
पहिले एक समय थियो जुनबेला नेपाली चलचित्रले १०० दिन मनायो, ५१ दिन मनायो रे भनेर सुन्न पाइन्थ्यो । तर, आजभोली रिलिज भएका चलचित्रहरु कतिखेर बन्यो कतिखेर चल्यो र कतिखेर उत्रियो थाहा नै हुंदैन । यस्तो सुन्दा हामी जस्ता नेपाली दर्शक स्रोतालाई हाँसो उठ्नु स्वाभाविक नै हो ।
आखिर किन यस्तो भईरहेको छ ? किन पहिलेको जस्तो चलचित्र चलिरहेको छैन ? यो एक गम्भिर प्रश्न हो साथै नेपाली चलचित्र उधोगको लागी ठुलो बहस हो । यो कुरा समग्र चलचित्र उधोगका टाउकेहरुले बुभ्न जरुरी छ, यस्तै भईरह्यो भने नेपाली चलचित्र उधोगको बिकास कसरी सम्भव होला त ? के यस्तै भईरह्यो भने नेपाली चलचित्र क्षेत्रका कलाकार, प्राबिधिक, निर्माता, निर्देशकको रोजीरोटी सुरक्षित होला त ? के यसरी नै हलहरुले खर्च धान्लान् त ? आखीर किन यस्तो भईरहेको छ यो क्षेत्र ? किन धरासायी भईरहेछ ? यसतर्फ सबैको ध्यान जानु आवश्यक भएको छ ।
भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, निरुता सिंह, जल शाह, करिष्मा मानन्धर, दिलिप रायमाझी पुराना चर्चित कलाकार नै हन् । राजेश हमाल, रेखा थापा नचिन्ने मान्छे छैनन् । निखिल उप्रेती, बिराज भट्टले पनि चलचित्र क्षेत्रलाई चिनाएका साथै योगदान पनि दिएका नै हुन् तर यी २ नायकहरु अहिले चलचित्र क्षेत्रबाट टाढा नै रहेका छन् । त्यसपछिका नायक नायिकाहरुको नाम लिनपर्दा खै कसको नाम लिने ? सबैतिर अन्योलको स्थिती छ । अहिलेको चलचित्र उधोगमा त जो पनि निर्माता, निर्देशक, कलाकार, प्राविधिक जो पनि बन्न पाईन्छ । कोहि व्यवसाय गर्नको लागि यो क्षेत्रमा आएका छन् , कोही मोजमस्तिको लागि आएको पाईन्छ । पैसा हालेर हिरो, हिरोईन बन्न पाईने रहेछ, निर्माता निर्देशकले जे भन्यो त्यहि गर्यो भने नायिका बन्न पाईने रहेछ, साँच्चै भन्ने हो भने बिश्वमा कुनै पनि देशमा यसो गर्नु नपर्ला ।
चलचित्र उधोगमा राजनीति नघुसेको भने होईन । वास्तवमा चलचित्र उधोग भनेको समाजको ऐना हो यसबाट सन्देश पनि लिन सकिन्छ । चलचित्र उधोगको हकहितको लागी भनि खोलिएको सरकारी संस्था नेपाल चलचित्र बिकास बोर्डमा पनि उस्तै राजनीति घुसेको छ । कलाकार भनेको त देशका गहना हुन् । राजनीतिले गर्दा देश नै असुरक्षित भईरहेको बेला चलचित्र उधोगमा पनि त्यसको प्रभाव पर्ने नै भयो । यसले गर्दा पनि चलचित्रको विकास हुन नसकेकै हो ।
पहिले पहिलेका कुसुमे रुमाल, दर्पण छायाँ चलचित्र नहेर्ने मान्छे थिएनन् रे तर अहिलेका चलचित्र किन हेर्दैनन् ? यसमा बहस हुनु जरुरी छ । युबाबर्ग लक्षित चलचित्र किन बनाईदैनन् त ? आखिर यहि कारणले गर्दा दर्शक घटेका हुन् कि ? अहिलेको चलचित्रको नाम लिने हो भने लुट, चपलीहाईटको नाम सबैबाट सुन्न पाईन्छ । लुट चलचित्रले युबाको भाबना बुझेकै हो । यसमा नयांपन छ नै यसले स्वदेशका साथै बिदेशमा पनि नाम दाम दुबै कमायो । यसैक्रममा चपलीहाईट भन्ने चलचित्र चल्यो, दाम त कमायो नै तर सन्देश भने राम्रो दिन सकेन । यहां जुन चलचित्र चल्यो त्यसको कपी गर्दे जाने गरेकाले पनि नयांपन नपाएर नचलेकै हो । यसै क्रममा एटिएम भन्ने चलचित्र बन्यो त्यसले गर्दा सिंगो चलचित्र उधोग लगायत आम दर्शकमा पनि शिर निहुराउनुपर्ने बातावरण उत्पन्न भयो । यो चलचित्र चल्न पनि पाएन तर यति हुंदाहुंदै पनि “सी’ ग्रेडका चलचित्रहरु बन्ने क्रम अझै जारी छ । यसमा पनि सुधार गर्दै लैजानु आवश्यक देखिन्छ ।
फेरी राम्रो चलचित्र बन्यो भने चल्छ भन्ने यहि बर्ष चलेका केही चलचित्रबाट पुस्टि हुन्छ । यहाँ बार्षिक सयौँ चलचित्र बन्छ । विश्वको कुनै देशको चलचित्र पनि बर्षमा एकाध सफल हुन्छ । त्यसैले नेपाली चलचित्र पनि त्यहि हो । यो साल हामीलाई थाहा भएसम्म रावण, किन लाग्छ माया, सायद, मालतिको भट्टि, विन्दास आदी सफल चलचित्र हुन् । नेपाली चलचित्रका हस्तीले पनि नेपाली दर्शकलाई हेला गरेका नै हुन् । उनीहरुको भाषामा भन्नुपर्दा चप्पल लगाउने मात्र नेपाली दर्शक हुन् रे ! यो कुरा उनीहरुले सुधार्नु जरुरी छ । देशका ३% प्रतिशत जनता मात्र किन नेपाली चलचित्र हेर्छन् ? यो कुरा बुभ्न जरुरी छ ।
हलको गुणस्तर, हलको बर्गीकरण, चलचित्र बर्गीकरण जरुरी छ । हामी दर्शकहरुको सोचाई पनि नराम्रो नै छ । एउटा फिल्म हेर्न जांदा नराम्रो लागे सबै चलचित्र नै नराम्रो भनिदिने यो पनि गम्भीर प्रश्न हो । यस बिषयमा चलचित्रकर्मी र दर्शकहरुबीच अर्न्तक्रिया हुनु आवश्यक छ । चलचित्र क्षेत्रमा सबैले भन्ने उही हो 'बजेट थोरै भएपछि कसरी राम्रो चलचित्र बन्छ ?' दर्शकहरुले बुझिदिनु पर्यो भन्छन् तर उनीहरुले बिदेशी बजार किन खोज्न सकिरहेका छैनन् ? बिदेशमा किन नेपाली चलचित्र चल्न सकिरहेका छैनन् त ? यसको समाधान गर्न सकियो भने नेपाली चलचित्र उधोगको भबिष्य देखिन्छ । चलचित्र उधोगमा पनि खुट्टा तान्ने प्रबृती भएकै हो । आफु राम्रो, आफनो मात्र राम्रो, अरुको नराम्रो, अरुको चलचित्र नचलेको मेरो मात्र चलेको जस्तो बानीले पनि दर्शक झुक्किएकै हुन् । दर्शकमा राम्रो सन्देश दिनुपर्यो अनी केही सुधार अवश्य हुन्छ ।
हाम्रा कलाकारहरु पनि जस्ता चलचित्र पनि खेलिदिने, आफुलाई नसुहाउने रोलमा पनि खेलिदिनाले पनि नायक नायिकाप्रती रुष्ट छन् दर्शकहरु । हिन्दी, अंग्रेजी चलचित्रको कपी गरेर चलचित्र बनाएपछी दर्शकले नेपालीपन कहांबाट खोजुन् ? यो बुझ्न जरुरी छ । पत्रकारहरुले पनि राम्रो नराम्रो चलचित्र औल्याईदिनुपर्यो यसो गरेमा दर्शकमा राम्रो सन्देश प्रबाह हुन्छ । चलचित्र दर्शकमा पुगेर मन पराउनुमा गीतसंगीतको पनि ठुलो हात छ जुन पछिल्ला अन्दाज, लुट, कसले चोर्यो मेरो मन, नाइ नभन्नु ल चलचित्रबाट पुष्टि हुन्छ । त्यसैले गीतसंगीतमा पनि सुधार ल्याउनुपर्ने देखिन्छ ।
नेपाली चलचित्र क्षेत्र फस्टाउन नसक्नुका कारणहरु -
- दर्शकको चाहनाअनुसार चलचित्र नबनेकाले
- एक अर्काबीचनै खिचातानी बढेकाले
- अश्लील चलचित्र बनीरहेकाले
- चलचित्रमा नयांपन नभएकाले
- केही बाहेक सबै चलचित्रकर्मी अदक्ष भएकाले
- चलचित्रका साथै हलको बर्गीकरण नभएकाले
- राज्यले यस क्षेत्रलाई उधोगको मान्यता नदिएकाले
- बिदेशी बजार नखोजिएकाले
- बक्स अफिस निर्माण नगरिएकाले
- चलचित्र क्षेत्रमा युवाको प्रवेश नभएकाले
- कलाकारहरुको अभिनय क्षमता स्तरिय नभएकाले
यी माथीका कुराहरु भयो भने युवा दर्शक श्रोताको साथ सधैं पाईरहनुहुनेछ । यी सबै भए मात्र चलचित्र उधोग अवश्य फस्टाउने छ र यस क्षेत्रका सबैको भविष्य राम्रो हुनेछ । त्यसैले यसलाई राम्रोसंग सोचेर नेपाली पैसा नेपालकै चलचित्र क्षेत्रमा भित्र्याउने बातावरण मिलाउनुहोला है ! कि कसो त ?
अन्तमा: यसतर्फ सबैको ध्यान पुगोस् र पछी गएर नेपाली चलचित्र उधोग फस्टाएको हेर्न पाईयोस् र भन्न पाईयोस् 'यो नेपालीको मन त नेपाली चलचित्र नै हो' ।
प्रशन्न घिमिरे
बिधार्थी
कालिमाटी, काठमाडौ ।
९८४९५६००३३