
करिब १२ बर्षको चलचित्र करिअरलाई बीचमै रोकेर २००५ मा अमेरिका प्रस्थान गरेकी नायिका पूजा चन्द अमेरिकाको लामो बसाई पछि अहिले नेपालमा छिन् । करिब १ दर्जन टेलिचलचित्र त्यतिकै सख्यामा विज्ञापन र झण्डै ३६ वटा चलचित्रमा अभिनय गरिसकेकी नायिका पूजा टेलिचचित्रमा प्रख्यात भईसकेपछी १७ बर्षअघि उनले राजेन्द्र शलभले निर्देशन गरेको चलचित्र भाउजुमा सानो अभिनय गरिन । त्यसपछी भीष्म प्रतिज्ञामा र सोलो हिरोइन रूपमा छोरी बुहारी मार्फत आफुलाई नायिकाको रूपमा स्थापित गरेकी थिईन् । उनले पछिल्लो पटक खेलेको चलचित्र मनको टुक्रा थियो जुन चलचित्रलाई बिजय रत्न तुलाधारले निर्देशन गरेका थिए । एक महिने विदा मिलाएर नेपाल आएकी पूजासँग फिल्मीखबरले गरेको ताजा कुराकानी -
नेपाल आउनुको मुख्य कारण ?
आमा, आफ्ना पूराना साथीभाई र आफन्तलाई भेट्न आएको हो ।
अनि अमेरिका जानुको कारण ?
मेरी छोरीको भबिष्यको लागी म अमेरिका गएकी हुँ ।
लाखौं नेपालीहरू स्वदेशमा नै भविष्य बनाई रहेका छन् । कतै नेपाली चलचित्र प्रति वितृष्णा जागेर अमेरिका पस्नु भएको त हैन ?
हैन हैन । म अमेरिकामा रहँदा नेपाली चलचित्रलाई धेरै मिस गर्थें । जान मन नहुँदा नहुँदै पनि छोरीको लागी अमेरिका जानु परेको हो ।
अमेरिका नछोड्ने नै हो त ?
छोरीको भबिष्य निर्धारण गरेर अबको केहि बर्षमा अमेरिका नजाने गरी नेपाल फर्कन्छु र नेपाली चलचित्रलाई निरन्तरता दिन्छु ।
अब नेपाली चलचित्रमा तपाईको खाँचो छ जस्तो लाग्छ र ?
दर्शकहरूले अझै पनि पूजा चन्दलाई माया गर्नुहुन्छ जस्तो लाग्छ । उहाँहरूको मायाले मलाई पुन: नेपाली चलचित्रमा तान्दै ल्याउनेछ ।
अमेरिका जानु अघिको पूजा चन्द र अहिलेको पूजा चन्दमा भिन्नता ?
परिपक्व भएकी छु । असल आमा बन्ने कोसिस गरेकी छु तर नेपाली चलचित्र प्रति अझै लगाव घटेको छैन ।
नेपाली चलचित्र कत्तिको हेर्नुहुन्छ ?
अमेरिकामा त खासै नेपाली चलचित्र हेर्न पाईन्न । पछिल्लो पटक भुवन केसीको म तिमी बिना मरिहाल्छु हेरेकी थिएँ तर नेपाली चलचित्रलाई निकै मिस गर्थें । फिल्म हेर्न नपाए पनि समाचारहरू भने हरेक दिन पढ्ने गर्छु ।
नेपाल आउनु भएको छ । नेपाली फिल्म हेर्ने कत्तिको रहर छ ?
समयले भ्याएसम्म म रहुन्जेल प्रदर्शन हुने सबै नेपाली चलचित्र हेर्छु ।
नेपाली चलचित्रलाई कसरी हेर्नुहुन्छ ?
अहिलेसम्म बनेका नेपाली चलचित्रहरूबाट म सन्तुष्ट छैन । किनकी चलचित्र निर्माण गर्नु पूर्व कुनै होमवर्क हुँदैन । मलाई लाग्छ चलचित्र पहिला टेबलमा बन्नु पर्छ अनि मात्र स्पटमा । त्यसैगरी चलचित्रमा कलाकार हाबी हैन, कथा भित्रको पात्र हाबी हुनु पर्छ । यहाँ त कथाको पात्र भन्दा पनि त्यो पात्रलाई निभाउने कलाकारको हाबी देखिन्छ । अझ नायिकाहरूले बनाएको चलचित्रमा त उनीहरूकै हाबी हुन्छ ।
त्यसो भए तपाईंले अब राम्रो चलचित्र निर्माण गर्न सक्नु हुन्छ ?
म नेपाली चलचित्र निर्माण गर्न सक्ने भईसकेकी छैन र निर्माण गर्ने सोच पनि छैन ।
छोरी हुँदा हुँदै पनि एक्लो महसुस हुन्न ?
त्यस्तो एक्लो महसुस त खासै हुँदैन तर पनि कहिले काहीं आफूसँग केहि नभएको फिल हुन्छ ।
कहिले सम्म एक्लै बस्ने त ?
मलाई माया गर्ने र मेरो भावना बुझ्ने साथीको खोजीमा छु ।
अमेरिकामा रहँदा सबैभन्दा बढि मिस कस्लाई गर्नुभयो ?
नेपाली चलचित्र र नेपाली चलचित्रमा बामे सर्दै गर्दाको पललाई मैले धेरै मिस गर्थें ।
अन्तमा ?
नेपाली दर्शकले राम्रो चलचित्र हेर्न पाउन् र नेपाली चलचित्रको बजार राम्रो बनोस् । मेरो शुभकामना !