नेपाली हलमा अहिले दक्षिण भारतीय फिल्म 'बाहुबली २' प्रदर्शन भैरहेको छ । नेपालसँगै यो फिल्मले यतिबेला विश्वभर नै रेकर्ड तोड विजनेश गरिरहेको छ । गएको हप्ता रिलिज भएको 'बाहुबली' ले नेपालबाट नै पहिलो हप्तामा ४ करोडमाथीको विजनेश गरेको वितरक कम्पनी गोपीकृष्ण मुभिजको दावी छ । नेपालका अघिकांश मल्टिप्लेक्स र सिंगल हलहरुमा प्रदर्शन भैरहेको 'बाहुबली २' सँग जुध्ने आँट गएको हप्ता कुनै पनि नेपाली फिल्मले गर्न सकेनन् ।
बैशाख १ गते रिलिज भएका तीन नेपाली फिल्मपछि नेपाली हलमा 'बाहुबली २' लागेको थियो । त्यसपछि कुनै पनि नेपाली फिल्म हल छिरेका थिएनन् । अझ 'बाहुबली २' हलमा लागेपछि त नेपाली फिल्म हलमा रिलिज हुने त कुरै भएन् । 'बाहुबली २' कै कारण नेपालका ठूला ब्यानरमा बनेका फिल्म समेत रिलिज गर्न निर्माताहरु डराइरहेका छन् ।
तर, 'बाहुबली २' ले नेपाली हल कब्जा गरिरहेको अवस्थामा नायक भुवन केसी अभिनित फिल्म 'ब्ल्याक डायरी' भने आजबाट हल छिरेको छ । विना प्रचार प्रदर्शनमा आएको यो फिल्मले सिंगल हलमा मात्र प्रदर्शन आरम्भ गरेको हो । सिंगल हल समेत 'बाहुबली २' ले कब्जा गरिरहेको अवस्थामा भुवन केसीको 'ब्ल्याक डायरी' ले कस्तो धुम मच्चाउने हो त्यसको रिजल्ट त आजदेखि नै हेर्न पाइनेछ ।
सञ्चारकर्मी सविन शाक्यको प्रस्तुती रहेको फिल्ममा भुवन केसी, रमेश सिंह, पुजा भट्ट, वविता घिमिरे, पवन कार्की, अभय कुवँर, रोमा भण्डारी, अञ्जु महर्जन लगायतको अभिनय छ । सुजन घिमिरेले फिल्मलाई निर्देशन गरेका छन् ।