कञ्चनपुरकी डीनाको पीडा जन्मेबाटै सुरु हुन्छ । घरमा बाबुको कुटाई, गाउँमा गाउँलेको हेपाई उनको दैनिक भोगाई हो । बाबु गोठेको दिनभर भट्टीमा बास हुन्छ । गोठे घर फर्केपछि श्रीमतीसँग पैसा माग्छन् र नदिए श्रीमती र छोरी दुवैलाई नानाभाँती गाली गर्दै थाल्छन् । रक्सी खाने खर्च बनाउन श्रीमतीलाई यौन व्यवसाय गर्न बाध्य पार्छन् । गोठेले छोरी जन्मिए लगत्तै साहुको नाममा कबुल गरिसकेका छन् । सहमति अनुसार ठुली भएपछि छोरी बुझाउने सर्तमा प्रेम साहुले गोठेलाई नियमित रक्सी खुवाउँछन् ।
यो सुदुरपश्चिम नेपालमा अझै पनि कायम रहेको बादी समुदायको वास्तविक कथा हो । भिजन नेपाल ईन्टरटेन्मेन्टका लागि रबिन्द्र बरालले निर्माण गरेको फिल्म ‘मेरो कथा’मा कञ्चनपुरको बादी समुदायको कथालाई टपक्क टिपिएको छ । बाध्यात्मक यौन पेशा अंगालेका महिलाहरुको कथालाई उतारिएको यस फिल्ममा डीना बादीको चरित्रमा गंगा बस्यालको अभिनय रहेको छ ।
बादी समुदायका वालवालिका जो घर र गाउँमा कुटाई र हेपाई मात्र होइन विद्यालयमा सहजरुपमा अध्ययन गर्न पाउँदैनन् । यस समुदायका युवतीहरु नचाहेर पनि यौन पेशा गर्न बाध्य छन्, जो चाहँदा चाहँदै पनि अन्य कुनै व्यवसायमा अघि बढ्न सक्दैनन् अनि सहजरुपमा हिडडुल गर्न सम्म पाउँदैनन् । उनीहरुले छोएको पानी चल्दैन । उनीहरुसँग बोल्दा चोखो जात पनि बिटुलो बन्छ । यहि मान्यतालाई चिर्ने प्रयास गरेको छ फिल्म 'मेरो कथा'ले ।
डीना सानै देखि मेहनती छन् । स्कुलमा सधैं प्रथम हुन्छिन् । केहि गरेर देखाउँछु भन्ने सोचाई उनमा छ । तर, जुन दिन बादी समूदायको भन्ने थाहा हुन्छ, त्यसदिन उनी स्कुलबाटै निकालिन्छिन् । केहि दिन अघि सम्म सामाजिक सद्भाव र जातीय छुवाछुतको बिषयमा पढाउने शिक्षकहरु समेत उनलाई स्कुलबाट निकाल्नमा अग्रसर हुन्छन् । डीनाकी आमाको एचआईभी पोजेटिभको संक्रमणले मृत्यु हुन्छ । बादी समूदायको भएकै कारण मृतकको सव उठाउने कोहि हुँदैन । बेसाहरा बनेकी डीना अन्ततः साहु (प्रेम थापा)को बन्धनमा पुग्छिन् । फिल्ममा उनको ईज्जत जोगाउन र यौन व्यवसायबाट टाढा राख्न विभिन्न पत्रहरु प्रयोग गरिएका छन् ।
साहुको पञ्जाबाट उम्किएकी डीना बादी महिला अधिकारवादीहरुको शरणमा पुग्छिन् । उनीहरुकै प्रेरणमा उनै डीना कञ्चनपुरको बादी समुदायमा रहेको बाध्यात्मक यौन पेशा उन्मूलन गर्दै पुर्नस्थापनाको अगुवाई गर्न पुग्छिन् । अन्ततः गाउँको सामन्तका रुपमा प्रस्तुत गरिएका प्रेम साहुलाई तह लगाउँदै बादी महिलाको उत्थान तथा पुर्नस्थापनामा उनी सफल पनि हुन्छिन् । सुकुम्बासी समूदायलाई पुर्नवासका लागि लालपूर्जा बाँडिन्छ । उनीहरु सम्मानजनकरुपमा जीवनयापन गर्न सफल हुन्छन् ।
बादी समुदायका महिलाहरुमा देखिएको यो प्रगती काल्पनिक भएपनि उनीहरुले अँगाल्दै आएको व्यवसाय र उनीहरु माथि गरिने हेपाई तथा भेदभाव भने वास्तविक हो । फिल्मको मुख्य पात्रका रुपमा प्रस्तुत गरिएकी डीना जस्तै नेतृत्वकर्ता अनि सहयोगीहरु आवश्यक छ बादी समुदायको उत्थानका निम्ति । जबसम्म बादी समूदायका महिलाहरुमा चेतनाको विकास हुन सक्दैन तब सम्म उनीहरु पछिनै परिनै रहनेछन् ।
यौन पेशामा लाग्नु बादी समुदायका महिलाहरुको चाहना नभई बाध्यता हो । गाउँका ठुला र अगुवा भन्नेहरुले नै उनीहरुलाई यौन पेशामा लाग्न बाध्य पार्ने गरेका छन् । उनीहरुलाई यस पेशा त्याग्नमा कुनै सहयोग गरिरहेका छैनन् । छोरीले यौन व्यवसायबाट पैसा कमाउने भएका कारण छोरी जन्मदा खुसी हुने गर्छन् बाबुआमाहरु । छोरीहरुले यौन बाहेकका व्यवसायबाट कमाउन सक्ने सोच यो समुदायमा कमै छ । पछिल्ला दिनमा बादी समुदायमा पनि केहि परिवर्तन आएको भएपनि पर्पाप्त छैन । किनकी उनीहरुलाई यस पेशाबाट मुक्त गराउन राज्यको प्रयास निकै कम छ ।
२०६५ पौष २३ गतेको मन्त्री परिषदको निर्णयले बादी महिलाले अपनाउदै आएको यौन पेशा उन्मुलन गरिएको घोषणा गरेपनि कार्यान्वयनमा आउन सकेको छैन । बादी समुदायका महिलाहरुलाइै यौन पेशाबाट उन्मुलन गरेको घोषणा त गरियो तर उनीहरुलाई विकल्प दिन राज्यले सकेन । केहि गैरसरकारी संस्थाहरुले बादी समुदायलाई यौन व्यवसायबाट अलग गराउँदै पुर्नस्थापनाका लागि प्रयास त गरे तर गैरसरकारी संस्थाहरुको प्रयासले पनि धेरै प्रगति भएको पाइदैन ।
निर्माता बराल सरकारको ध्यान जान नसकेको यस समुदायको उत्थानमा फिल्मको माध्यमबाट सहयोग गरेको बताउँछन् । ‘वास्तविक कथा भएका कारण फिल्मको माध्यमबाट नेपालमा अझै पनि यस्तो समस्या रहेछ भन्ने जानकारी हुन्छ’, उनले भने, ‘दर्शकको प्रतिकृया राम्रो आएको छ ।’ फिल्मले बादी समुदायलाई यौन व्यवसायबाट अलग गराउन सरकारको समेत ध्यानाकर्षण गराउने विश्वास निर्देशक देव नेपालको छ ।
फिल्ममा प्रयोग गरिएका संबाद तथा भाषाले बादी समुदायको प्रतिनिधित्व गर्छ । गोठेका रुपमा प्रस्तुत गरिएका डम्बर उपाध्यायको अभिनय शैली प्रशंसा योग्य छ । गाउँका सामन्तको भूमिकामा देखिएका प्रेम थापा, डीनाका प्रेमीको रुपमा देखाइएका अशोक धिताल र सहयोगीका रुपमा देखाइएका देव नेपालको अभियन ठिकठाक छ । बादीको कथासँगै फिल्ममा छुवाछुत प्रथाको बिरोधका साथै जातीय सद्भावका संवादहरु पनि प्रयोग गरिएका छन् । जसले फिल्म हेर्दा दर्शकलाई तताउँछ ।
बीबी अनुरागीले संगीत भरेको सुदुरपश्चिम क्षेत्रका देउडा लयका गीतहरुले फिल्मलाई थप मजबुद बनाएको छ । झट्ट हेर्दा अस्वभाविक लाग्ने आम नेपाली फिल्मका जस्तै केहि दृष्य र संवादहरु यसमा पनि छन् । कथाबस्तु राम्रो भएपनि फिल्मलाई मसलेदार बनाउने नाममा केहि कमजोरीहरु भएका छन् । प्राबिधिक पक्ष पनि त्यति बलियो लाग्दैन । दृष्य र संवादमा कमजोरीहरु देखिएपनि फिल्मले दर्शकका लागि नौलो कथा पस्किएको छ । नेपाली फिल्म उद्योगमा पछिल्लो समयमा परिवार सँगै बसेर हेर्न समेत नसकिने अश्लिल फिल्मको बाढी आइरहेको समयमा यस फिल्मले बोकेको कथाबाट केहि आशा गर्ने ठाउँ छ ।