फिल्म 'नोभेम्बर रेन' मा 'डल्ली' को भूमिका निर्वाहा गरेपछि अभिनेत्री छुल्ठिम गुरुङलाई दर्शकहरुले राम्रै नोटिस गरे । 'नोभेम्बर रेन' पछि उनले उद्घोष पनि गरेकी थिइन् कि अब उनी फिल्ममा फर्किने छैनन् । आफ्नो वचनमा छल्ठिम केही बर्ष त टिकिन् तर फिल्मी नशाले उनलाई उक्त वचन तोड्न बाध्य बनायो र उनी पहिलो पटक निर्मात्रीको रुपमा भित्रिएकी छिन् । आफ्नै लिड रोल र लगानीमा निर्माण भएको फिल्म 'डायरी' जेठ ५ गतेबाट अलनेपाल रिलिज हुँदैछ ।
पहिलो फिल्मबाट दर्शकको मन जितेकी डल्लीलाई दोश्रो फिल्मले कस्तो रिजल्ट देला ?, निर्मात्री भएकाले फिल्मले गर्ने व्यापारलाई लिएर मनमा डर कत्तिको छ ? ‘डर भन्ने त एक रत्ति पनि छैन्’, डल्ली भन्छिन्, ‘फिल्म राम्रो बनेको छ । ट्रेलरलाई दर्शकले रुचाउनु भएको छ । बरु मनमा उत्साह र विश्वास चाहीँ छ ।’
यो फिल्ममा पहिलो पटक भिलेन अवतारमा प्रस्तुत भएकी नायिका रेखा थापा भएका कारण पनि 'डायरी' ले के गर्ला, चल्ला कि नचल्ला भन्ने डर छैन 'डल्ली' उर्फ छुल्ठिमलाई । सिंगल हलमा रेखाको क्रेज लोभलाग्दो छ र यसै कारण पनि 'डायरी' ले दर्शक हलसम्म तान्नेमा उनी ढुक्क छिन् ।
रिभेञ्ज लभ स्टोरी भनिएको यो फिल्ममा छुल्ठिम लभर गर्लको भूमिकामा प्रस्तुत भएकी छिन् । ‘अलिक फिल्मी खालको लभर गर्ल के । सपनाको कुरा गर्ने । डायलग पनि फिल्मी स्टाइलमा बोल्ने’ उनले आफ्नो भूमिका बारे भनिन् ‘तर ऊ एउटा भिजे हो ।’ ‘डायरी’ मा छुल्ठिमको अपोजिटमा नव नायक सन्नी सिंह प्रस्तुत भएका छन् । अनिल योञ्जनको निर्देशन रहेको फिल्मको कथा छेतेन गुरुङको हो ।