हुन त यहाँको चलन नै यस्तै हो । अब चलिआएको चलनलाई तत्काल फेर्न पनि नसकिने । फेरी यहि चलनलाई निरन्तरता नदिई पनि नहुने । तर सानो तिलको गेडालाई पहाड जत्रो बनाएर यहाँ दिनहुँ गाईजात्रा रचिन्छ । नेपाली फिल्म उद्योगको गाईजात्रा हेर्नका लागी कुनै एउटा विशेष दिन छुट्टाईएको छैन । यद्यपी कुनै न कुनै वहानामा गाईजात्रे चरित्र देखाउनेहरुको भीडले नेपाली फिल्म उद्योग हर्लप्पै ढाकेको छ ।
कुनै बेला नेपाली चलचित्र क्षेत्रका एउटा निर्देशक शोभित बस्नेतले भनेका थिए 'नाम होस् बद्नाम होस् तर गुमनाम नहोस् ।' मुखै फोरेर जसरी होस् आफु चर्चामा आउनुपर्छ भनेर भन्ने यी निर्देशकको पथमा हिँड्ने ठुलो जमातले फिल्म उद्योगमा सँधै जसो एउटा न एउटा चटक देखाईरहेका हुन्छन् । सँधै जसो फिल्मकर्मीहरुको गाईजात्रे चटक हेर्न र सुन्न पाउने नेपाली दर्शक पनि कहिले काँहि त अति भएपछि अवाक बन्ने गर्छन् ।
पछिल्लो समय फिल्म 'लुट' ले व्यवसायिक रुपमा सफलता पाएपछि त झन् यस्ता नेपाली फिल्म उद्योगमा दिनहुँ जसो गाईजात्रा मञ्चन हुन थाल्यो । लुट फिल्मको सफलतासंगै जोडिएर शुरु भएको गाईजात्रे प्रहशन फिल्म उद्योगमा अझै चल्दैछ । सम्भवत यो प्रहशन सकिनका लागी अझै धेरै समय बाँकि छ । लुटको प्रसंगबाटै यस वर्षको फिल्म उद्योगको गाईजात्रे प्रहशनको कुरालाई अगाडी बढाऊँ -
लुट फिल्मको सफलतासंगै निर्माणपक्षले ग्य्राण्ड पार्टीको आयोजना गर्यो । त्यो माहौलमा एउटा गज्जबको गाईजात्रे प्रहशन मञ्चन भयो । प्रहशनको मुख्य कलाकार थिईन् नायिका निशा अधिकारी । कार्यक्रममा उपस्थित भएकी नायिका अधिकारीको फोटो खिच्ने क्रममा उनले पत्रकारमाथि अपशब्द बोल्दै दुर्व्यवहार गरिन् । फिल्मीखबरकर्मी अनुप भट्टराईले फोटो खिच्ने क्रममा अपशब्द बोल्दै दुर्व्यवहार गरेपछिको गाईजात्रे प्रहशनले धेरै दिनसम्म मिडिया तात्यो । मोडल सहाना बज्राचार्य समेत निशा अधिकारीको प्रहशनमा साथ दिने एउटा पात्र बनेकी थिईन् । पछि मिडियाको चर्को दबाब पछि निशाले पत्रकारमाथि गरेको दुर्व्यवहार प्रति माफि समेत मागिन् ।
अब महानायक राजेश हमाल त झन् फिल्म उद्योगमा हुने गाईजात्रामा छुट्ने कुरै भएन । विहेको बारेमा मुख नखोल्ने महानायक हमालले पहिलो पटक आफुले विहे गर्ने भन्ने कुरा बाहिर आयो । त्यसपछि तुरुन्तै एउटा ज्योतिषिले राजेश हमालको विहे दुई वर्ष गर्न नहुने भन्ने भविष्यवाणि गरे । त्यस्पश्चात उनको विहे गर्ने समय केहि समयको लागी लम्बिएको छ । यद्यपी त्यहि बिचमा राजेश हमाल एउटा रमाईलो गाईजात्रे चक्करमा फँसे । चितवनकी एउटा अधवैँशे महिलाले राजेश हमालसंग आफ्नो विहे भएको र आफुहरुको बालबच्चा समेत भएको भन्दै मिडियाबाजी गरेपछि राजेश हमाल हनुमानढोकासम्म तानिनु पर्यो । यद्यपी पछि मानसिक खराबी भएका कारण ती महिलाले त्यसो भन्दै हिँडेको भन्ने प्रमाण जुटेपछि हमालले उन्मुक्ति पाएका थिए । राजेश हमालसंग घटेको त्यो घटना पनि कुनै गाईजात्रे प्रहशन भन्दा कम्ता रमाईलो थिएन ।
चटक देखाएर चर्चामा आउनेहरुको कुरा भैरहेको बेला एउटा फिल्म छुट्यो भने अनर्थ हुन सक्छ । कुरा हो एटिएम फिल्मको । अति अभद्र भएको भन्दै चौतर्फी आलोचित भएको फिल्मको प्रोमोले नेपाली फिल्म उद्योगमा ठुलै तहल्का मच्चाईदियो । यु ट्युबमा हजारौँको संख्याले हेरिसकेको प्रोमोकै कारण नेपाली फिल्मी क्षेत्रकै बारेमा अनेक-अनेक समिक्षाहरु हुन थाले । यसै फिल्मको प्रोमोमा देखिएका नायिकाहरु जिया केसी र सबिना कार्कीको गालिगलौज देखि सार्वजनिक स्थानमा झैझगडा र लेस्बियन थिमको फोटो शुट पनि निकै चर्चामा आए ।
नायिका रेखा थापाको त के कुरा नेपाली फिल्म उद्योगमा यो वर्ष नायिका रेखा थापाले जस्तो गाईजात्रे चटक त कसले देखायो होला र ? विभिन्न कारणले चर्चामा आईरहने रेखा थापा ०६८/०६९ मा विशेष गरि दुई कुराले चर्चामा आईन् । निर्माता छविराज ओझासंगको डिभोर्स र नायक आर्यन सिग्देलसंग लामो ग्याप पछिको बोलिचाली । पानी बाराबारको अवस्थामा रहेका नायक आर्यन सिग्देल र नायिका रेखा थापाले अरुलाई देखाउनकै लागी भएपनि हात मिलाएको र बोलेको हेरेर दर्शकहरुले मज्जाले नै मनोरञ्जन लिए । अब कुरा जोडौँ डिभोर्सको । कहिले संगै बस्नै नसक्ने भनेर उद्घोष गर्ने फेरी संगसंगै देखिने चटक रेखा र छविको यो वर्ष निकै देखियो । पारिवारिक कुरालाई मिडियामा छ्याप्छ्याप्ती बनाउन भ्याएका दुवै जनाको चटके चरित्र देखेर सबैभन्दा बढि त फिल्मी पत्रकारहरु अवाक बने । छुट्टिएकै कारण छविराज ओझाले आफ्नै नामको ब्यानर स्थापना गरे भने रेखाले नयाँ घर किनेर आमा संग बसेको खबरहरु प्राप्त भए । यद्यपी अझै पनि उनीहरुले संगै एउटै फिल्ममा काम गर्ने चर्चा चलेको छ ।
लुटको प्रसंग जोडेपछि चपली हाईटलाई छुटाउनु पनि भुल हुन सक्छ । चपली गर्ल विनिता बरालको नाङ्गो फोटोसंगै शुरु भएको चर्चा फेक फेसबुक अकाउन्ट सम्म आईपुग्दा निकै चुलियो । विनिताले भाई मान्दै आएको मोडल दिक्पाल कार्कीले फेक फेसबुक अकाउन्टबाट फिल्म उद्योगका मानिसहरुलाई तथानाम गाली गलौज गर्दै मेसेज पठाएकै कारण दिक्पालसंगै चपली गर्ल विनिता पनि हनुमान ढोकासम्म तानिईन् । चपली हाईटकै हिरोसंग विनिताको दुश्मनीले गर्दा फिल्म उद्योगमा ठुलै वितण्डा पनि मच्चियो । यद्यपी सबैको आ-आफ्नो पोल खोलिने डरले उनीहरु मिलेर कुरालाई साम्य बनाए ।
गाईजात्रा पर्व नजिकिँदै गर्दा प्रदर्शनमा आएको फिल्म लकको पैसा तिरेपछि सबै देखाईदिने भन्ने गीत पनि गाईजात्रे प्रहशनमा दरिलै भएर उभियो । यसै फिल्मकी नायिका बेनिशा हमाल र निर्माण पक्ष बिचको झगडा पनि अर्को रमाईलो प्रहशन बनेको थियो । गाईजात्रा आउनभन्दा अगाडी दुई वटा निकै रमाईला गाईजात्रे प्रहशनहरु देख्न पाईए । दुई वटै मिडियाकर्मीहरुले बनाएको फिल्महरु हाईवे र मायाज बारको । 'नेपाली फिल्मको ट्रेन्ड नै चेन्ज गर्ने फिल्म हाईवे' भनेका दीपक रौनियारको काम हाईवे हेरपछि धेरैले आलोचना गरे । यसै फिल्मबाट अभिनयमा डेव्यु गरेका चर्चित पत्रकार रवीन्द्र मिश्रको लागी पनि यो फिल्म 'पहिलो गाँसमै ढुंगा' भनेजस्तै भयो । त्यस्तै मायाज बार फिल्मको बारेमा आएको समिक्षाको विरुद्ध फेसबुकमा आक्रोशित हुँदै निर्देशक दिनेश डिसीले चिठि लेखेपछि उनी पनि फेसबुकमा केहि आलोचनामा परे ।
यस्तै अर्को गाईजात्रा नायिका सञ्चिता लुईटेल र नायक निखिल उप्रेतीको पनि देख्न पाईयो । एकै बर्षमा दुई-दुई पटक गर्भवती बनेर सञ्चिताले रामाईलो नै प्रहशन प्रस्तुत गरिन् । नायिका शुष्मा कार्कीले फिल्म बिन्दासमा खिचेको फोटो र त्यहि फोटोमा तयार गरिएको फस्टलुक पनि गाईजात्रे प्रहशनमा आकर्षणको केन्द्र बन्यो । आफ्नो इच्छा विपरित पोस्टर बनाईएको भन्दै पब्लिसिटीमा नआउने बताएकी शुष्मा केहि दिन अगाडी फिल्मको पोस्टर नै बोकेर सार्वजनिक गाडीमा टाँस्दै हिडिन् । यिनको यो दुई जिब्रे गाईजात्र पनि रमाईलो नै थियो ।
यस्ता धेरै चटकका कुराहरु यहाँ छुटेका छन् । सबै लेखेर पनि भ्याईदैन । हुन त यो क्षेत्र नै यस्तै हो । यत्ति पनि नगरेपछि फिल्मकर्मी भएको अर्थ नै के रह्यो र ? अब यस्तै यस्तै मानिसहरुको भीडले ढाकेको फिल्म उद्योगमा यस्ता गाईजात्रे चटक बढ्दै जाने हो भने कुनै दिन पुरै उद्योग गाईजात्रे उद्योग बन्न बेर लाग्दैन ।