आजकल टेलिभिजन र रेडियोमा नेपाली फिल्मका नायक, नायिका, निर्देशक र निर्माताहरुको अन्तर्वार्ता हेर्यो/सुन्यो भने सबैका मुखारबिन्दबाट दुईवटा रेडिमेड अनुरोध सुन्न पाइन्छ- ‘पहिलो नेपाली फिल्मलाई माया गर्नुहोस्, दोस्रो मैले अभिनय गरेको/बनाएको फिल्म फरक छ एकपल्ट हलमा पुगेर अवश्य हेरिदिनुस् ।’ निरपेक्ष रुपमा हेर्दा यस्ता अभिव्यक्तिमाथि टिप्पणी गरिरहनुपर्ने आवश्यकता छैन, अझ भनौँ भने सकारात्मक नै लाग्छन् । किनभने ‘नेपाली फिल्मलाई माया गर्नुस्’ भनेर अह्वान गर्नु राष्ट्रियताको भावनाले ओतपोतपूर्ण आह्वान हो । र, ‘आफ्नो फिल्म अरुको भन्दा फरक छ, हेरिदिनुस्’ भन्नु व्यवसायिक धर्म हो ।
तर, हरेक नेपाली फिल्मकर्मीको मुखैमा झुण्डिएको यो रेडिमेड आह्वान कति राष्ट्रिय भावनाले ओतप्रोत छ र यसमा कति व्यवसायिक धर्मको अंश छ भन्ने कुरा चाहिँ विश्लेषणको विषय हो । वास्तवमा फिल्मलाई माया गरिदिनुस् भनेर गरिएको याचना राष्ट्रिय भावनाका लागि होइन, न त यो देशको कला, साहित्य र संस्कृतिप्रतिको कुनै मायाले नै हो । बरु दर्शकको ‘सेन्टिमेण्ट’लाई ‘ब्ल्याकमेलिङ’ गर्ने एउटा सूत्र हो । याचना र प्रणामको कार्ड फालेर फिल्म हलमा २/४ जना बढी मान्छे जम्मा गर्न सकिन्छ कि भन्ने प्रयास मात्र हो ।
राम्रो फिल्म बनाउने हो भने हेरिदिनका लागि याचना गरिरहनै पर्दैन । फिल्ममा नेपालीपन छ भने हरेक नेपालीको मन आफैँ तानिन्छ, यदि नेपाली भावनाको दर्शक छन् भने । दर्शकमा नेपाली भावना छैन भने उसलाई कलाकार, निर्देशक र निर्माताले हजार विन्ति गरे पनि उसले नेपाली फिल्म हेर्नेवाला छैन । फिल्म हलमा दर्शक पुर्याउनलाई फिल्म यस्तो हुनुपर्छ कि हरेक दर्शकले त्यो आफ्नै कथा, आफ्नै परिवेशको कथा वा आफूले अनुभूत गरेको कथा ठानोस् । फिल्म कला भएकाले हरेक मान्छेलाई कलाले मन नतान्ने प्रश्न नै छैन । तर त्यसमा कला हुनुपर्यो । त्यसैले फिल्म चलाउने हो भने नेपाली फिल्म बनाऊनुस्, टेलिभिजन र रेडियोमा याचना र प्रणाम बन्द गर्नुहोस् ।
हुन त अहिले सबैले नेपाली फिल्म बनाएको दाबी गरिरहेका छन् । तर ती हिन्दी फिल्मका नेपाली संस्करण हुन् कि विशुद्ध नेपाली फिल्म हुन् भन्ने कुरा चाहिँ ठूलो बहसको विषय छ । कलाकारले नेपाली भाषामा ‘डायलग’ बोल्दैमा नेपाली फिल्म हुँदैन, नेपाली नागरिकता बोकेको कलाकारको अनुहार पर्दामा देखिँदैमा पनि नेपाली फिल्म हुँदैन । न त नेपालका डाँडाकाँडा खिचेकै भरले नेपाली फिल्मको दाबी गर्न सकिन्छ । नेपाली भाषा हुनु नै नेपाली फिल्मको मानक भए क्याराभान नेपाली फिल्मको कोटीमा नगनिन सक्थ्यो । नेपालीले अभिनय गर्दैमा नेपाली फिल्म हुने भए शिव श्रेष्ठले खेलेका सबै पाकिस्तानी फिल्महरु नेपाली फिल्ममा 'काउन्ट' हुन्थे । नेपालको दृश्य खिच्दैमा नेपाली फिल्म हुने भए देव आनन्दको हरेराम हरेकृष्ण जस्ता फिल्मलाई नेपाली फिल्म भनिन्थे ।
जहाँसम्म नेपाली भनिएका नेपालीले बनाएका फिल्महरुलाई माया गरिदिनुस् भन्ने याचना छ त्यो याचना कलाविहीन याचना हो । याचना गरेर माया पाइँदैन । माया गर्नलाई त माया लाग्दो हुनुपर्छ । काँडाले जति याचना गरे पनि काँडालाई कसैले माया गर्दैन । तर फूलले मलाइ माया गर भनेर याचना गरिरहनु पर्दैन । काँडा जस्ता फिल्म बनाउने अनि आफ्नो फिल्मलाई फूलको दाबी गरेर ङ्च्चि दाँत देखाएर प्रणाम गर्दैमा फिल्म चल्ने हो भने राम्रा फिल्म किन बनाउने ?
यति भनेपछि नेपाली फिल्म चाहिँ कस्तो हुन्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । नेपाली फिल्म बनाउने हो भने नेपाली भाषामा लेखिएको कथा होइन नेपालीपन भएको कथा खोज्नुस् । नेपाली नागरिकताधारी निर्देशक होइन नेपाली मन भएको निर्देशक रोज्नुस् । नेपाली डाँडाकाँडा खिचेर पुग्दैन नेपालीको भावनालाई खिच्न सक्नुस् । नेपाली पात्र मात्र भएर पुग्दैन नेपालीत्व झल्कने अभिनय गर्ने पात्र रोज्नुस् । नायकको कपाल र नायिकको नितम्बमा लोभ नगर्नुस्, अभिनयमा लोभ गर्नुस् । छायाँङ्कन अगाडि आम्दानी खर्चको हिसाब किताब भन्दा पनि कसरी फिल्मलाई राम्रो बनाउने भन्ने कुरामा अनुसन्धानमूलक वर्कशप गर्नुहोस् । यति भयो भने हलमा आफ्ना फिल्म लगाउन मसल युद्धमा उत्रिनु पर्दैन बरु हलवालाहरु नै यस्ता फिल्म आफ्नो हलमा लगाउन तँछाडमछाडमा उत्रिने छन् ।
नेपाली फिल्मको इतिहासका पानाहरु पल्टाउने हो भने केही राम्रा फिल्महरु बनेका देखिन्छन् । माइतिघर, जीवनरेखा, सिन्दूर, वासुदेव, कान्छी, कुसुमे रुमाल, सम्झना, दर्पण छायाँ, प्रेम पिण्ड जस्ता इतिहास रच्न सफल नेपाली फिल्महरुले अघिल्लो युगलाई धानेका छन् । सबैभन्दा पछिल्लो समयकै कुरा गर्ने हो भने पनि लुट, चपली हाइट, सायद, रिदम जस्ता केही फिल्महरुले ओरालो लागिरहेको नेपाली फिल्म बजारलाई केही भए पनि राहत दिएका छन् । हुनसक्तछ यी फिल्ममध्ये सबैले राम्रो व्यापार गरेनन् होला, तर राम्रो व्यापार मात्र राम्रो फिल्मको सूचक होइन । स्मरण रहोस् यी फिल्महरु न त निर्माता निर्देशकका रुवाइ र याचनाले चलेका हुन् न त नायकका लामा कपाल र नायिकाका नितम्बले नै । कुनै न कुनै रुपमा अरु फिल्मभन्दा पृथक भएर नै दर्शकको आँखामा बसेका हुन् । कुनै कलाकार, निर्देशक, निर्माताको मायाले यी फिल्म हेर्न दर्शक फिल्म हलसम्म पुगेका होइनन् ।
फिल्म भनेको कला हो । कलाविहीन दृष्य र मानिस खिच्दैमा फिल्म बन्छ भन्ने भ्रमबाट मुक्त नभई उत्कृष्ट फिल्म बनाउन सकिँदैन । फिल्म प्रविधिको प्रस्तुति होइन कलाको प्रस्तुति हो । प्रविधि भनेको त माध्यम मात्र हो । कुनै राम्रो क्यामेराको लागि फिल्म बनाइँदैन, राम्रो फिल्म बनाउनको लागि राम्रो क्यामरा प्रयोग गरिन्छ । तर, प्रविधि माध्यम मात्र भए तापनि माध्यम पनि कलालाई जीवन्तता दिन सक्ने हुनुपर्दछ भन्ने कुरामा भने दुईमत छैन । अपवाद बाहेक सामान्यतः फिल्म हलमा कुनै पनि दर्शक फिल्म कहाँ खिचिएको रहेछ, कसले खिचेको रहेछ, निर्देशन कसले गरेको रहेछ, को-को कलारकार रहेछन्, कतिवटा हेलिकप्टर उडाएको रहेछ, कतिवटा फाइट मारिएको रहेछ भनेर हेर्न जाँदैन । दर्शक एउटा पूर्ण फिल्म हेर्न जान्छ । जुन आफ्नो कथा जस्तो होस् । जसले मन छोओस् ।
फिल्म आँखामा बस्ने होइन मनमा बस्ने हुनुपर्दछ । फिल्मका निर्माता निर्देशकले बुझ्नै पर्ने कुरा के हो भने जसरी फिल्ममा प्रविधि माध्यम मात्र हो त्यसैगरी दर्शकको आँखा पनि फिल्म हेर्ने माध्यम मात्र हो । हेरिने दर्शकको मनले हो । यसकारण फिल्म आँखालाई तिरिमिरी गराउने होइन, भावनालाई उथलपुथल गराउने हुनुपर्दछ । त्यसैले निर्माता निर्देशकले राम्रो फिल्म बनाउने हो भने पहिले कला पक्षलाई ध्यान दिनुपर्दछ । अनि मात्र प्राविधिक र अन्य तपसिलका पक्षमा प्रवेश गर्नुपर्छ ।
हुन त यतिबेला ‘नेपाली फिल्मको बजार छैन, दर्शक हलमा पुग्दैनन्, बौद्धिक भनिएको जमात फिल्म नै नहेरी फिल्मको आलोचना गर्दछ’ भनेर लैबरी गाउनेहरुको पनि यहाँ ठूलै लर्को छ । तर यस्ता गुनासाहरु सुनिदिने र सहानुभूति दिने फुर्सद कसैलाई छैन, जबसम्म लैबरी गाउनेहरुले राम्रा फिल्म बनाउँदैनन् । त्यसैले गुनासो गर्ने समयलाई राम्रो फिल्म बनाउने ठाउँमा सदुपयोग गर्नुहोस् । फिल्म बनाउनु पूर्व विषयवस्तुको अनुसन्धानमा लाग्नुस् । फिल्म निर्माणका न्यूनतम कुराहरुमा कम्तिमा राम्रो ज्ञान हासिल गर्नुहोस् । फिल्म अरुको लहैलहैमा र आफ्नो आत्मरितका लागि नबनाउनुस्, आफू दर्शक भएर फिल्म बनाउनुस् । यति भयो भने कम्तिमा पनि मेरो फिल्म हेरिदिनुपर्यो भनेर याचना र प्रणाम गर्नुपर्दैन र फिल्म डुब्यो भनेर टाउकोमा हात लगाएर रुनु पनि पर्दैन ।
फोन : ९८५१०५३१२७
इमेल : [email protected]