पूर्व प्रतिवद्धता अनुरुप धुर्मुस सुन्तलीले तेस्रो एकीकृत बस्ती हस्तान्तरण गरेका छन् । यसअघि सिन्धुपाल्चोकको गिरान्चौर र काभ्रेको पहरीबस्ती नमुना बस्ती निर्माण गरेर हस्तान्तरण गरेको धुर्मुस सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिवासमा नयाँ वर्षको दिन तेस्रो नमुना बस्ती हस्तान्तरण गर्ने घोषणा गरेको थियो ।
घोषणा अनुरुप नै शुक्रबार कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बिल्टु सदालाई बस्तीको साँचो हस्तान्तरण गरेका छन् । फाउन्डेसनले करिब ५० परिवारका लागि सुविधासम्पन्न घर निर्माण गरेको हो । हस्तान्तरण कार्यक्रमअघि मुसहर बस्तीसम्म (यालीको आयोजना गरिएको थियो । (यालीमा सयौं मुसहर समुदाय प्लेकार्ड बोकेर सहभागी भएका थिए ।
त्यस अघि ¥यालीमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिव श्रेष्ठ, सरोज खनाल,आकाश अधिकारी,लगायतका कलाकार सहभागी भएका थिए । ‘ज्ञानभूमि शान्तिभूमि तराई पहाड हिमाल’ लेखिएको तुल बोकेर ¥यालीमा बर्दिबास वरपरका गाउँका हजारौं स्थानीय पनि सहभागी भएका थिए । करिब पाँच करोड रुपैयाँको लागतमा धुर्मुस–सुन्तली फाउन्डेसनले ५४ वटा अत्याधुनिक भवनसहितको नमुना बस्ती निर्माण गरेको हो ।
उक्त वस्ती निर्माणका लागि ६ करोड ३३ लाख ३९ हजार रुपैयाँ संकलन भएको धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार खर्च भने ४ करोड ४ लाख भएको छ ।हस्तान्तरण कार्यक्रममा बोल्दै धुर्मुस सुन्तली दुवैले बस्ती निर्माणका लागि सहयोग गर्नेलाई धन्यवाद दिएका थिए ।