
फिल्मको भिलेन भन्ने वित्तिकै यस्तो खालको गेटअप हुनुपर्छ भन्ने मानसिकता केही समय अगाडिसम्म थियो । तर, अहिले यो शैली विस्तारै परिवर्तन हुन थालेको छ । चकलेटी अनुहार परेका धेरै पात्रहरु पनि खलपात्र हुन सक्छन् भन्ने सोचाइको विस्तारै विकास हुन थालेको छ ।
अनुपविक्रम शाही, सुनिल थापा, प्रज्जवल सुजल गिरी हुँदै प्रशान्त ताम्राकारले भिलेन भन्ने शैली नै परिवर्तन गरे । अहिले हिरोभन्दा भिलेनको चर्चा बढी हुने गर्छ । यसको उदारहण हो, फिल्म 'ऐश्वर्य' ।
यस्तै, एक डरलाग्दा तर ह्यान्डसम भिलेन हुन्, राजन इशान । उनी अभिनीत दुई फिल्म 'दुई रुपैयाँ' र 'रुद्रप्रिया' प्रदर्शनमा आइसकेका छन् । हुनत, उनी गायक तथा संगीतकारको रुपमा बढी चर्चित छन् । 'बसमा छैन मेरो मन', 'कुटुमा कुटु', 'चिरवीर चिरवीर चाँचरी' लगायतका गीतमा संगीत र स्वर भरेका राजन पछिल्लो समय फिल्मको पर्दामा भिलेनको भूमिकामा पनि खुब चलेका छन् ।
फिल्म 'दुई रुपैयाँ'ले ठिकठाक विजनेस गर्यो भने 'रुद्रप्रिया' बक्स अफिसमा असफल भयो । तर, राजन यस्ता भाग्यमानी ठहरिए कि उनको यी दुई फिल्मले नै भाग्य चम्कायो । निश्चल बस्नेत, आशिफ शाह, रबिन्द्र झा, मेनुका प्रधान, बुद्धि तामाङ लगायतका परिचित अनुहारका विचपनि राजनले 'दुई रुपैयाँ'बाट गज्जबकै तारिफ आफ्नो पोल्टामा पारे ।
'रुद्रप्रिया'का त उनी नै हिरो हुन् । आर्यन सिग्देलमाथी नै हाबी भएका राजनले 'रद्रप्रिया'बाट ह्यान्डसम भिलेनको अर्को परिचय बनाए । पर्दामा रेखा थापा र राजनको टिकराव देख्न सकिन्थ्यो । उनको चरित्रले मूल कथालाई मूर्त बनाउन उल्लेखनीय योगदान गरेको छ । अब यो पक्का छ, ह्यान्डसम तथा स्टाइलिस राजन फिल्मी पर्दामा भिलेनको भूमिकामा राम्रो विक्नेछन् ।
राजनले जसरी आफूलाई एकपछि अर्को फिल्मबाट अब्बल सावित गराइरहेका छन् त्यसरी नै फिल्मको लर्कोले पनि उनलाई खुब पछ्याइरहेको छ । उनी चाँडै रेखा थापा, सविन श्रेष्ठ र सरोज खनाल स्टारर फिल्म 'हिरो रिर्टन्स'मा पनि देखिँदैछन् । यो फिल्ममा भने उनको भूमिका खुलाइएको छैन ।