प्रियंका कार्की पछिल्लो समय रूचाईएकी अभिनेत्री हुन् । अभिनय र काम गर्ने शैलीले सबैको मन जित्दै गएकी प्रियंकाका यो बर्ष आधा दर्जनभन्दा बढि फिल्म रिलिज भए । सफलता ? शून्य जस्तै छ । उनको व्यस्तता भने ज्यादै छ ।

फिल्म सफल हुनु र नहुनुसँग प्रियंकाको सम्बन्ध हुँदैन । 'आफूले पाएको भूमिकामा न्याय गर्न सक्छु, फिल्म हिट र फ्लप हुनुको ग्यारेन्टी म लिन सक्दिन', प्रियंकाले भनिन्, 'म आफूले पाएको चरित्रको मात्र ग्यारेन्टी लिन सक्छु ।'
आउँदो शुक्रबारबाट रिलिज हुन लागेको फिल्म 'माला' पनि चल्ने नचल्नेको ग्यारेन्टी उनी लिन सक्दिनन् । फिल्मको शिर्ष भूमिका निर्वाह गरेकी प्रियंकाले भनिन्, 'म एक्लैले फिल्म हिट हुने ठेक्का लिन सक्दिन।' उनले 'माला' चल्न सक्ने सम्भावना भने देखेकी छिन् ।
फिल्ममा 'प्यासिनेट' भएका व्यक्तिहरूले मिलेर बनाएको हुनाले 'माला' राम्रो बनेको भनाई राख्दै उनले थपिन्- 'प्यासनले बनाएको फिल्म असफल हुन्छ जस्तो लाग्दैन ।' उनले 'माला'लाई प्रयोगात्मक फिल्म भन्दै यो आफ्नो लोभलाग्दो फिल्म बनेको सुनाईन् ।
दरवारमार्गको एक रेस्टुरेन्टमा गफिदै प्रियंकाले 'माला' जो कोहीले बनाउन नसक्ने फिल्म भएको दाबी गरिन् । यस्तै उनले यो फिल्ममा निर्वाह गरेको भूमिका फर्केर नआउने भन्दै निर्माण टिमले गरेको विश्वासलाई खेर जान नदिई काम गरेको बताईन् ।
'माला' सुनिएको कथा भन्दै प्रियंकाले प्रस्तुती भने भिन्न रहेको दाबी गरिन् । फिल्ममा उनले बोलेको सुन्न पाईंदैन । आवाज सुन्न नपाएपनि दर्शक आफ्नो चरित्रमा रमाउने उनको भनाई छ ।
'जीवनमा कहिले हुन नसक्ने चरित्र पाएँ । त्यसलाई च्यालेञ्जको रूपमा स्विकारें । यस किसिमको भूमिका पाउनु मेरो भाग्य पनि हो', प्रियंकाले खुसी व्यक्त गरिन् ।
.jpg)
यता फिल्मका निर्देशक सुदीप भूपाल सिंह 'बब्ली'ले आफूले सोचेको चरित्रमा प्रियंकाले शतप्रतिशत भूमिका निर्वाह गरेको बताए । उनले प्रियंकाको कुनै पनि फिल्म रिलिज नहुँदै ट्रेलर हेरेरै आफ्नो कथामा सुहाउने पात्र देखेको हुनाले अफर गरेको बताए ।
प्रियंकालाई चिन्न 'माला' हेरे पुग्ने दाबी गर्दै निर्देशक सिंहले भने, 'प्रियंकाको चरित्रले भरिएको फिल्म हो 'माला' । दर्शकले हरेक फ्रेममा 'माला' पाउनु हुनेछ ।'