यदी नेपालमा कुनै नायिकाको गतिलो स्टारडम छ भने ति रेखा थापा हुन् । उनको स्टारडमको अगाडि नेपालका सुपरस्टार नायकहरु समेत फिक्का हुन्छन् । करीब एक दशकदेखि नेपाली फिल्ममा बलियो स्टारडमकै कारण एकपछि अर्को सुपरहिट फिल्म पस्किरहेकी नायिका रेखालाई दर्शकहरुले विशेषत एक्सन लेडीको रुपमा चिन्ने गर्छन । रेखाको गएको बर्षको अन्त्यमा 'पलाँस' फिल्म रिलिज भएको थियो । तर, 'पलाँस' घरेलू बजारमा खरो उत्रिन सकेन ।
'पलाँस' बक्स अफिसमा असफल सावित हुँदा नेपाली सिनेवृतमा एउटा बहस राम्रै चल्यो कि अब रेखाको स्टारडम सकियो । तर, एक फिल्म फल्प हुने वितिक्कै स्टारडम सकिएको भन्नु अस्वभाविक हुनसक्छ । बरु यो चाहिँ भन्न सुहाउँदो हुन्छ कि एक सुपरस्टार कलाकारको फिल्म फल्प हुँदा त्यसले उसको स्टारडमलाई भने नराम्रो असर गर्छ । त्यसैले त अहिले रेखालाई पनि 'पलाँस' असफल हुँदा स्टारडम सकिएको त होइन ? भन्ने बहसले राम्रै पिरोलेको छ । अब उनलाई आश छ जेष्ठ ५ गते रिलिज हुन लागेको फिल्म 'डायरी' माथि ।
पहिलो पटक 'डायरी' मा भिलेनको रुपमा प्रस्तुत भएकी रेखाले समाजमा अन्यायलाई समाप्त पार्ने महिला भिलेन हुन आवश्यक रहेको बताएकी छिन् । पत्रकारसँगको एक भेटघाटको क्रममा रेखाले भनिन्, 'मैले फिल्म 'डायरी' मा निर्वाहा गरेको भिलेन सकारात्मक भिलेन हो । फिल्मले अन्तिममा भिलेन भएरपनि अन्याय मुक्त समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश पनि दिन्छ । सुरुमा रेखा थापालाई डरलाग्दो भिलेनको रुपमा लिएता पनि पछि त्यही 'डायरी' की भिलेन रानीसँग दर्शकहरुको माया बस्छ ।'
कुराकानीको क्रममा रेखामाथि एउटा पसिना छुटाउने प्रश्न तेर्सियो कि 'फिल्म हिट हुनका लागि स्टारडमको भूमिका कतिको महत्वपूर्ण हुन्छ ?' अनि रेखाले उत्तर दिँदै भनिन्, 'स्टारकै फिल्मलाई काउनडाउनमा राखिने हो । सुपरस्टारलाई लिए भन्दैमा फिल्म सुपरहिट हुन्छ भन्ने हुँदैन, त्यो फिल्मको मापदण्ड के छ, त्यो फिल्मको गुदी के छ र त्यो फिल्मलाई कसरी हामी रिलिजमा ल्याउँछौं भन्ने कुरा पनि महत्वूर्ण हुन्छ । रेखा थापालाई लिएको छ, मेरो फिल्म त चलिहाल्छ भनेर जथाभाबी रिलिज गरेर फिल्म हिट हुँदैन । त्यहाँ सुपरस्टारको केहीँ पनि लाग्दैन । छिमेकी राष्ट्रको कुरा गर्ने भने शाहरुख खान सुपरस्टार हुँदा पनि उहाँको फिल्म लगातार फल्प भैरहेको छ । फल्प हुने नै स्टारको फिल्म हो र सुपरहिट हुने नै स्टारको फिल्म हो । तर, फिल्म फल्प भयो भने पनि म त्यसको जिम्मेवारी लिन भने तयार छु ।'
बर्ष २०७२ मा आएको 'रामप्यारी' पछि आफ्नो होमप्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा नदेखिएकी रेखाले यो अवधिमा 'पलाँस', 'डायरी' र 'हिरो रिर्टन्स' मा काम गरिन् । यी तीन फिल्म आफुले नितान्त साथीलाई सहयोगको भावनाले गरेको पत्रकारसँगको कुराकानीको क्रममा रेखाले बताइन् । जेष्ठ ४ गतेबाट उनको निर्माण र लिड रोल रहने फिल्म 'रुद्रप्रिया' को छायांकन आरम्भ हुँदैछ ।