भारतमा बनेको नेपाली भाषाको चलचित्र 'सत्य हरिश्चन्द्र'लाई नेपालको पहिलो चलचित्र मान्ने हो भने नेपाली चलचित्र उधोगले आधा शताब्दी पूरा गरिसकेको छ । नेपाली चलचित्र क्षेत्रले आधा शताब्दी पूरा गरिसक्दा पनि अझैसम्म यसको एउटा परिचय बन्न सकेको छैन । अहिले आएर केहि चलचित्रकर्मीले नेपाली चलचित्र उधोगको आफ्नै परिचय हुनुपर्छ भन्ने धारणा राख्दै आएका छन् । यसका लागि नाम के दिने भन्ने बिषयमा छलफल हुनु जरूरी देखिन्छ ।
कतिलाई नेपाली चलचित्रको इतिहासका बारेमा ज्ञान नहुन सक्छ । नेपाली चलचित्रले के-कस्ता कालखण्ड पूरा गरेर आज यो अवस्थामा आएको छ त भन्ने जिज्ञासा मेट्न फिल्मीखबरले आजका दिनबाट यसको इतिहास पल्टाउने जमर्को गरेको छ । बिभिन्न व्यक्तिहरूका भनाई र केहि लेखहरूलाई आधार मानेर मासिक पत्रिका 'ग्ल्यामर प्लस'का सम्पादक राजाराम फुयाँलले नेपाली चलचित्रको इतिहास तयार पारेका छन् । उनले चलचित्र उधोगलाई तीन कालखण्डमा बिभाजन गरेका छन् । फिल्मीखबरले उनै राजारामको यो आलेखलाई खण्ड-खण्ड गरेर साप्ताहिक रूपमा प्रस्तुत गर्नेछ । नेपाली चलचित्रको इतिहासलाई कोर्न जमर्को गरेका राजाराम प्रति फिल्मीखबर हार्दिक कृतज्ञता प्रकट गर्दछ ।
नेपालमा चलचित्रको आगमन
सारा विश्व चलचित्रमा आकर्षिक भैराखेको बेलामा नेपाल यसबाट अछुतो रहन सक्ने कुरै भएन । तर नेपालमा स्रोत साधनको विकासको साथै मानविय रुचि र चासो बढाउने खालका क्रियाकलाप निरंकुश राणा शासनको कारण सम्भव थिएन । विश्वमा चलचित्रको प्रार्दुभाव हुँदा त्यसको छायाँ नेपालमा पर्न सकेन । विश्वमा चलचित्र बन्यो रे भन्ने कुरा पनि हामीले एक सय वर्ष पछाडि मात्रै थाहा पायौं । नेपालका तत्कालिन शासकवर्गहरु जनतालाई मनोरञ्जन दिलाउन लाग्ने कुरा त कल्पना बाहिरको बिषय थियो । तर उनीहरु भने मनोरञ्जन गर्न सिपालु थिए । दरबारमा नाचगान गरेर समय विताउँथे । काम बिशेषले नेपाल बाहिर गएको बेलामा उनीहरुले फाटफुट्ट चलचित्र हेर्ने मौका पाउँथें, मन लगाएर हेर्थे पनि । धन सम्पत्तिले पूर्ण राणा शासकहरु चलचित्रतर्फ आकर्षित भएपछि स्वदेशमै यसलाई हेर्ने व्यवस्था गर्न तर्फ लागे ।
एकातिर साधारण जनता अत्यन्तै सीमित घेरामा बसेर मनोरञ्जन लिन्थे भने अर्कातिर प्राचीनकालदेखिनै राजा रजौटाहरु दरबारमा नाटक मण्डली तथा नर्तकीहरु राखेर मनोरञ्जन लिन्थे । यो क्रम लिच्छवीकालदेखि राणाकालसम्म नै रहेको देखिन्छ । तर राणाहरु यत्तिमै चित्त बुझाएर बस्न छाडे । किनकी उनीहरुको पालामा युरोप, अमेरिकातिर नाटकको पूर्ण विकास भैसकेको थियो भने थिएटर, सर्कस र चलचित्रको पनि राम्रो अनुभव जमिसकेको थियो । नेपालमा यी साधनहरु उपलब्ध नभएकाले राणा प्रधानमन्त्रीका भाइ, छोरा तथा भतिजाहरुलगायत आफन्तहरु विदेश पुगेको बेला उतै मनोरञ्जन गरेर स्वदेश फर्किन्थे र आफ्ना परिवारजनलाई त्यसको रामकहानी बताउँथे । जसको कारणले उनीहरुलाई पनि विदेश गएर सिनेमा हेर्ने इच्छा जागृत हुन्थे । त्यो भावनालाई कदर गर्दै आफ्नो परिवार, भार भारदार, इष्टमित्रको मनोरञ्जन गराउने उद्देश्यले वि.सं. १९९० सालमा तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेरले विदेशी चलचित्र नेपाल भित्र्याए । ती हिन्दी चलचित्र उनले त्यसैवर्ष १७ भदौंमा आफ्नै दरबार सिंहदरबारको वेलायती वैठक (हालको संसद भवन) मा प्रदर्शन गरेका थिए । सिंहदरबारमा त्यसबेला चलचित्र रिलिज गर्दा ‘अध्यारोमा बत्तीको मुस्लो भित्तामा देखाउँदा भित्तामा मान्छे नाचेको, गाएको, हिडेको, बोलेको देखिने चलचित्र भन्नेचिज श्री ३ ले नेपालमा ल्याए रे’ भन्ने हल्ला काठमाडौं उपत्यकामा चल्यो । सर्वसाधारणमा यसप्रतिको उत्सुकता थपिदै गयो । दरबारसँग निकट सम्बन्ध रहेका सर्वसाधारणले पनि ति चलचित्र हेर्ने मौका पाउँथे । ति सर्वसाधारणले चलचित्र हेरेको अनुभव सुन्न टोल टोलमा भिड जम्मा हुन्थ्यो ।
सर्वप्रथम चन्द्रशमशेरले चलचित्रबाट मनोरञ्जन लिने कार्य स्वदेशमै गरेपछि राणा र राजपरिवारमा चलचित्रले राम्रो जम्ने मौका पायो । जुद्धशमसेरले राजा त्रिभुवनको अनुरोधमा वि.सं. १९९१ सालमा एउटा प्रोजेक्टर र रिल भारतबाट मगाएर नारायणहिटी दरबारको थिएटरमा जडान गरिदिएका थिए । त्यसबाट राजा त्रिभुवन र उनको परिवारले चलचित्र हेरेर भरपुर मनोरञ्जन लिन्थे । राजा त्रिभुवनले प्रयोग गरेको उक्त प्रोजेक्टर र रिल अहिले वसन्तपुर संग्राहालयमा सुरक्षित छ । यसरी दरबारमा चलचित्र हल स्थापित भएपछि चलचित्र हेर्ने मौका राजाको परिवारबाट बढेर विश्वासी कर्मचारी, सल्लाहकार, राजापुरोहित र तत्कालिन व्यापारीसम्म पुग्न गयो । यो क्रम चन्द्रशमशेरबाट जुद्धशमशेर, पद्मशमशेर हुँदै मोहनशमशेरसम्म आइपुग्दा निकै फराकिलो भैसकेको थियो ।
वि.सं. १९९४ सालमा सरकारी पहलमा सिंहदरबार भित्र लगेर केही विद्यार्थी र युवाहरुलाई धार्मिक भावना जागृत गराउन ‘हरिश्चन्द्र’ नामक हिन्दी चलचित्र देखाइएको थियो, त्यो घटना नेपालको चलचित्र इतिहासमा एउटा ऐतिहासिक सम्झन लायकको घटना हो । जसबाट सर्वसाधारणमा प्रशस्त मात्रामा रहेको उत्सुकता र कौतुहल समाधान भएको थियो । चलचित्र प्रति झन् आकर्षण बढाउन यो घटना साहायक सिद्ध भयो । तर त्यतिखेरसम्म पनि सर्वसाधारण जनताका लागि चलचित्र हल खुल्न सकेन, जवकि अंग्रेजकै पालामा भारतमा मात्रै सर्वसाधारण जनताका लागि ११३ वटा चलचित्र हल खुलिसकेको थियो । तत्कालिन राणा प्रधानमन्त्री मोहन शमशेरलाई उनका सल्लाहकारहरुले चलचित्र हल खोल्दा राणा शासनमा खतरा उत्पन्न हुने सल्लाह दिएकाले नखोलिएको कुरा पुराना विद्वानहरु बताउँछन् ।
यसरी शाशकवर्ग लगायत सर्वसाधारण जनतामा पनि विस्तारै चलचित्र चेतना मौलाउँदै जान थालेको अवस्थाले के देखाउँछ भने यो चलचित्र प्रविधि एकदम प्रभावकारी हुँदोरहेछ । तर राणा शाशकहरुले जनताको चेतना अभिवृद्धि हुने यस्तो कामलाई त्यतिखेर खाशै महत्व दिएनन । तैपनि नेपाली जनता भारत गएर भए पनि चलचित्र हेर्न थाले । अलि अलि गर्दै यसको आकर्षण क्रमश बढ्दै थियो । यसै पृष्ठभूमिबाट माथि उठ्दै गएको चलचित्र संस्कृतिलाई बुझ्ने हो भने हाम्रो चलचित्र इतिहासलाई तीन चरणमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ ।
पहिलो चरण (२००१– देखि २०३० सम्म)
दोस्रो चरण (२०३१ – देखि २०५० सम्म)
तेस्रो चरण (२०५१ – देखि हालसम्म)
क्रमश...