लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा आफ्नो अमुल्य योगदान दिदै आउनु भएका नायक, निर्माता तथा नृत्य निर्देशक दिलिप रायमाझी अहिले चलचित्र "मेरो प्यारो माईतिघर" मा ब्यस्त हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग फिल्मीखबर डटकमले गरेको बिषेश कुराकानी -
चलचित्र "मेरो प्यारो माईतिघर" कस्तो खालको चलचित्र हो ?
- यो एउटा परिवारिक पृष्ठभुमीमा रहेर बनेको प्रेमकथामा आधारित यथार्थबादी चलचित्र हो ।
यो चलचित्रमा तपाईको अभिनय कस्तो छ ?
- गाँउमा खरी ढुङ्गाको व्यापार गरेर बसेको हुन्छु र व्यापारको सिलसिलामा म सहर जान्छु र त्यहाँ गएपछि मेरो सहरिया केटीसँग माया प्रिति बस्छ । अनि म आफ्नो मायाले उसलाई जित्छु र बिबाह गरेर घर ल्याउछु । त्यसपछि सुरु हुन्छ एउटी सौतेनी आमा, सौतेनी सासु, श्रीमती अनि बुहारी बिचको द्वन्द ।
यो चलचित्र नेपाली समाजमा कत्तिको यथार्थ परक बन्ने छ ?
- यो चलचित्रमा कुनै चोरेको कथा प्रयोग गरिएको छैन । हाम्रो समाजमा भैरहने यथार्थ घटनालाई यसमा प्रस्तुत गर्न खोजिएको छ ।
चलचित्र अबधिभर आफ्नी श्रीमतीलाई कत्तिको माया गर्नुहुन्छ र उनिबाट कत्तिको माया पाउनु हुन्छ ?
- बास्तबमा श्रीमतीले मलाई हरेक ठाउँमा जोगाई राखेको हुन्छ । तर मैले बुझिरहेको हुन्न । म आफ्नी सौतेनी आमालाई अन्धो पाराले बिश्वास गरेको हुन्छु । अन्तत: मलाई अनुभव हुन्छ कि मेरी श्रीमती नै सहि रहिछ र मेरी सौतेनी आमाले मलाई फसाउन खोजेकी हुन्छिन् । अन्तमा मैले आफ्नी श्रीमतीलाई बुझेर माया गर्न थाल्छु ।
चलचित्रको कथाबस्तु बाहेक अन्य पक्ष कत्तिको शसक्त छ ?
- हेर्नुस अहिले हामी छायाँकनको क्रममा छौं ।त्यसैले मैले अहिलेनै यस्तै छ भन्न सक्ने अवस्थामा छैन । तर अहिले सम्म जे जति गर्दै छौ राम्रो गर्दै छौं । अब राम्रो नराम्रो चलचित्रको प्रिमियरको दिन तपाईंलाई भनुला ।
निर्देशक उदय सुब्बाजीलाई तपाईंले कसरी मुल्याङकन गर्नु भएको छ ?
- उहाँसँग यो मेरो चौथो चलचित्र हो । मैले बुझे सम्म उहाँ एक 'भर्सटाईल' व्यक्ति हुनुहुन्छ । उहाँमा कलाकारमा हुने खुबि, नृत्यनिर्देशनमा हुने खुबि, संगितकारमा हुने खुबि र निर्देशकमा हुने खुबि छ । त्यसैले उहाँसँग काम गर्न पाउनु मेरो भाग्य पनि हो र उहाँसँग काम गर्न पनि सजिलो हुन्छ । उहाँले हामी कलाकारलाई राम्रोसँग बुझ्न सक्नुहुन्छ । उहाँ मेरो लागि अध्ययन हो र म अध्ययन गर्दै छु ।
उदय सुब्बाले त लगातार चलचित्र निर्देशन गर्दै आउनु भएको छ र उहाँको चलचित्र प्रदर्शन पनि भएको छैन तर पनि चलचित्र प्रदर्शन भन्दा निर्देशन तिर बढि ध्यान दिनु भएको छ । यसरी चलचित्र प्रदर्शन नगर्दै लगातार निर्देशन गर्नु राम्रो हो र?
- फलामलाई जति धार लगायो नि त्यति नै धारिलो हुदै जान्छ । सिनेमामा पनि जति बढी काम गर्दै गयो त्यति नै बढी ज्ञान बढ्दै जान्छ । त्यसैले उदयजी तिखारिदै जानु भएको छ ।
यो भन्दा अगाडी उदय सुब्बकै चलचित्रमा नायिका झरना थापासँग अभिनय गर्नुभएको छ र अहिले पनि झरनासंग नै देखिनु भएको छ । निर्देशकले तपाईं २ जनालाई नै किन जोडीको रूपमा प्रस्तुत गर्नुभएको होला ?
- झरनाजीसँग मैले यो भन्दा अगाडी धेरै चलचित्रमा काम गरेको छु र उहाँसंगको चलचित्र पनि प्राय हिट भएका छन् । झरनाजीसँग मेरो हरेक कुरा मिलेको हुन्छ । उहाँले मेरो ईशारा बुझ्नुहुन्छ र मैले पनि उहाँको ईसारा बुझ्छु । त्यसैले हामीलाई काम गर्न पनि सजिलो भएको छ । त्यही भएर नै होला निर्देशकले हामी दुईलाई नै रोज्नु भएको ।
नेपालका नायिका मध्य तपाईलाई कोसँग अभिनय गर्दा सजिलो हुन्छ र आनन्द आउँछ ?
- सबै नायिकाहरू सक्षम र राम्रा छन् त्यसैले सबै सँग काम गर्दा सजिलो,रमाईलो र आनन्द हुन्छ ।
चलचित्र निर्माता त हुनु भयो तर सफल हुनुभएन किन होला ?
- (लामो सास फेर्दै) ज्यादै गार्हो प्रश्न गर्नुभो । मैले निर्माण गरेको चलचित्र 'हामी तीन भाई' राम्रो त बनेको थियो तर प्रदर्शनको समय नमिलेर असफल हुन गयो तर पनि म आफ्नो चलचित्रबाट सन्तुष्ट नै छु । यसले गर्दा मलाई बुझ्ने अवसर पनि प्रदान गरेको छ ।
चलचित्र निर्माण गरिसके पछि प्रदर्शन गर्न कत्तिको दु:ख भोग्नुपर्यो ?
- त्यही समस्यासँग जुध्न नसकेर नै आज म असफल भएको छु ।
कस्ता खालका चलचित्र निर्माण गर्न पाए हुन्थ्यो जस्तो लागेको छ ?
- मैले निर्माण गर्ने चलचित्र कमेडी र माया प्रेमका नै हुने गर्छन् । अब चलचित्र निर्माण गर्दा बिदेश बस्ने नेपालीहरूलाई मध्यनजर गरेर निर्माण गर्नेछु र शुटिङ पनि बिदेशमै गएर गर्नेछु ।
चलचित्रमा अभिनय गर्न तपाई आफूले आफ्नो शरिर प्रति त्यती ध्यान नदिएको जस्तो लाग्छ । किन अल्छि बन्नु भएको ?
- व्यस्तताले गर्दा आफ्नो शरिरलाई ध्यान दिन पाएको छैन र म अलि अल्छि पनि छु।
कस्ता खालका चलचित्रमा अभिनय गर्ने रहर छ ?
- मलाई पहिला नै गरिसकेको भुमिका पुन: दोहोर्याउन मन लाग्दैन । काम गर्ने हो जसरि पनि सकिदिउ जस्तो लाग्छ । अलि फरक खालको भुमिका, जस्तो काम गर्न अलि कठिन होस् तर काम गर्दा मजा आओस् त्यस्ता खालका भुमिकामा प्रस्तुत हुन मन लाग्छ र काम गर्ने जाँगर पनि हुन्छ ।
फुर्सदको समयमा के गर्न मन पराउनु हुन्छ ?
- फुर्सद त कमै मिल्छ तर पनि फुर्सदको समयमा आफ्नो परिवारसँग बस्न, साथीभाईसँग घुम्न, टिभि हेर्न, किताब पढ्न, नयाँ-नयाँ ठाउं घुम्न जान मन लाग्छ ।
प्रतिक्रियाको लागी :- [email protected]