शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको कमेडी हरर फिल्म ‘सुनकेसरी’ ले शनिवार अधिकांश मल्टिप्लेक्समा हाउसफुल कारोबार गरेको छ । प्रदर्शनको पहिलो दिन बिहानदेखि साँझसम्म ८०-८५ प्रतिशत आसपास अकुपेन्सी कायम गरेको यो फिल्मले शनिबार लगभग शतप्रतिशत अकुपेन्सी कायम गरेको रिपोर्ट प्राप्त छ ।
शुक्रवार र शनिवार यस फिल्मको मल्टिप्लेक्समा एडभान्स बुकिङ आक्रामक थियो । नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले यस फिल्मलाई शुक्रवार १५ शो दिएपनि शनिवारका लागि १६ शोज उपलब्ध गराएको थियो ।
शनिवार बिहानैदेखि क्यूएफएक्स च्यानलका छायाँ, कुमारी, सिभिल, जय नेपाल, लविङको कुनै पनि शोजमा खाली सिट थिएनन् ।
यस्तै, विएसआर मुभिज, एफक्यूब, क्यूजलगायतमा पनि दर्शकको उपस्थिति शनिवार अपेक्षा गरेभन्दा राम्रो रहेको यस फिल्मकी निर्मात्री तथा अभिनेत्री ऋचा शर्माले जानकारी दिइन् । सिंगल स्टेशनका हलमा शुक्रवार औषत रहेपनि शनिवार भने फिल्म हेर्ने दर्शक बिहानैदेखि भरिभराउ थिए ।
मोफसलका पोखरा, चितवन, बुटवल, धरानलगायतका हलहरु पनि शनिवार हाउसफुल भएको ऋचा बताउँछिन् । सिंगलभन्दा यो फिल्म हेर्ने दर्शकको संख्या मल्टिप्लेक्समा बढी छ । शनिवार बिहानैदेखि ऋचासहित निर्देशक अर्पण थापा, कलाकार रबिन्द्र झालगायतले राजधानीका हल-हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझे ।
दिउँसो ४ बजे कमलपोखरीको कुमारी हलमा दर्शकसँग साक्षात्कार गर्दैगर्दा भेटिएकी ऋचाले 'सुनकेसरी' देशभर हाउसफुल भएको खुसी साटिन् । उनी भन्छिन्, 'मल्टिप्लेक्समा दर्शकको उपस्थिति उत्साहजनक छ । सिंगलमा शनिवार राम्रो छ । खुसी छु हाम्रो मेहनतलाई दर्शकले रुचाइदिनुभयो ।'
उनले 'सुनकेसरी २' निर्माण गर्ने घोषणा समेत गरिसकेकी छिन् । उनी दर्शकको उत्साहजनक साथले 'सुनकेसरी' को दोस्रो भाग निर्माण गर्न थप हौसला मिलेको बताउँछिन् ।
फिल्ममा दोस्रो भागका लागि ठाउँ बाँकी राखिएको छ । फिल्म हेरेका अधिकांश दर्शकले कलाकार रविन्द्र झाको कमेडी पाटोलाई औधि रुचाएका छन् ।
प्रायः दर्शकले फिल्म हेर्दा 'तर्सिएको कम हाँसेको धेरै' प्रतिक्रिया दिएका छन् । ऋचाले दर्शकको कमेन्टप्रति आफ्नो ध्यानआकृष्ट भएको बताइन् । उनी भन्छिन्, 'हाम्रो कमजोरी नै छैन भनेका छैनौं । 'सुनकेसरी २' मा त्यो कमजोर हुन नदिने वाचा गर्छु ।'
निर्देशक अर्पण थापा दर्शकबाट प्राप्त प्रतिक्रियाले आफूलाई थप जिम्मेवारी महशुस भएको बताए । उता 'यादवजी' उर्फ रबिन्द्र झा दर्शक प्रतिक्रिया सुनेर दंग देखिन्छन् । हलमा पुग्दा अधिकांश दर्शक उनलाई देखेपछि सेल्फी खिच्न झुम्मिएका थिए ।
यस फिल्ममा ऋचा र रबिन्द्रका अलावा भीम न्यौपाने, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।
उक्त फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् ।