संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि आज ३४ जिल्लामा मतदान भइरहेको छ । यस्तैमा नायिका करिश्मा मानन्धरले भने काठमाडौंबाट भोट हाल्न नपाएपछि फेसबुकमा श्रीमान विनोद मानन्धरमाथि आक्रोश पोख्दै एक स्टाटस लेखेकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, 'सायद यो लेख्न हुँदैन थियो तर हद भयो सहने हरेक कुरा त परिवार आफ्न्त र छोरीको लागि सहे । यसैपनि विनोद जीको असाध्यै राम्रो मान्छे भन्ने इमेज छ । तर, आज मेरो मालिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन मानेन । विनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहनाहरु हुन्छन् । तिम्रो एकल निर्णयले हुँदैन । सबै कुरामा तिमीनै मालिक बन तर केही कुरा सहन सकिँदैन ।'
उनले आफ्नो नामावली काठमाठौंमा नभई राजविराजमा भएको फेसबुकमा स्टाटस लेख्दै उल्लेख गरेकी छिन् । उनले फेसबुकमा अगाडि लेखेकी छिन्, 'म काठमाडौंको नागरिकता भएको मान्छे, उहाँसँग विवाह गरेपछि सप्तरी राजविराजबाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो, म चुप लागे सायद श्रीमानकोमा रख्नु पर्छ होला भनेर । यत्रो बर्ष भयो उहाँले मेरो भोटिङ कार्ड बनाईदिनु भएन । हामी लाजिम्पाट बस्छौ आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ तर उहाँले मेरो पनि लिनु पर्छ भनेर जरुरी सम्झिनु भएन । मैले उहाँलाई सोधे तर वास्ता गर्नु भएन । म आफै गएर ३ घन्टा लाईन बसेर रजिस्ट्रर गरेँ । बसाई सराईको कागज पनि थिएन त्यसैले सप्तरीको लिस्टमा पुगेछ । न म राजबिराजको हो न म त्यहाँ कहिले बसेको छु कसरी गएर भोट दिने ? अरु सब कुरामा उ मेरो मलिक होला तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएनँ ।'
काठमाडौंबाट मतदान गर्न नपाएपछि करिश्माले फेसबुकमा श्रीमानमाथि पोखेको आक्रोशबाटै के स्पष्ट हुन्छ भने अहिले उनको र विनोदबीच यही विषयलाई लिएर घरमा कलह उत्पन्न भएको छ । विवाह बन्धनमा बाँधिएको लामो समयपछि करिश्माले श्रीमानमाथि यस्तो आक्रोश पोखेकी हुन् । करिश्मा पछिल्लो समय डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालमा सक्रिय छिन् ।