नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले १६ बर्षपछि हलमै पुगेर नेपाली फिल्म हेरेका छन् । उनले आफ्नो परिवारसहित शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘भूईँमान्छे’ शनिवार साँझ सिभिल मल स्थित क्युएफएक्समा पुगेर हेरे ।
उनीसँगै कलाकार सन्तोष पन्तले पनि फिल्म ‘भूईँमान्छे’ हेरेका थिए । सन् २००१ मा चलचित्र ‘पन्छी’ हेरेका उप्रेतीले १६ बर्षपछि ‘भूईँमान्छे’ हेरेका हुन् । फिल्म हेरेपछि उप्रेतीले आफुलाई ट्रेलरले नै आकर्षित गरेर फिल्म हेर्न आएको बताए । उनले भने, ‘समय छुट्याएर झन्डै १६ वर्ष पछि म फिल्म हेर्न आएको थिएँ, त्यसको सदुपयोग नै भयो । नेपाली फिल्म बन्ने शैली मात्र फेरिएको रहेनछ, नयाँ विषयवस्तु पनि हेर्न पाइयो । फिल्मले दर्शाउने मनोविज्ञानबाट हामीले केहि सिक्नु पर्छ जस्तो लाग्छ र ति व्यक्तिको पेशालाई पनि हामीले सम्मान गर्न सक्नु पर्छ’ ।
फिल्म ‘भूइँमान्छे’मा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ । यस फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादव लगायतले निर्माण गरेका हुन । नवराज बुढाथोकीले फिल्म निर्देशन गरेका हुन् ।