गुरुकुल नाटक घरमा बसेर अभिनयको प्रशिक्षण लिएका सौगात मल्ल वर्तमान फिल्मी बजारका व्यस्त कलाकार हुन् । केही साता अघि मात्रै ‘मुखौटा’ फिल्मको सुटिङ सकाएका सौगात दुई फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेका छन् । निश्चल बस्नेत निर्देशित ‘लुट’ मा निभाएको ‘हाकु काले’ को भूमिका हिट भएपछि सौगातको व्यस्तता बढेको हो । ‘लुट’ अघि सौगातले ‘कागबेनी’, ‘दासढुङ्गा’, जस्ता फिल्ममा मन छुने भूमिका निभाएका थिए । तर पनि ‘लुट’को ‘हाकु काले’ सौगातको परिचय बन्यो । अभिनयका आरोह अवरोहको बारेमा उत्सव रसाईलीले फिल्मीखबरका लागि सौगातसँग कुराकानी गरेका छन् ।
अभिनय थालेको लामो समयपछि हिट ‘हाकु काले’ बाट हिट हुनुभयो ? पर्खाई त लामै भयो नी हैन ?
म हरेक भूमिकाबाट राम्रो हुने सम्भावना देख्थें । तर, हिट हुन ‘लुट’ को हाकु काले नै कुर्नुपर्यो । हाकु भन्दा पनि ‘लुट’ पुरै फिल्म हिट छ । अर्को कुरा यदि मैंले कमर्सियल फिल्म खेलेको भए चाँडै हिट हुन सक्थें होला । मान्छेले सोच्ने खालको फिल्म हेरुन् भन्ने मेरो चाहना हो । मेरो फिल्ममा समाजको कुनै पात्र देखियोस् भन्ने मेरो चाहना हो ।
बिचमा तपाईँले ‘के यो माया हो’ भन्ने कमर्सियल फिल्म पनि खेल्नु भयो नि ?
कर्मसियल फिल्म खेलेर मलाई सबैले चिनुन् र मेरो अरु फिल्म हेरुन् भनेर मैंले यो फिल्म खेलेको थिएँ । र, मेरो आँकलन सही पनि थियो । धेरैले ‘के यो माया हो’ फिल्म हेरेरै मेरो अन्य फिल्म हेरेको पाएँ । तर, कर्मसियल फिल्मै नखेल्ने भन्ने चाहिं भनेको होइन । मलाई नाच्न धेरै मन पर्छ । म कर्मसियलमा पनि राम्रो गर्न सक्छु ।
तर, तपाई सिमित दर्शकको मात्रै कलाकार हुनु भयो भन्ने आरोप छ नि ?
नेपालका धेरैजसो कर्मसियल फिल्ममा स्क्रिप्ट नै कमजोर हुन्छ । मलाई कथा कमजोर भएको फिल्ममा अभिनय गर्न उचित लाग्दैन । मेरो प्रयास नै यही हो । म नेपाली फिल्म नहेर्ने कम दर्शकलाई फिल्म हलमा तान्न चाहान्छु ।
किन कम दर्शकको कलाकार हुन चाहेको ?
कुनै पनि कलाकारले गर्दा फिल्म हिट हुँदैन । यदि ‘लुट’ फ्लप भैदिएको भए मलाई कसैले पनि चिन्ने थिएन । फिल्म हिट हुन हरेक पक्ष उत्कृष्ट हुनुपर्छ । जस्तै ‘लुट’ हिट हुनुमा हाकु कालेको मात्रै हात थिएन । ‘लुट’ को निर्देशकिय पक्ष नै उत्कृष्ट थियो ।
अहिले त धेरैले चिन्छन् तर पनि साधारण पोशकमै हिड्नु हुन्छ, बाइकसम्म पनि चढ्नु हुन्न । किन यस्तो ?
यसमा स्वभावकै कुरा आउँछ । मलाई बाह्य रुपमा भन्दा पनि भित्री रुपमै परिवर्तन आउनु पर्छ जस्तो लाग्छ । फेरी मलाई कपडा, मोटर र मोबाईलमा त्यति सोख छैन । मलाई ठूलो घरसँग मतलब छैन । कामसँग मतलब छ । मेरो फिल्मले धरहरा, टेम्पो र गल्लीको कथा भन्छ । म कहाँ बाइक चढ्न सक्छु ? कहाँ ठूलो घरमा बस्न सक्छु ?
हिरो भएछि त घरै नभएपनि फ्ल्याटमा बस्ने गाडी चढ्नु पर्छ भन्ने ट्रेन्ड छ नि ?
ऋण लिएर अरुलाई देखाउन बंगला किन्नु मलाई राम्रो हो जस्तो लाग्दैन । फिल्ममा कथा चाहिं झुपडीको भन्ने अनि आफ्नो दैनिकी चाहिं बंगलामा बिताउने ? मलाई त्यस्तो जिन्दगी ठिक लाग्दैन । यदि मैले फिल्ममा बाबुको भूमिका निभाउँदै छु भने म घरमा कसरी बाबुको छोरो भएर बसुँ ? त्यसैले म एउटा कोठामा एक्लै बस्छु जहाँ मैंले फिल्मको क्यारेक्टर अनुसार आफुलाई कल्पना गर्न पाऊँ ।
तपाइले के लाग्छ तपाइले भनेका यी कुरा व्यवहारिक छन् ?
यो आफ्नो स्वभावको कुरा हो । म सानोदेखि नै यस्तै स्वभावको थिएँ । मैले कहिले पनि फिल्म खेलेर पैसा कमाउने सोच राखिन । फिल्म खेल्छु भन्ने मात्रै सोच राखे । अहिले फिल्म खेलेर केही पैसा पनि कमाउँछु । म जति कमाउँछु यसमै खुसी छु । घर किन्ने सपना छैन । मेरो अवस्थाबाट घरका सदस्य पनि खुसी छन् ।
तपाइको स्वभावकै कुरा गर्रौं । तपाईं कम बोल्नुहुन्छ । फिल्म लाइनका व्यक्तिसँग त्यति घुलमिल गर्नु हुन्न । किन ?
यो मेरो पहिलेदेखिकै बानी हो । पहिल्यै देखिको बानीलाई म किन परिवर्तन गरुँ ? मेरो कारणले कसैलाई नराम्रो नहोस् । म एउटा कलाकार हुँ । सबैसँग घुलमलि हुने हो भने काम चाहिं कुन समयमा गरुँ ? म चाहन्छु, अरुलाई म होइन मेरो काम मन परोस् । फेरि मलाई भिडभाडमा भन्दा पनि एक्लै कोठामा बस्न मन पर्छ ।
तपाइका प्रायः फिल्ममा भूमिका पृथक भूमिका हुन्छ । रिलिजको क्रममा रहेको ‘फिटकिरी’मा चाहिं तपाईंको भूमिका कस्तो छ ?
‘फिटकिरी’मा मेरो ईन्स्पेक्टरको भूमिका छ । ईन्स्पेक्टरको व्यक्तिगत र व्यावसायिक जीवनमा आउने उतार चढाव फिल्मको विषय हो ।। मेकिङका हिसाबले ‘फिटकिरी’उत्कृष्ट बनेको छ ।
बिहे गर्ने उमेर त कट्नै लाग्यो नि ?
तत्कालै बिहे गर्ने कुनै सोच छैन । बिहे गर्यो भने घरका सदस्य पनि खुसी हुन्थे होला । तर म चाहान्छु बिहेले मेरो कामलाई बाधा नपुर्याओस् ।
त्यही भएर तपाइको प्रेम पनि असफल भएको रहेछ, होइन ?
म यस्तो विषयमा कुरै गर्न चाहन्न । म आफ्नो कामलाई पहिलो प्राथमिकतामा राख्ने व्यक्ति हुँ ।