मिति : २०८१ मंसिर ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शब्ददेखि चित्रसम्मको यात्रामा `शिरिषको फूल` : विजयरत्न तुलाधर

फिल्मीखबर, काठमाण्डौ, २०६९ फाल्गुन २९, मंगलवार

पारिजातको अमर कृतिमा आधारित फिल्म “शिरिषको फूल” बन्नुभन्दा अगाडि पनि साहित्यिक कृतिमा आधारित केही नेपाली फिल्महरु बनिसकेका छन् । केही प्रशंसित भएका छन् केही आलोचित पनि । एउटा साहित्यकारले आफ्नो कृतिमा जुन कलात्मकता पस्केका हुन्छन्, त्यसलाई पर्दामा जीवन्तता दिन अत्यन्त कठीन हुन्छ । यी दुबै अभिव्यक्तिका दुई पृथक माध्यमहरु हुन् । साहित्य कलमद्वारा लेखिने अभिव्यक्ति हो भने फिल्म क्यामेराको आँखाबाट दर्शकसम्म पुर्‍याइने अभिव्यक्ति हो । त्यसैले फिल्मलाई निर्देशकको अभिव्यक्ति मानिन्छ ।

 

एउटा साहित्यिक कृतिमा फिल्म बनाईंदा साहित्यकारको दायित्व कृति प्रकाशनसम्म मात्र रहन्छ भने त्यसपछिको दायित्व निर्देशकमाथि आईपर्छ । र, यसमा निर्देशकलाई कृतिको मर्ममाथि चोट नपुग्ने गरी आफ्नै सोच अभिव्यक्त गर्न पाउने स्वतन्त्रता हुन्छ । यो स्वतन्त्रतालाई “शिरिषको फूल”मा प्रयोग गर्ने प्रयास गरिएको छ । उपन्यासको रुपमा यो एक उत्कृष्ट कृति हो । अनिश्वरवादी चिन्तन र शून्यवादी अभिव्यक्तिको कारण “शिरिषको फूल”लाई मन नपराउने पनि होलान् । तर, फिल्मको रुपमा आउँदा “शिरिषको फूल” मूल कृतिको यो मर्मलाई अलि भिन्न रुपमा सृंगारेर ईश्वरवादी सोचमा टुंग्याएका छन् । शून्यवादलाई बदल्ने कोशिश गरेका छन् । कतिलाई यो अपाच्य हुनसक्छ । तर वास्तविकता यही हो । कसैको मृत्युसँगसँगै उसँग आश्रित अरु पनि मर्दैनन् । जीवित रहन्छन् । आफ्नै सोच लिएर अगाडि बढ्छन् । फिल्म शिरीषको फूलमा सुयोगवीरले पनि त्यसै गर्छन् । यसलाई निर्देशकको सबल व्यक्ति मान्नु पर्दछ । यस फिल्मका निर्देशक हुन् डा.तोसिआकी ईतोह ।

 

जापानको टोक्यो युनिभर्सिटीमा फिल्म विषयमा नै अध्यापन गराउने जापानी नागरीक ईतोले निर्देशन गरेको यो दोश्रो नेपाली फिल्म हो । यसभन्दा अगाडि उनले “कठपुतली” शिर्षकको शर्ट फिल्म बनाएका थिए । जुन शर्ट फिल्मले “शर्ट फिल्म फेस्टा पोखरा २००८” मा क्रिटिक्स अवार्ड र चलचित्र विकास बोर्डको तर्फबाट नगद ७५ हजार सहितको विशेष पुरस्कार हासिल गरेको थियो । यसरी आफ्नो पहिलो नेपाली फिल्मबाट पुरस्कृत भएका निर्देशक ईतोहले शिरिषको फूल लाई एक सुन्दर फूलका रुपमा प्रस्तुत गर्न सफल भएका छन् ।

 

साहित्यकार पारिजातले रचेको जटिल चरित्र शाकम्बरीलाई निर्देशक ईतोहले अभिनेत्री शर्मिला गुरुङमार्फत सजीव रुपमा उतार्न सफल भएका छन् । शर्मिला गुरुङको अनुहारमा पात्र अनुसार भावले जीवन्तता पाएको छ भने उनलाई आफ्नो स्वर उधारो दिने अर्थात स्वराङ्कन गरीदिने डबिङ आर्टिस्ट अञ्जु देउजाको सशक्त स्वर अभिनयले साथ दिएको छ । सयौं कलाकारहरुका लागि स्वर अभिनय गरी सकेकी अञ्जु देउजालाई शिरिषको फूलकी शाकम्बरी सदा सम्झनामा आइरहने पात्र हो भनि उनी स्विकार्छिन् ।

 

सुयोगवीरका रुपमा गणेश लामा पात्र अनुसार आफुलाई प्रस्तुत गर्न सफल छन् । यौन पिपाशु भगौदा सेनाको नकारात्मकतालाई पनि नायकत्व प्रदान गर्न उनी सफल छन् । अभिनयमा सौजन्या सुब्बा, अप्सरा कार्की, जगत राजथला, बसुन्धरा भूसाल, लक्ष्मी भूसाल, चाँदनी लामा, इन्दिरा डोंग, गोपाल भुटानी, सन्तोष लामा, रवि डंगोल, सविन शाक्यहरु पात्र अनुसार ठीकै काम गरेका छन् । तारीफ गर्नु पर्ने ठाउँ देखिंदैन । विशेष गरी जगत राजथला पात्र अनुसार आफूलाई प्रस्तुत चुकेका छन् । बसुन्धरा भूसाल र लक्ष्मी भूसाल अति अभिनयको शिकार भएको देखिन्छ । सुयोगवीरको साथमा युद्धबाट भाग्ने शिपाही साथीको भुमिकामा अभिनेता श्याम राईले राम्रो अभिनय गरी मन जित्न सफल भएका छन् ।

 

 
एउटी नारीले युद्ध विभिषिकामाथि लेखेको उपन्यासलाई फिल्ममा उतार्दा निर्देशकले थोरै फिल्ममय बनाउने प्रयास पनि गरेका छन् । जुन सार्थक नै देखिन्छ । उदाहरणको लागि प्रमुख पात्र बरी कि बहिनी सानुको प्रेम प्रसङ्ग, सुयोगवीर गाउँमा आमा भेट्न गएको अनि तत्कालिन काठमाण्डौंमा देखाइने दबु प्याखँ (सडक नाटक) र नेवार साँस्कृतिक जात्राले फिल्मलाई उपन्यासको विषय जस्तै निस्सार हुनबाट जोगाएको छ तर विषयलाई मर्न भने दिएको छैन, जिवितै राखेको छ । युद्ध विभिषिका चित्रण गर्ने क्रममा देखाइएको लाशहरु माझ एउटैमात्र जीवित प्राणीको रुपमा रहेका नवजात शिशु लाश बनिसकेकी आफ्नी आमाको नाङ्गो छाति चुसीरहेको दृश्य ज्यादै मर्मस्र्पशी छ । यसमा अलि असुहाउँदो देखिएका कुराहरुमा भव्य देखिएको दरबार जस्तो देखिने घरमा बस्ने पात्रहरु शिवराज लगायत उनका बहिनीहरुको पहिरन फितलो हुनु हो । उपन्यासमा सुयागवीरको यौन चाहनासँग प्रत्यक्ष प्रतिस्पर्धा हुने गरी सोडा पसले केटा र पसल्नी आईमाई बीचको सम्बन्धलाई प्रस्तुत गरिएको छ तर फिल्ममा यो पक्ष त्यति सशक्त हुन सकेको देखिंदैन ।

 


फिल्मलाई कलात्मकता प्रदान गर्न छायाङ्कन निर्देशक गौरीशङ्कर धुँजुले रचनात्मक रुपमा निर्देशकलाई साथ दिएका छन् भने एउटा साहित्यकारको अमर कृतिलाई फिल्मको पटकथामा ढाल्नका लागि अर्का साहित्यकार नयनराज पाण्डेले निर्देशक डा. तोशिआकी ईतोसँग मिलेर राम्रो पटकथा लेखेका छन् । यसरी हेर्दा यसलाई अहिलेसम्म बनेका साहित्यिक कृतिमा आधारित फिल्महरु मध्येका राम्रा फिल्महरुमा “शिरिषको फूल” पर्छ भन्न सकिन्छ ।