जेठ २५ गतेबाट अलनेपाल रिलिज हुन लागेको फिल्म हो, 'मेरी कुसुम' । विवाहपछि नायिका हर्षिका श्रेष्ठले यसै फिल्मबाट कमब्याक गर्दैछिन् भने कलाकार मोहन बोगटी पनि 'मेरी कुसुम' बाटै नेपाली फिल्ममा स्थापित हुने दौडमा छन् । अहिले मोहन दुबईमा छन् । उनी मे ५ मा 'मेरी कुसुम' दुबईमा रिलिज गर्ने तयारीमा छन् । फिल्मका लिड नायक समेत रहेका मोहन 'मेरी कुसुम' रिलिजको समयमा नेपालमा भने हुने छैनन् । मोहनका अनुसार, उनी सो मितिमा फिल्मको रिलिजका लागि क्यानडा पुग्नेछन् । एन.आर घिमिरले निर्देशन गरेको यो फिल्मले प्रेमको कथा भन्छ ।
मोहनले भने–‘दुबईमा फिल्मको हाइप एकदमै राम्रो छ । यहाँ, 'मेरी कुसुम' ले ‘छक्का पन्जा, लुट २’ जस्ता फिल्मले गरेको व्यापार भन्दा माथिल्लो व्यापार गर्ने अवस्था छ ।' मोहन दुबइमा बसेकाले पनि उनलाई त्यहाँ फिल्म प्रदर्शन गर्न सजिलो भएको हो ।
यो फिल्ममा मोहनको साथमा नायिका हर्षिका श्रेष्ठ र नव–नायिका सुदिप्ता लिड रोलमा छन् । यो फिल्म तीनै कलाकारका लागि उतिक्कै महत्वपूर्ण छ । कारण, मोहन यही फिल्मबाट यो क्षेत्रमा लगातार लागिरहने सोचमा छन् । जसका लागि उनलाई यो फिल्मले राम्रो विजनेश गर्न आवश्यक छ ।
यस्तै, हर्षिका पनि बिहेपछि फिल्म क्षेत्रबाट हराए जस्तै छिन् । यसैले, उनलाई यो फिल्मले व्यापार राम्रो गरेको खण्डमा फेरि जम्न सजिलो हुनेछ । नव–नायिका सुदिप्तालाई पनि यो फिल्म चल्दा नोटिस हुने अवसर मिल्नेछ । त्यसैले पनि यो फिल्म यी तीनै कलाकारका लागि चल्न आवश्यक देखिन्छ । यो फिल्मको ट्रेलर र गीत आउट भैसकेको छ ।