सुरुमा भिलेनले जितेजस्तो देखिए पनि लास्टआँ हिरोले नै जिच्च ।' माओवादीबाट एमाओवादी भइसकेको कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले आफ्ना भाषण र अन्तर्वार्तामा सबभन्दा धेरै दोहोर्याउने गरेको भनाइ हो यो । निकै गम्भीर र ठूला विषय लिएर भयानक जनयुद्धको नेतृत्व गरेका प्रचण्डको छवि पछिल्लो समयमा 'रौसे' र 'गफी' नेताको बन्दै गएको छ । यसैले होला उनी गम्भीर कुरा गर्दा पनि हल्का उदाहरण पेस गर्छन् र फोकटमा जनताको मनोरञ्जन गर्छन् ।
त्यतिबेला भिलेन भन्ने चलन थिएन । अहिलेको जस्तो एन्टी हिरो वा एन्टागोनिस्ट भन्ने त सवालै पैदा हुन्थेन । हाम्रा लागि फिल्ममा जम्मा दुईटा 'क्यारेक्टर' हुन्थे कि हिरो कि गुन्डा । साइड हिरो, हिरोइन, हिरो-हिरोइनका बाउआमा भन्ने तपसिलका कुरा भए । हिरोइनले महत्त्व पाउन थालेको अलि पछि हो । लभ गर्ने तर फाइट नखेल्ने ऋषि कपुर टाइपका हिरोको हाम्रो नजरमा 'दुई कौडी'को इज्जत थिएन । दुई/चार फाइट नभएको फिल्मले हाम्राे सेन्सरबाट सर्टिफिकेट पाउनु मुस्किल थियो ।
मिथुन चक्रवर्ती, सञ्जय दत्त, अजय देवगन, सनि देओल, अक्षय कुमार, सुनिल शेट्टी हाम्रो लिस्टमा 'ए' ग्रेडका हिरो थिए । कहिलेकाहीं फाइट खेल्ने अनिल कपुर, गोविन्दा, जैकी श्राफ, सलमान खान, नाना पाटेकर 'बी' ग्रेडका । ऋषि कपुर, आमिर खान, शाहरुख खानजस्ता लभस्टोरीवाला हिरोलाई हामी गन्थेनौं । हिरो जोसुकै भए पनि फिल्ममा गुन्डा को छ भन्ने प्रश्न जहिल्यै सोधिन्थ्यो । गुन्डा गतिलो भयो भने फिल्ममा फाइट धेरै हुन्छ, हेर्न मजा हुन्छ भन्ने थ्योरी थियो ।
सबभन्दा खतरनाक गुन्डा थिए- अमरिस पुरी । बूढो तर अग्लो ज्यान, मोटो आवाज, ठूला आँखा र डरलाग्दो अनुहार ! अमरिस पुरीको गर्जन आएपछि सातो जान्थ्यो । अलि च्याँसे हिरो छ भने हातले सिट समाएको समाएै । कुनै फिल्ममा अमरिस पुरी गुन्डा नभएर साइड हिरो छन् भने आनन्द लाग्थ्यो । अमरिस पुरी नभएपछि अरू गुन्डालाई हिरोले सजिलै जित्छ भन्ने लाग्थ्यो ।
दमौलीका हलमा प्रायः पुराना फिल्म चल्थे । अहिलेजस्तो नयाँ फिल्म त्यही साता चल्ने चलन थिएन । त्यसैले पहिले नै हिट भएका फिल्म पछि आउँथे । त्यस्तै कुनै फिल्ममा पहिलोपल्ट गुल्सन गब्बर -ग्रोबर) देखिए । प्रायः गोविन्दाका फिल्ममा यिनी गुन्डा हुन्थे । फोक्से मासु भरिएका गोविन्दाभन्दा गुल्सन हेन्डसम लाग्थे । त्यहीताका होला कुनै फिल्ममा डेनी डेन्जोङपा खतरनाक भिलेन भएर आए । पछि थाहा भयो, यिनले त नेपाली फिल्म पनि खेलेका रैछन् । अझै पछि थाहा भयो फिल्मफेयर अवार्डमा सबभन्दा धेरै साइड हिरोको अवार्ड पाउनेमा अमरिस पुरी र यिनै डेनी रैछन् । तर, रोलचाहिँ डरलाग्दो गर्ने । यीसँगै थुप्रै गुन्डा हेरियो- शक्ति कपुर, मोहनिस बहल, सुरेश ओवेराय आदि आदि ।
अलि पछि थाहा भयो- सबभन्दा खतरा गुन्डा त गब्बर सिंह रैछ । 'शोले' हेरेपछि अमजद खान भयंकर गुन्डा लाग्यो । अजित, अनुपम खेर, कादर खान, सदासिव अमरापुरकर, रजा मुराद, किरण कुमार, परेस रावल, प्राण र प्रेम चोपडाजस्ता गुन्डालाई फिल्म पर्दामा खुब हेरियो । कादर खान, परेस रावल, अनुपम खेर र शक्ति कपुर गुन्डाभन्दा कमेडियन राम्रा लाग्थे । केही गुन्डा नेपाली फिल्ममा पनि हेरियो । सुनिल थापा, मुरलीधर, रमेश बुढाथोकी, सुशील पोख्रेल, मुकुन्द थापाजस्ता भिलेन हेरियो ।
जति तगडा भिलेन त्यति खतरा हिरो । यो फर्मुला त्यति बेला पनि थियो, अहिले पनि छ । पछिल्लो समय हिन्दी फिल्म फेरि हिरो गुन्डाकै कथामा फर्किएको छ । अचेलका फिल्ममा भिलेनलाई व्यापारी वा नेताजस्ता चरित्रमा होइन, सोझै गुन्डा नै बनाउन थालिएको छ र हिरोलाई पुलिस । जुँगामुठे पुलिस अगाडि अजंगका गुन्डा खडा गरेर केही थान फर्निचर भाँचेपछि बक्सअफिसमा पैसा फल्छ भन्ने सिद्धान्त सुपरहिट भएको छ । त्यसैले पुलिसवाला चाहे सलमान खान होस् वा अजय देवगन, फिल्म चाहे 'वान्टेड' होस् वा 'सिंघम' भिलेन चाहिँ प्रकाश राज हुनुपर्छ ।
हिरो गुन्डाको यो कथामा बीचमा एउटा ट्विस्ट आयो । हिरोजति भटाभट गुन्डा बन्न थाले । फिल्मफेयर अवार्डमा लगातार तीन वर्ष एक्सन हिरोहरू अक्षय कुमार, सुनिल सेट्टी र अजय देवगनले भिलेनको अवार्ड पाए । शाहरुख खानले त्योभन्दा केही वर्ष पहिले नै यो अवार्ड पाएका थिए । हेर्दा हेर्दै मुस्तन्डे हिरोहरू त हिरोइनका लागि आँसु बगाउने भएर निस्किए । यी सबै एक्सन हिरो कि त रुने कि त अँध्यारो कोठामा बसेर षड्यन्त्रको तानाबाना बुन्ने चरित्रमा देखापर्न थाले । फाइट खेल्न यिनले पैसा दिएर गुन्डा लगाउन थाले । हुँदाहुँदा आमिर खान र सैफ अलि खानजस्ता लभ गर्ने हिरो पनि भिलेन बन्न थाले ।
गब्बर सिंह, मोग्याम्बो, डाक्टर ड्याङ, साकाल जस्ता अचम्म र अजंगका नाम भएका भिलेन हराए । यिनका ठाउँमा भिलेनको नाम पनि सामान्य हुन थाल्यो- राज, विक्रम आदि । हेर्दैमा हिरो र भिलेन चिनिने जमाना गयो । चकलेटी हिरोहरू भटाभट भिलेन बन्न थाले । त्यो पनि फिल्मको अन्तिममा भिलेन रैछ भन्ने थाहा हुने । आफताव सिवदसानी, फरदिन खान, अक्षय खन्नाजस्ता भर्खरका हिरो पनि भिलेन बने । विस्तारै फिल्ममा भिलेन देख्दा डर लाग्न छोड्ने भयो ।
फाइट खेल्ने हिरोहरू एकाएक गुन्डासँग होइन हिरोसँग नै भिड्न थाले । फिल्ममा दुइटा हिरो आउन थाले, एउटा हिरो एउटा भिलेन । यता शुद्ध र सफा चरित्र भएको, पवित्र उद्देश्य बोकेको, दुःखी-गरिबको सधैं मद्दत गर्ने, प्रेमिकालाई आत्मिक मात्र प्रेम गर्ने दैहिक प्रेमको लालसा नभएको, सुकुमार हिरोबाट हिरोको पनि पतन यात्रा सुरु भयो । अनि त करेन्ट लगाएको खोलाबाट माछा हराएजस्तो फिल्मबाट पुराना 'गुन्डा' हराउन थाले । अमरिस पुरीदेखि मोहनिस बहलसम्मका गुन्डा लापत्ता भए ।
एक्सन हिरोमा पनि म अजय देवगनको फ्यान थिएँ । केही वर्षअघि भटाभट यस्ता फिल्म आए जसमा अजय देवगनले पिटाइ खान थाले । एक्लैले २०-२५ गुन्डा ढाल्ने अजय देवगनको पmलाइङ किक कतै उडेर गयो । 'खाकी' भन्ने फिल्ममा त तुषार कपुरजस्तो लुते हिरोले अजय देवगनलाई उडाइदियो । अहिले एकथरी हिन्दी फिल्मबाट हिरो र गुन्डा दुवै गायब हुन थालेका छन् । अब दुवै एउटैमा आउन थालेको छ । हिरोको अहिलेको प्याकेजिङमा तरकारीमा नुन मिसिएझैं हिरोमा भिलेन बिलिन हुन थालेको छ ।
रणवीर सिंह, धनुष, अर्जुन कपुर, सुशान्त सिंह राजपुत र आदित्य रोय कपुरजस्ता नयाँ हिरोहरू 'चिसा भिलेन' बनेर देखिन थालेका छन् । हेर्दा यी सबै चकलेटी छन् । झुस्स दाह्री पालेर यिनले मनभित्र कतै उदास कुनो रहेको पनि देखाउँछन् । तर, यिनले प्रायः चरित्रमा कहींकतै खोट भएको पात्रमा बढी अभिनय गर्न थालेका छन् । पहिलेको जस्तो सर्वगुण सम्पन्न वा परिस्थितिले बाध्य बनाएर खराब भएको भिलेन यी होइनन् । पछिल्लो समय आएका हिन्दी फिल्महरू 'लुटेरा', 'रांझना', 'इशकजादे', 'आशिकी-२' वा 'शुद्ध देशी रोमान्स' हेर्ने हो भने यिनमा हिरो र भिलेन एउटै पात्र छन् ।
फिल्मी शब्दमा 'ग्रे सेड्स' भएका भनिने यस्ता चरित्र जसले कि हिरोइनलाई धोका दिन्छ, कि ठग्छ कि कुनै अनैतिक काम गर्छ तर आफूलाई दोषी मान्दैन । राम्राराम्रा हिरोइनसँग प्रेम गरे पनि यी हिरोहरू तिनका प्रति सधैं बफादार रहलान् भन्ने कुनै ग्यारेन्टी गर्न सकिँदैन । यस्ताको बोलबाला अहिले पर्दाभरि छ । पर्दा बाहिरको संसारमा पनि सायद अचेल यस्तैको बोलबाला छ । एउटा मान्छे फिल्ममा देखाइजस्तो सबै कुरामा 'पर्फेक्ट' हुँदैन । यसैले होला फिल्ममा पनि 'पर्फेक्ट' हिरो देखाउन छोडिएको छ, यसको सट्टा कमजोरी सहितको हिरोले लिएको छ ।
भिलेनसँगै हिन्दी फिल्ममा अचेल कमेडियनको काम पनि हिरोले नै गर्ने भएको छ । जोनी वाकर, महमुद हुँदै जोनी लिवर र परेस रावलसम्म हिन्दी फिल्ममा कमेडियन जहिले पनि महत्त्वपूर्ण रहँदै आएका थिए । तर, अचेल कमेडी पनि हिरोले नै गर्छन् । पहिले गोविन्दाजस्ता एक/दुई हिरोले मात्र कमेडी गर्थे । अहिले सबै एक्सन हिरो कमेडी गर्छन् । अक्षय कुमार र अजय देवगन दुई ठूला एक्सन स्टारहरू अहिले कमेडी फिल्ममा सबभन्दा बढी चलेका छन् ।
राजनीतिमा पनि कतिखेर कुन नेता हिरोबाट भिलेन बन्छ थाहा हुँदैन । कति त हिरो बन्दा बन्दै जोकर बनिसकेका हुन्छन् । फिल्म र राजनीतिको पटकथा करिब उस्तै हुँदो रैछ । यता फिल्मबाट गुन्डा हराए, उता राजनीतिमा हिरो हराउन थाले । हिरोको गुन्डामा रूपान्तरण राजनीति र फिल्म दुवैमा बडो सौहार्दपूर्ण तरिकाले कसैले थाहा नपाई भइरहेजस्तो लाग्छ । फिल्ममा त को हिरो हो को गुन्डा फिल्म सकिँदा थाहा हुन्छ, राजनीति कहिल्यै सकिँदैन । सायद, यसैले हिरो र भिलेन चिन्न समय लाग्छ ।
साभार : कान्तिपुर दैनिक