनु पर्ने महत्वपूर्ण प्रावधानलाई सबैले ध्यान दिनै पर्ने हुन्छ । नेपाली पृष्ठभूमिमा कसैले पनि के सोच्नु हुँदैन भने निर्माताको पैसा बालुवाबाट  फटाफट झिकेको हो अथवा रुखमा पैसा फलेको हो । त्यसैले लगानी सुरक्षित हुनु पर्ने कुरालाई प्राथमिक रुपमा महत्व दिनै पर्छ  । सामाजिक तथा राष्ट्रिय दायित्व एवम् उपायोगीतामूलक तत्वहरुको संरचना बारे गम्भीर अध्ययन पश्चात पटकथा तयार गर्नु अर्को महत्वपूर्ण आवश्यकता हो । उद्देश्यरहित चलचित्र निर्माण गर्नुको कुनै तात्पर्य रहँदैन । मान्छेहरू ठान्दछन् राष्ट्रिय कुरा अथवा कलात्मक स्वरुपमा चलचित्र निर्माण गरेमा लगानी उठ्दैन । तर हामीले के विचार पु¥याउनु पर्ने हुन्छ भने कुनै पनि कथालाई मौलिकता, शिष्टता, रोचकता र गम्भीरताका फूलहरुले सिंगार्न सक्यो भने जस्तो सुकै बिषयको प्रस्तुति पनि अत्यन्त व्यावसायिक बन्न सक्दछ । कलात्मकता भनेको अशिष्ट, असामाजिक, विकृतिपूर्ण स्वरुपमा यौनको अपरिष्कृत र अपरिभार्जित प्रस्तुति होइन ।


नेपाली चलचित्रहरु बारे शुरुदेखिनै सर्सर्ती दृष्टि दिने हो भने केही उपयोगी र उपयुक्त व्यावसायिक चलचित्रहरु बनेका देखिन्छन् । थोरै उदाहरण दिनका निम्ति ‘परालको आगो’,‘सिंदूर’,‘लाहुरे’,‘दक्षिणा’,‘बलिदान’,‘वासुदेव’, ‘प्रेमपिण्ड’, ‘भानुभक्त’, ‘तृष्णा’, ‘शान्तिदीप’, ‘छोरीबुहारी’, ‘सन्तान’,‘झुमा’, ‘नुमाफुङ’, ‘रगत’,‘अल्पविराम’, ‘मुकुण्डो’,‘सीमारेखा’, ‘जनयुद्ध’, ‘बन्दकी’, ‘सुख दुःख’, ‘आफ्नो मान्छे ’, ‘मुग्लान’, ‘मुनामदन’, ‘दासढुंगा’,‘बसाई’ आदीलाई प्रस्तुत गर्न सकिन्छ ।


हिजो आजको नेपाली चलचित्र उद्योगको कुरा गर्दा केही विश्लेषकहरु हाल केही वर्ष यतादेखि नेपाली चलचित्रहरुले आफ्नो स्वरुपमा निकै ठूलो परिवर्तन ल्याउन लागेका छन् भनी आफ्नो विश्लेषण प्रस्तुत गर्दछन् । उनीहरुको तर्क के छ भने हाल नयाँ र नौला विषय वस्तुहरु प्रस्तुत हुन थालेका छन् र तिनलाई आधुनिक रुपमा विकसित उपकरण एवम् प्रविधि मार्फत पेश गर्न थालिएको छ । परिवर्तित समय अनुसार नै भोलिका पिंढीलाई समेत प्रभाव पार्ने र भर्खर कलेज प्रवेश गर्न लागेका युवावर्गले समेत रुचाउने किसिमका चलचित्रहरु निर्माण हुँदै आइरहेका छन् भन्ने उनीहरुको भनाई छ । वास्तवमा पहिलेकै जस्तो भारत, अमेरिका, कोरिया अथवा कुनै पनि विदेशी मुलुकका चलचित्रहरुको ठाडो नक्कल र सिको गर्नुको साटो निर्देशकको मौलिक चिन्तनलाई पर्दामा प्रकट गर्न शुरु गर्नु औधी स्वागतयोग्य कुरा चाहिं हो । साधारणतया विशेष उद्देश्यका निम्ति निर्मित चलचित्र बाहेक चलचित्रहरु सबै वर्गका निम्ति उपयोगी हुने गरी निर्माण गर्नु झन् राम्रो हो । त्यसका साथै प्रविधि र उपकरण नयाँ हुँदा सिर्जनालाई सिंगार्न सकिन्छ तर कल्पना, विचार तथा नयाँ कुरा चाहिं मानव मस्तिष्कबाटै अर्थात निर्देशककै चिन्तन र अध्यययनबाट प्रस्फुटन हुने हो ।


अब हामीले चिन्तन गर्नु पर्ने कुरा के हो भने अचेल निर्माण भइरहेका चलचित्रहरुमा सामाजिक एवम् राष्ट्रिय दृष्टिकोणले कति उपयोगी र कति अनुपयोगी बिषय वस्तु र तत्सम्बन्धी तत्वहरु अंगीकार गरिएका छन् ? चलचित्र एउटा व्यवसाय हो भन्दैमा कसरी बढी भन्दा बढी नाफा आर्जन गर्न सकिन्छ भन्ने उद्देश्यद्धारा अपरिमार्जित, अपरिष्कृत र अकलात्मक रुपमा चलचित्र माध्यमको महन्त्ताको अपमान गर्न खोज्नु हो । यो कुरो यहाँ किन उल्लेख गरिएको हो भने बनिन त नेपालमा पूर्ण रुपका व्यावसायिक चलचित्रहरु नै बनिन्छन् जसको उद्देश्य पनि दर्शकहरुलाई पूर्ण मनोरञ्जन गराई सके सम्म बढी नाफा कमाउनु हुन्छ । यिनै व्यावसायिक चलचित्रहरुले नै हाम्रो चलचित्र उद्योगलाई निरन्तरता दिई अघि बढ्न मद्दत गरिरहेका छन् । अनि भविष्यमा पनि गरी नै रहनेछन् । तर तिनमा माथि उल्लेख भए जस्तो असामाजिक एवम् अश्लीलतापूर्ण प्रस्तुति हुँदैन । तिनका कथा पनि नयाँ ढङ्गका आउन थालेका छन् । तथापि केही नयाँ चलचित्रहरुले चाहिं सामाजिक मान मर्यादा, प्रतिष्ठा र नेपाली सभ्यता एवम् शिष्टतालाई नै हाँक दिई नेपाली चलचित्रप्रति नै वितृष्णा र विकर्षण बढाउन लागेका छन् । त्यस्ता केही नयाँ चलचित्रहरुमा प्रयोग गरिएको दुईअर्थी र बहुअर्थी सम्बादहरु, क्रियाकलाप अर्थात एक्शनका दृश्यांशहरु, अधर चुम्बनका लामा लामा दृश्यावलीहरु, अर्धनग्न मात्र नभई झन्डै झन्डै सर्वाङ्ग नै प्रदर्शित हुने वस्त्रका घराहरुले दर्शकलाई हेपेको र जीवन भनेको अश्लील नै हुनु पर्छ भन्ने पाठ सिकाउन खोजेको जस्तो लाग्न थालेको छ ।


अहिलेका र केही पहिलेका चलचित्रको परिदृश्य हेर्दा एउटा अलग्गै परिपाटीको थालनी भएको प्रस्ट रुपमा देखिन्छ । केही पहिले सम्म चलचित्र वितरक तथा प्रदर्शकहरुले नयाँ आएको चलचित्रमा नायक नायिका को को छन् भनी स्टार कास्टिङ हेर्ने गर्दथे । उदाहरणको लागि यदि कुनै चलचित्रमा राजेश हमाल, करिष्मा मानन्धर, विराज भट्ट, निखिल उप्रेती, जल शाह, विपना थापा, शिव श्रेष्ठ, भुवन के.सी.,गौरी मल्ल, बसुन्धरा भुसाल,मिथिला शर्मा, सुनील थापा, नीर शाह, रेखा थापा, मदनकृष्ण , हरिवंश जस्ता सुप्रसिद्ध कलाकारले अभिनय गरेको भएमा ती चलचित्रलाई सहजै वितरण र प्रर्दशन गरिदिन्थे । हिजो आजका चलचित्रमा कलाकार हेरिंदैन । आजकल त ‘सेक्स’ अर्थात यौन सम्बन्धी कुराहरु कति छन् भनेर मात्रै हेरिन्छ । आइटम डान्स कति मसालेदार छ भनी हेरिन्छ । त्यस्ता चलचित्रमा जतिसुकै नयाँ र स्थापित नभइसकेका अनुहार भए पनि केवल सेक्स सम्बन्धी कुराहरु मात्र हेरिन्छ । यसो गर्दा निर्माताले असल र समाज उपयोगी कथा खोजी रहनु पनि परेन, नयाँ र नौला कलाकारलाई खासै धेरै पैसा पनि दिनु परने, झण्डै झण्डै आधी भन्दा कम समयमै एकै स्थान वरिपरि शुटिङ कार्य सकिने हुँदा निर्माण लागत पनि बढेन । दर्शकहरुले उग्ररुपमा रुचाएर पैसा पनि बोरा भरी भरी पनि कमाइने भइयो !!


यद्यपि यौन सम्बन्धित कुराहरु मानव जीवनबाट अलग्ग रहन नसक्ने यथार्थ हुन् । तर यथार्थ प्रस्तुत गर्दैछु भन्ने निहुँ पारेर समाजका परम्परा, आस्था र शिष्टतालाई नै लत्याएर यौनलाई अति अपाच्य रुपमा प्रस्तुत गर्नु सिर्जनात्मक कलाको उपहास गर उत्ताउलिएर पलाप्पिनु हो जसले समाजलाई दूरगामी विकृति र बेइज्जतीको अन्यन्त मैलो दहतिर घँचेडी दिन्छ । माथि उल्लेख भए झै यौन सम्बन्धी कुराहरु मानव जीवनका अति अभिन्न अंग भएका हुँदा चलचित्रका कतिपय कथाको प्रसंगमा तिनको उल्लेख हुनु स्वाभाविक कुरो हो । तर ती कुराहरुलाई प्रजातन्त्र अनि गणतन्त्र आएको छ भन्ने आड़मा अभिव्यक्तिको स्वतन्त्रतालाई समाज र राष्ट्रप्रति अनुन्तरदायी भई चलचित्रमा अश्लील, छाड़ा तथा यस माध्यमको गरिमा र प्रतिष्ठालाई नङग्याउने, मुत्ल्याउने अथवा चिथोर्ने काम गर्नु सामाजिक अपराध हो । वास्तवमा यौन सम्बन्धी घटना एवम् कथ्यहरुलाई चलचित्रमा कथावाचन गर्दा सम्य, सुसंस्कृत, परिमार्जित र परिष्कृत रुपमा अत्यन्त शिष्ट, सांकेतिक, भावपूर्ण, तथा कलात्मक ढंगले प्रस्तुत गर्ने प्रशस्त विधि र प्रविधिहरुको सुविधा छ जसले गर्दा ती कलात्मक प्रस्तुतीहरु दर्शकका निम्ति न त अपाच्य र अग्राहय नै बन्न सक्छन् न त निर्देशकले पर्दामा भन्न र देखाउन खोजेको कुराहरु नै छुट्न जान्छन् ।


यसै प्रसंगमा पैसाको प्रलोभनमा त्यस्ता अग्राहय चलचित्र निर्माण गर्ने निर्माताहरु, त्यस्ता अपाच्य र अश्लील चलचित्र निर्देशन गर्ने समाज र राष्ट्रप्रति अत्यन्त अनुत्तरदायी बन्नु हो भनी जीवनकै दायित्व बिर्सन पुग्ने निर्देशकहरु, लेखक अभिनयमा सरिक हुने कलाकारहरु, निर्माण सहयोगी प्राविधिकहरु, तथा वितरक र प्रदर्शकहरु सबै जनाले हाम्रा लागि के ठीक र के बेठीक भन्ने कुरा नखुट्टयाएको जस्तो लाग्दछ । अझ स्पष्ट कुरा गर्ने हो भने त्यस्ता राष्ट्रद्रोही चलचित्रहरुको जाँच पास गरिदिने सेन्सर बोर्ड्को आफ्नो देशप्रति कुनै उत्तरदायित्व नै छैन र ? त्यस्ता अयोग्य चलचित्रलाई आँखा चिम्लिएर जाँच पास गरिदिनु नै अपराध होइन ? भन्ने अनेका प्रश्नहरु उठ्छन् ।


यहाँ आइपुगेर थुप्रै अनुत्तरित तथा अर्धउत्तरित प्रश्नहरुलाई पनि दोहोर्‍याउने पर्ने हुन्छ । हाम्रो सेन्सर बोर्ड् किन यसरी असक्षम, अकर्मण्य र अन्धो बनिरहेको देखिन्छ ? के नेपाल सरकार सेन्सर बोर्ड्को गठन गर्दा राष्ट्रलाई दूरगामी प्रभाव पार्ने माध्यमको गहनता, उपयोगिता र गम्भीरतालाई मनन गर्न सक्ने सदस्य महानुभावहरुको चैन गर्न पछि परेको होइन र ? नेपाली चलचित्र उद्योगको विकास गर्ने उत्तरदायित्व वहन गरिरहेको निकाय चलचित्र विकास बोर्डले यस्ता कुरामा अत्यन्त गम्भीर चासो राख्नु पर्ने होइन र ?  अथवा भनौं , चलचित्र विकासका सूक्ष्म भन्दा सूक्ष्म कुराहरुदेखि लिएर स्थूलतम कुराहरु सम्म पनि विकास बोर्डले प्रत्यक्ष रुपमै दृष्टि पुर्‍याउनु पर्ने र तिनका लागि पूर्ण प्रयासहरु गर्नु पर्ने होइन र ? सेन्सर बोर्डलाई पनि एउटा सक्षम, उपयोगी र स्वायत्त निकायका रुपमा विकसित गर्नु पर्ने होइन र ? धेरै कुरा नभए पनि कम्तिमा एउटा बलियो आचार संहिता नै भए पनि निर्माण गर्नु पर्ने होइन र ? सेन्सर बोर्डको नेतृत्व गर्ने  प्रमुख  व्यक्तिको रुपमा सरकारी कर्मचारीको साटो कुनै पनि दक्ष र पाको चलचित्रकर्मीलाई उत्तरदायित्व दिनु पर्ने होइन र ? नेपाल सरकार तथा चलचित्र विकास बोर्डले सम्बन्धित क्षेत्रसित सहकार्य गरी सेन्सर बोर्डको न्यूनतम मापदण्डको रुपरेखा तयार गर्नु पर्ने होइन ?

 

यद्यापि न त नेपाल सरकार न त चलचित्र विकास बोर्ड्ले चलचित्रकर्मीको सिर्जनालाई रोकथाम गर्ने अधिकार छ न त यी निकायले चलचित्र निर्देशकको कल्पना र प्रतिभालाई छेकथुन गर्न पाउँछन् तथापि सामाजिक दायित्वको  बोध गराई दर्शकको चेतनामा नयाँ र नौला प्रस्तुति पस्कने राष्ट्रिय दृष्ट्रिकोणले उपयोगी चलचित्रहरुलाई तिनले ठूलो प्रोत्साहन र प्रेरणा दिनु पर्ने सरकार तथा बोर्डको कर्तव्य हो अनि चलचित्र माध्यमको दुरुपयोग गर्दै समाज र राष्ट्रघाती अवाञ्छित क्रियाकलापलाई प्रेरित गर्ने किसिमका चलचित्रहरुलाई तिनले दण्ड र सजाय पनि दिन सक्नु पर्दछ । नियम, कानून बलियो बनाएर कड़ाइका साथ लागू गर्ने दायित्व राष्ट्रकै हो । तर नेपाली चलचित्र उद्योगको कुरा गर्दा सबै भन्दा कमजोर पक्ष अनुगमन कार्य नै देखिएको छ ।


त्यसका साथै हाम्रा चलचित्र निर्देशकहरुले नै नेपाली चलचित्रको स्तारोन्नतिका लागि दायित्व वहन गर्नु पर्दछ । उनीहरुको कल्पनाशीलता, कलात्मकता र सिर्जनशीलताको उत्कृष्टतामै नेपाली चलचित्रको भविष्य निर्भर गर्दछ । जब सम्म निर्देशक स्वयमले कुन कुरा कसरी प्रस्तुत गर्दा स्वस्थ मनोरञ्जन पनि हुन्छ र , सामाजिक तथा राष्ट्रिय दृष्टिकोणले उपयोगी पनि हुन सक्छ भन्ने कुरालाई आफ्नो  विवेकले खुट्टयाएर प्रस्तुत गर्न सक्दैन तब सम्म उसले अर्थपूर्ण चलचित्रको निर्माण गर्न सक्दैन । निर्देशकले वास्तवमै दर्शक अथवा सेन्सर बोर्ड्ले सेन्सर गर्न पाउनु अघिनै पूर्व निर्माण कालमै आफ्नो विवेक, ज्ञान र अनुभव प्रयोग गरी विवादको  सिर्जना गर्ने सम्भावना भएका  कुराहरु, सामाजिक एवम् राष्ट्रिय दृष्टिकोणले अनुपयुक्त हुने आपत्तिजनक कुराहरुलाई आफैं हटाएर पटकथालाई परिष्कृत तुल्याउनु पर्दछ । चलचित्रको भाषामा यस कार्यलाई ‘सेल्फ सेन्सर’ भनिन्छ जसलाई निर्देशकको एउटा ठूलो दक्षता मानिन्छ । ‘सेल्फ सेन्सर’ गर्न नजान्ने निर्देशकहरु दीर्घकालीन हुन सक्दैनन् ।


कस्तो कथालाई कस्तो कलाकारिताद्धारा सजाएर स्वस्थ र ग्राहय मनोरञ्जन पनि हुने, लगानी पनि नडुब्ने, सामाजिक दायित्वको निर्वाह पनि हुने , कलात्मकता, वैचारिक उच्चता र उत्कृष्टता भएका उपयोगी तथा सार्थक चलचित्र पनि रोचक तथा नौलो ढंगबाट निर्माण गर्न सकिन्छ भन्ने बिषयमा हाम्रा नेपाली चलचित्र निर्देशकहरुले मनन गर्नु पर्ने कुरा उनीहरुको दायित्व हो । हाम्रो देश संस्कृति परम्परा, इतिहास, भूगोल आदिका दृष्टिकोणले  अत्यन्त गौरवशाली र धनी छ । हाम्रा कथाहरु अगाध र अनन्त छन् । प्रस्तुत गर्ने सुन्दर तरिकाको मात्रै कुरा हो । समाजोत्थान गर्ने मनोरञ्जक चलचित्रहरु जति सक्दो बढ़ी संख्यामा निर्माण गर्नु आजको आवश्यकता हो ।


अन्त्यमा, मलाई विश्वास छ, आगामी चलचित्र निर्देशन गर्ने सबै निर्देशकहरुले स्वचिन्तन, स्वअध्ययन, स्वमनन र ‘सेल्फ सेन्सरशीप’ गर्ने दायित्वको रचनात्मक तथा समाजको उत्थान गर्ने उत्कृष्ट कलात्मक सिर्जनाहरु प्रस्तुत गर्ने छन् र चलचित्र जस्तो गरिमापूर्ण माध्यमलाई नेपालमा अझै विकास गर्दै लैजाने छन् । साथै यस कुरामा नेपाल सरकार, चलचित्र विकास बोर्ड् , सबै सम्बन्धित निकाय एवम् संघ संस्थाहरु, निर्माता, लेखक, निर्देशक, कलाकार, प्राविधिक, वितरक, र प्रदर्शक, तथा , चलचित्र विश्लेषक एवम् चलचित्र अनुरागीहरु समेत सजग रहनुमै नेपाली चलचित्र उद्योगको भविष्य सुन्दर हुन सक्ने तथ्य नीहित छ  ।

 

नोट : प्रस्तुत कार्यपत्र नेपाल चलचित्र निर्देशक समाजले आयोजना गरेको 'वर्तमान नेपाली चलचित्रको अवस्था, भविष्य र चलचित्रकर्मीको दायित्व' बिषयक अर्न्तक्रिया कार्यक्रममा बरिष्ठ निर्देशक लक्ष्मिनाथ शर्माले तयार पारेका हुन् ।