मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

खोई विराज भट्ट ?

मनिष अन्जान, काठमाण्डौ, 2017/05/12
नेपाली फिल्ममा एक्सन हिरोका रूपमा जमिरहेका बेला विराज भट्ट एकाएक गायब भए । र, पुगे भोजपुरी फिल्ममा । झन्डै पाँच/छ वर्षको अवधिमा उनले ५० भन्दा बढी फिल्म खेलेर भोजपुरीमा पनि आफ्नो बलियो उपस्थिति जनाए । तर, ५ बर्षपछि विराजलाई निर्माता रोज राणाले नेपाली फिल्म क्षेत्रमा फर्काए । रोज आफै निर्देशक बनेर निर्देशन गरेको फिल्म ‘जय परशुराम’ गएको बर्ष रिलिज भएको थियो । 
 
यो फिल्मको व्यापारलाई विराजको स्टारडमको रुपमा पनि हेरिएको थियो । तर, 'जय परशुराम' ले घरेलू बजारबाट सोचे जस्तो पैसा छाप्न सकेन । उनका प्रतिद्धन्द्धी मानिने नायक निखिल उप्रेतीको ५ बर्षपछि 'भैरव' लिएर फर्किदा जुन अनुसारको धमाकेदार कमब्याक बनेको थियो, त्यसमा विराज भट्ट भने चुकेको बहस पनि ठूलै चल्यो । 
 
'जय परशुराम' को घोषणा कार्यक्रमदेखि रिलिजको अन्तिम मितिसम्म विराजले एउटै कुरा भनिरहेका थिए अब नेपाली फिल्मलाई पनि निरन्तरता दिन्छु । 'जय परशुराम' गर्नुभन्दा अगाडि नै तीन बढी भोजपुरी फिल्म साइन गरिसकेका विराजले 'जय परशुराम' पछि अन्य कुनै पनि नेपाली फिल्म साइन नगरेको खबर छ । 'जय परशुराम' घरेलू बजारमा खरो उत्रिन नसकेपनि विराजको क्रेज भने सिनेमा हलमा राम्रै देखिएको थियो । फिल्म रिलिज भएपछि केही निर्माताहरुले स्क्रिप्ट बोकेर विराजको घरसम्म नपुगेका होइनन् तर उनले अहिलेसम्म कुनै पनि फिल्म साइन गरेका छैनन् । अहिले उनी भोजपुरी फिल्ममै व्यस्त छन् । 
 
 
ठूलो बजार र चर्को पारिश्रमिकका कारण विराज विस्तारै नेपाली फिल्मबाट टाढा बन्दै गएको बहस उनी भोजपुरी फिल्ममा ५ बर्षसम्म व्यस्त रहँदा नेपालमा नचलेको होइन तर उनले 'जय परशुराम' बाट कमब्याक गर्दैगर्दा यसलाई सरासर नकारेका थिए । अचानक भोजपुरी फिल्ममा प्रवेश गरेको बताउने विराजलाई फेरी दर्शकहरु ठूलो पर्दामा गुण्डालाई पिट्दै हिरोइनलाई अंगालोमा बाँधेको हेर्न चाहन्छन् । तर, विराजको व्यस्तता हेर्ने हो भने यसबर्ष विराजले नेपाली फिल्म गर्ने संभावना निकै न्यून छ । 
 
नायक निखिल उप्रेतीले एकलौटी बजार खाइरहेको बखत नेपाली फिल्ममा भित्रिएका विराजले एकसमय निखिललाई समेत ओझेलमा पारेका थिए । यतिसम्मकी विराजको धुँवादार ईन्ट्रीका कारण केही बर्ष निखिलको बजार समेत सुस्ताएको थियो । नेपाली फिल्ममा निखिल र विराज एकअर्काका दुश्मन मानिन्छन् । हुनत, यी दुईले एकसाथ नेपाली फिल्म नगरेका भने होइनन् । विराज र निखिलाई दर्शकहरुले 'अग्नी ज्वाला', 'जय शिव शंकर' , 'अग्निपथ'  लगायतका फिल्ममा एकसाथ देखेका थिए ।