मिति : २०८१ आश्विन १८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 2.33/5.00)
Text size:-
+
-

‘वार’ सँग भिड्न तयार भएन ‘छ माया छपक्कै’ !

मनिष अन्जान, काठमाडौं, 2019/08/29
दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गर्ने फिल्मको रिलिज टार्गेट दशैं हुने गरेको छ । ‘छक्का पञ्जा’ को तिनै सिरिजले दशैं विदामा जबरजस्त व्यापार गरेका कारण उनीहरुले अन्य मितिमा फिल्म प्रदर्शन गर्ने जोखिम उठाउन सकेका छैनन् । साम, दाम, दण्ड, भेद जे–जे गरेर हुन्छ फिल्म दशैंमै रिलिज गरेर छाड्छन्, दीपकराज । दीपक-दीपाको समुहलाई ‘छ’ नाम र दशैं निकै फापेको छ । 
 
केही वर्षदेखि दशैं विदामा ‘छक्का पञ्जा’ टिमको एकलौटी हालिमुहाली थियो । तर, गत वर्षदेखि भेट्रान निर्देशक अशोक शर्मा पनि थपिए । फिल्म ‘जय भोले’ बाट उनी १२ वर्ष निर्देशनमा फर्किए र फिल्म प्रदर्शनका लागि दशैं रोजे । उनले ‘छक्का पञ्जा’ सिरिजसँग भिड्नकै लागि फिल्म बनाएको चर्चा पनि चलेको थियो । ‘छक्का पञ्जा ३’ जुन मितिमा आउँछ त्यही मितिमा फिल्म जुधाउने तयारीमा थिए, उनी । 
 
तर, दीपकराजले दामको प्रयोग गरि ‘जय भोले’ लाई फूलपातीमा सारेर ‘छक्का पञ्जा ३’ घटस्थापनामा प्रदर्शन गरे । दशैं विदा कुनै हालतमा गुमाउने पक्षमा नरहेका उनी यसपटक भने नयाँ फिल्म ‘छ माया छपक्कै’ लाई दशैंमा ल्याउन असफल भएका छन् । यो फिल्मलाई घटस्थापना वा फूलपातीमा प्रदर्शन गर्ने भित्री तयारी थियो । तर, अब विजयादशमीपछि मात्र प्रदर्शन हुने भएको छ । 
 
अशोक शर्माले फिल्म ‘रातो टीका निधारमा’ घटस्थापनामा प्रदर्शन गर्दैछन् । त्यसको एक हप्ता अगाडि अर्थात् असोज ३ गते मल्टीस्टारर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुँदैछ । यो मितिमा ‘छ माया छपक्कै’ ल्याउन दीपकराजले हेमराज विसीको फिल्म ‘घामड शेरे’ लाई सारेर कात्तिकमा पुर्‍याएका थिए । तर, उनी तब हिस्स भए जब ‘कबड्डी कबड्डी कबड्डी’ ले अचानक असोज ३ मा आउने निर्णय गर्‍यो । 
 
 
यसले दीपकराजको रिसको पारो उचाइमा पुग्यो । उनले ‘कबड्डी कबड्डी कबड्डी’ सँग भिड्ने भन्दै भाद्र २७ गतेलाई ‘छ माया छपक्कै’ को प्रदर्शन मिति घोषणा गरे । तर, ‘कबड्डी’ टिम डराएन । अब दीपकराज दशैंको टिकापछि फिल्म प्रदर्शन गर्ने निर्णयमा पुगेका छन् । उनले फूलपाती समेत लत्याएका छन् । यसको कारण बलिउड फिल्म ‘वार’ हो । ऋतिक रोशन र टाइगर श्राफको यो फिल्म फूलपातीको दुई अगाडि प्रदर्शन हुँदैछ । 
 
केही दिन अगाडि सार्वजनिक भएको यो फिल्मको धमाकेदार ट्रेलरपश्चात् दीपक-दीपाको समुह ‘छ माया छपक्कै’ लाई फूलपातीमा प्रदर्शन गर्ने निर्णयबाट हटेको हो । मल्टीप्लेक्समा ‘वार’ को चेपुवामा पर्ने डरले यो फिल्म फूलपातीमा आउन डराएको हो । तर, निर्माता गिरी बलिउड फिल्मसँग नडराएको बताउँछन् । हलावाला र वितरकले नेपाली फिल्मलाई गर्ने सौतेनी व्यबहारका लागि पछाडि हटेको उनको भनाई छ ।
 
उनी भन्छन्, ‘यदी हलवालाले ‘वार’ र ‘छ माया छपक्कै’ लाई बराबर सोज दिन्छन् भने हामी भिड्न तयार छौं । तर, हलवालाले विदेशी फिल्मलाई आवश्यकताभन्दा पनि बढी सोज दिएर नेपाली फिल्मलाई न्यून सोजमा खुम्चाउँछन् । अनि, जानी-जानी कसले खुट्टामा बञ्चरो हान्छ ?’ ‘वार’ सँग भिड्दा ‘छ माया छपक्कै’ लाई मल्टीप्लेक्सहरुले प्रयाप्त सोज नदिने हुँदा फूलपातीमा फिल्म ल्याउन नसकेको उनको भनाई छ । 
 
उनको भनाईमा धेरै हदसम्म सत्यता छ । नेपालका वितरक र हलवालाहरु विदेशी फिल्म प्रदर्शन हुँदा नेपाली फिल्मलाई सौतेनी व्यबहार गर्ने गर्दछन् । भोली शुक्रबारबाट प्रदर्शनमा आउने लागेको फिल्म ‘मारुनी’ यसको उदाहरण हो । ‘साहो’ सँग भिड्न लागेको यो फिल्म मल्टीप्लेक्समा न्यून सोजमा खुम्चिएको छ । यो पहिलो पटक भएको भने होइन । यसअघि थुप्रै नेपाली फिल्मले यो नियति भोगिसकेका छन् । 
 
यो अवस्था ‘वार’ सँग भिड्दै गर्दा ‘छ माया छपक्कै’ को पनि हुन सक्थ्यो । त्यसैले दीपकराजले विगत हेरेर ‘वार’ सँग भिड्ने जोखिम उठाउन चाहेनन् । अब दीपक-दीपा समुहको फिल्म असोज २४ गते प्रदर्शनमा आउने सम्भावना प्रवल छ । भोली यो फिल्मको पहिलो गीत सार्वजनिक हुँदैछ । दीपकराजसँगै केदार घिमिरे, जितु नेपाल, केकी अधिकारीलगायतका कलाकारहरुको यसमा अभिनय छ ।