.jpg)
नेपाल चलचित्र संघले अमेरिका र अष्ट्रेलियामा नेपाली फिल्म अवार्डसँगै 'सिने क्विज' र 'मुभी अफ द मन्थ'को आयोजना गर्ने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बिच यी चारवटै कार्यक्रमको घोषणा गरिएको छ । २०१७ मा अमेरिकाको टेक्सासमा र २०१८ मा अष्ट्रेलियाको सिड्नीमा “नेम्पा फिल्म अवार्ड” हुने नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले जानकारी दिए । उक्त अवार्ड नेपाल चलचित्र संघसँगको सहकार्यमा हुनेछ ।
नेपाल चलचित्र संघले नेपाल फिल्म सोसाइटीसँगको सहकार्यमा 'मुभी अफ द मन्थ' र क्यूएफएक्स सिनेमा हलसँगको सहकार्यमा 'सिने क्विज' आयोजना गर्न लागेको हो । अमेरिकामा हुने 'नेम्पा फिल्म अवार्ड' को विषयमा जानकारी दिँदै डि.ए.वि.एस. इन्टरटेन्मेन्टका अर्जुन सुवेदीले भने, “अन्तर्राष्ट्रिय स्तरको नेपाली फिल्म अवार्ड गर्ने उद्येश्यले अमेरिकामा निम्पा फिल्म अवार्ड २०१७ को आयोजना गर्न लागेका हौं ।”
त्यस्तै, “के गरि’रा डटकम” अष्ट्रेलियाको सहकार्यमा अष्ट्रेलियाको सिड्नीमा हुने 'नेम्पा फिल्म अवार्ड' की संयोजक अर्चना थापाले नेपाली फिल्मलाई विश्व बजारमा चिनाउनका लागि पनि अष्ट्रेलियामा अन्तर्राष्ट्रिय स्तरको नेपाली फिल्म अवार्ड गर्न लागेको जानकारी दिइन् । “अष्ट्रेलियामा पछिल्लो समय धेरै नेपाली फिल्महरु प्रदर्शन हुँदै आइरहेको छ । त्यसैले पनि किन नेपाली फिल्म अवार्ड चाहिँ नगर्ने भन्ने उदेश्यले २०१८ मा 'नेम्पा फिल्म अवार्ड' गर्न लागेका हौं ।”, उनले भनिन् ।
अवार्ड १८ विधामा वितरण गरिनेछ भने १ जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने नेपाल चलचित्र संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । अमेरिकामा यस बर्ष आयोजना हुने 'नेम्पा फिल्म अवार्ड' का लागि २०७३ सालमा प्रदर्शन भएका नेपाली फिल्महरुले यही जेष्ठ मसान्तसम्म नेपाल चलचित्र संघको कार्यलयमा दर्ता गरिसक्नु पर्नेछ ।
.jpg)
नेपाल चलचित्र संघले यसै वर्षदेखि विद्यार्थीबीच नेपाली फिल्मको बारेमा बहस र छलफलको वातावरण बनाउँदै विद्यार्थीहरुलाई नेपाली फिल्मप्रति अभिरुचि जगाउने उद्देश्यले फिल्म क्षेत्रमात्र समेटिएको 'सिने क्विज' र 'मुभी अफ द मन्थ' कार्यक्रम पनि सुरु गर्दैछ । 'मुभी अफ द मन्थ' को विषयमा जानकारी दिँदै नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले भने, “अहिले नेपाली फिल्मको ठूलो संख्यामा दर्शक, असल दर्शक भनेको युवाजमात नै हो । खासगरि विद्यार्थीमाझ हाम्रो आफ्नै देशको फिल्महरुलाई पुराउन सक्यौं भने भविष्यमा नेपाली फिल्मको स्तर र बजार व्यवस्थित र सुद्धिढ बनाउन सकिन्छ । त्यसैले हामीले विद्यार्थीमाझ नेपाली फिल्मलाई पुराउनका लागि 'मुभी अफ द मन्थ' आयोजना गर्दैछौं । नेपाल चलचित्र संघसँग मिलेर हामीले विद्यार्थीमाझ नेपाली फिल्म देखाउने र बहस गर्ने उद्येश्यले यो कार्यक्रम सुरु गर्न लागेका हौं ।”
'क्यूएफएक्स सिने क्विज' भने ३ चरणमा गरिनेछ । प्रथम चरणमा पूर्वाञ्चल (नारायणी नदी पूर्व) ८ जिल्ला, पश्चिामाञ्चल (नारायणी नदी पश्चिम) १० जिल्ला, उपत्यकका ४ जिल्लाका विभिन्न कलेजहरुबीच हुनेछ भने दोश्रो चरणमा पूर्वाञ्चलका ८ जिल्लाका ८ टिम बीच पूर्वाञ्चल स्तरीय र पश्चिमाञ्चलका १० जिल्लाका १० टिम बीच पश्चिमाञ्चल स्तरीय उपत्यकाका ४ जिल्लाका ४ टिम बीच उपत्यका स्तरीय प्रतियोगिता हुने चलचित्र संघका अध्यक्ष प्रदीप उदयले जानकारी दिए । उनका अनुसार, अन्तिम चरणमा काठमाण्डौमा पूर्वाञ्चलका २ टिम पश्चिमाञ्चलका २ टिम र काठमाण्डौको १ टिम गरी ५ टिम बीच अन्तिम प्रतिस्पर्धा गराई विजेता घोषणा गरिनेछ ।