मिति : २०८१ चैत्र २०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

चलचित्र इतिहास : यसरी बन्यो हिराको `आमा`

राजाराम फुयाँल, काठमाण्डौ, २०७० ज्येष्ठ २१, मंगलवार

...२०१७ सालमा राजा महेन्द्रले राजनैतिक ‘कु’ गरेर प्रजातान्त्रिक व्यवस्था हटाएपछि पञ्चायत व्यवस्था प्रारम्भ गरे । आफ्नो व्यवस्था प्रचार प्रसार गर्न उनले पनि चलचित्रकै सहारा लिने विचार गरे । पञ्चायत व्यवस्थाको प्रचार गर्न राजा महेन्द्रले स्वदेशी चलचित्रविज्ञ कोही नभएकाले भारतबाट विज्ञ झिकाउने निर्णय गरे । भारतमा रहेका हीरासिंह खत्रीलाई नेपाल आई चलचित्र निर्माण गर्न आमन्त्रण गरे । राजाकै आग्रहमा २०१८ सालमा हिरासिंह नेपाल आए । सर्वप्रथम उनले ‘राजा महेन्द्रको ४२ औं जन्मोत्सव’ सम्बन्धी वृत्तचित्र बनाए ।


वि.सं. २०२० सालतिर प्राणकुमारको निर्देशनमा बन्दै गरेको चलचित्र ‘कहि दियो कहि बत्ती’ नामको फिल्म नौ रिलसम्म सुटिङ भएर पनि आर्थिक अभावले पुरा हुन सकेन । अधुरोमै अड्कियो । फिल्म पुरा बनेर प्रदर्शनमा आएको भए यो नै नेपालमा बनेको पहिलो फिल्म हुने थियो । फिल्म पुरा नहुँदै २०४४ सालमा यसका निर्माताको मृत्यु भयो । नेपाली चलचित्रसँग सम्बन्ध राख्न चाहने कुनै पनि नेपाली चलचित्र प्रशंसकहरुले हिरा सिंहलाई बिर्सनु उनीमाथि ठूलो अन्याय हुने जाने छ । राजा, महेन्द्र विरेन्द्र सम्बन्धी वृत्तचित्रका साथै कैयौं वृत्तचित्र र समाचार चित्रहरुको निर्देशन र निर्माण गर्नु भएका स्व. हिरा सिंहको जन्म भारतको देहरादुनमा भएको थियो । इलाहावादमा अध्ययन समाप्त गरेपछि कलकत्ता फिल्म इन्स्टीच्युटमा प्रवेश गरेका सिंहलाई प्रख्यात हिन्दी सिने कलाकारहरु राजकुमार र महमूदलाई सर्वप्रथम हिन्दी चलचित्रमा खेलाउने श्रेय प्राप्त छ । लाखौ मे एक(सन् १९५५) र नादानमा राजकुमार र महमूदलाई उनले प्रथम पटक चलचित्रमा अभिनय गर्ने मौका प्रदान गरेका थिए । कलकत्ताबाट हिन्दी सिनेमा उद्योग विस्तारै बम्बईमा सर्न थालेपछि उनी बम्बईको एम.एण्ड.टी स्टुडियोसँग सम्बन्धित भए । यसै स्टुडियोबाट निर्माण गरिएको हिन्दी चलचित्र ‘नमूना’ र ‘नादान’ मा उनले निर्देशन गरेका थिए । यस चलचित्रमा प्रख्यात हिन्दी सिने कलाकार देवानन्द, मधुवाला र कामिनी कौशलले अभिनय गरेका थिए ।


२०२० सालतिर नेपालमा पनि नेपाली चलचित्र निर्माणसम्बन्धी केही उत्सुकताहरु देखिए । राजा महेन्द्र यसमा बढी उत्सुक भए । आफ्नो राजनैतिक दर्शकको पनि प्रचार हुने र सिनेमा बनाएर ऐतिहासिक काम गर्न उनी अग्रसर भएर सूचना विभागमा चलचित्र डिभिजन खडा गर्न लगाई चलचित्र बनाउने आदेश दिए । आदेश बमोजीम उनकै मार्गदर्शनमा आधारित चलचित्र ‘आमा’ बनाउने घोषणा गरियो । निर्देशनको जिम्मा हिरा सिंहले नै पाए । सार्वजनिक सूचना गरेर कलाकार छानियो । भुवन थापा, उत्तम नेपाली, हरिप्रसाद रिमाल, चैत्यदेवी, वसुन्धरा भूषाल, इन्द्रलाल श्रेष्ठ, भीमवहादुर थापा आदि कलाकार छानिए तापनि नायक भने छानिएको थिएन ।


हिरा सिंहले आफ्ना हरेक डकुमेन्ट्रीहरुमा शिवशंकरलाई नै संगीत गर्ने र गाउने अवसर प्रदान गर्थे । त्यसैक्रममा २०२१ सालतिर नेपालमै निर्माण हुन लागेको प्रथम चलचित्र ‘आमा’ को लागि गीत रेकर्डिङ गराउन हिरा सिंहसँग शिवशंकर पनि कलकत्ता गएका थिए । रेकर्डिङको काम सकेर होटलमा उनीहरु चियापान गर्दै थिए । क्यामरा म्यान देउजी भाइ र निर्देशक हिरा सिंह बीच निर्माणाधिन चलचित्र आमाका लागि नायक छनौटका विषयमा कुरा उठ्यो । केही बेरको कुराकानीपछि उनीहरुले शिवशंकरलाई उक्त फिल्ममा नायक वन्ने प्रस्ताव राखे । शिवशंकरले पनि चलचित्रको नायक नै वन्न पाउने भएपछि दंग परेर सहमति जनाए । यसको केही दिन पछाडि नै उनीहरु काठमाडौं आएर वि.सं. २०२१ सालमा चलचित्र आमाको छायाँकन गर्न थाले । सम्पूर्ण आउटडोर सुटिङ काठमाडौंमा सम्पन्न गरेर इन्डोर सुटिङ भने कलकत्तामा गरिएको उक्त चलचित्रको दौरानमा प्रथम नायक शिवशंकरले अनेकौ तितामिठा क्षणहरु विताएका थिए । प्रथम नायक बन्न पाएकोमा उनलाई वेग्लै प्रकारको आनन्द पनि आइनै रहेको थियो । प्रथम नायिका वन्न पाएकोमा भुवन थापा (चन्द) पनि गौरव अनुभव गरिरहेकी थिइन् ।


२०२२ साल असोज ५ गते यस चलचित्रको सार्वजनिक प्रदर्शन गरिएको थियो । ‘आमा’ सिनेमा लागेको सिनेमाघर रञ्जनामा दर्शकको घुँइचो बढ्यो । हिन्दी र अंग्रेजी चलचित्र नबुझेपनि हेरिरहेका दर्शकहरुलाई आफ्नै भाषामा सिनेमा हेर्नुको मज्जा अर्कै थियो । हलमा आउन छोडेका दर्शकहरु पनि हलमा आउन थाले । आमा प्रदर्शन पश्चात तत्कालिन राजा महेन्द्रबाट लौ अव हिरो पनि बनिस भनेर शिवशंकरलाई काँधमा धाप मारेको घटना उनको जीवनकै अविश्मरणीय घटना बनेर रह्यो । राजाबाट त्यतिबेला नायक नायिकालाई ५/५ हजार पारिश्रमिक दिनु भन्ने आदेश पनि भएको थियो । त्यो पाँच हजारको मूल्याङ्कन गर्ने हो भने त्यतिवेलै काठमाडौंमै चाहेको ठाउँमा २,४ रोपनी जग्गा किन्न सकिन्थ्यो । फिल्ममा खेलेवापत राजाबाट महेन्द्ररत्न आभूषण पनि पाएका शिवशंकरलाई चलचित्र क्षेत्रले नाम र दाम दुवै पक्षमा राम्रो सहयोग गर्‍यो । सफल र एकमात्र नायक हुँदाहुँदै पनि उनले आमा पश्चात चलचित्रमा अभिनय गर्ने कोसिश नै गरेनन् । त्यसपछिका उनका दिनहरु संगीत साधनामै विते ।


आमाको अपार सफलता पश्चात अर्को चलचित्र बनाउने घोषणा केही उत्साहित युवाहरुले गरे । त्यो सिनेमा थियो ‘माइतिघर’ । सत्ताइस वर्षिय भन्सार अधिकृत सीपी लोहनीले ‘माइतिघर’को नायक बनूँला भनेर कल्पनै गरेका थिएनन् । सिनेमामा लोकगीत गाउन उनी प्रदीप रिमाल, प्रेमध्वज र हर्ष डड्डोलसँगै मुम्बई पुगेका थिए । तर फर्कदा सिने नायक भएर फर्किए । शुरुमा नायक छानिएका लखनऊ निवासी भानु कुमारले निर्माता नरशम्शेरलाई सघाउने वाहेकको कुनै भूमिकै पाएनन् । चर्चित नृत्य निर्देशक गोपीकृष्ण, त्यतिबेला मुम्बईमा संघर्षरत बीएस थापा, किशोर तिमिल्सिना, गोपाल भुटानीहरु नेपाली फिल्म बनाउने कल्पना गरिरहन्थे । माला सिन्हासमेत ‘हो त नि, गर्नुपर्छ तर कथा नै छैन’ भनिरहन्थिन् । कुरैकुरामा बी एसले कथा लेखे । खेलिदिने अनुरोधसहित समूह नै मालाकहाँ पुग्यो । ‘नयाँ जमाना, धूल कि फूल, प्यासा’ जस्ता फिल्मबाट ख्यातिको शिखर पुगेकी मालाले नमान्लिन कि भन्ने आशंका थियो तर उनले ‘वाह ! म गरिहाल्छु नि’ भन्दै सबैलाई हौस्याइन् । यता काठमाडौंमा नरशमशेर जवरा र डा. जोगेन्द्र झा लगानी गर्न तयार भए । कम्पनी दर्ता भयो सुमनाञ्जलि फिल्म्स् । कथा सुन्नासाथ साहित्यकार शंकर लामिछानेले शीर्षक जुराइदिए – 'माइतीघर' ।
 

क्रमश...

 

अघिल्लो भाग हेर्न यहाँ क्लिक गर्नुहोला

नेपाली चलचित्र इतिहासको पहिलो चरण : राजाराम फुयाँल