मिति : २०८१ भाद्र २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

च्यारिटी शोमा ‘दि कर्मा’ को प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2020/01/29
यही शुक्रवारबाट देशैभर प्रदर्शनमा आउन लागेको एक्सन लभस्टोरी जनरामा निर्मित देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘दि कर्मा’ को च्यारिटी शो सम्पन्न भएको छ । मंगलवारको विग मुभिजमा आयोजित च्यारिटी शो नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ गरिएको हो । उक्त प्रदर्शनीबाट संकलित सम्पूर्ण रकम कलाकार संघलाई प्रदान गरिएको निर्माता जय राज रायले बताए । 
 
 
फिल्मको च्यारिटी शोमा निर्देशकदेखि कलाकारहरु सम्पूर्ण उपस्थित भएका थिए । अभिनेत्री परमिता आरएल राणा आफ्नो अभिनयको प्रशंसा गरेकोमा सबैलाई धन्यवाद दिइन् । फिल्मका अर्का कलाकार वुद्दि तामाङले पनि आफ्नो अभिनय रुचाइएकोमा खुसी व्यक्त गरे । त्यस्तै, निर्देशक श्रेष्ठले चलचित्र कलाकार संघका लागि च्यारिटी शो गर्न पाएकोमा खुसी लागेको बताए । 
 
चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले फिल्ममा केही कमी कमजोरी भए पनि दर्शकलाई निराश भने नबनाउने दाबी गरे । उनले फिल्मका प्रमुख अभिनेता करण वर्मालाई हेर्नकै लागि पनि हलमा दर्शक आउने विश्वास व्यक्त गरे । करणले नेपाली फिल्ममा आफूलाई बलशाली अभिनेताको रुपमा उभ्याउने उनी बताउँछन् । उनले निर्देशकको काम पनि राम्रो रहेको बताए । 
 
अभिनेत्री रेजिना उप्रेतीले आफूलाई फिल्म राम्रो लागेको प्रतिक्रिया दिइन् । 'जस्तो कर्म गर्‍यो त्यस्तै फल पाइन्छ' भन्ने सन्देश दिन खोजिएको फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिने उनले बताइन् । फिल्मका निर्माता जयराज रायले चलचित्र कलाकार संघको सहयोगार्थ आयोजना गरिएको च्यारिटी शोमा फिल्मकर्मीबाट पाएको सकारात्मक प्रतिक्रियाले एकदमै खुसी लागेको बताए । 
 
उनले कलाकार संघले आर्थिक सहयोग जुटाउन खोजिरहेको थाहा पाएपछि आफूले फिल्म च्यारिटीलाई दिने निधो गरेको बताए । निर्माता जयराज रायले थपे, ‘म आँफै पनि निर्माता तथा कलाकार भएकोले पनि सहयोगको कुरा आएपछि हामीले च्यारिटीलाई फिल्म दिएका हौँ । ‘दि कर्मा’ को यो च्यारिटीबाट संकलित सम्पूर्ण रकम हाम्रो टीमले कलाकार संघलाई नै प्रदान गरेको छ’ ।
 
 
त्यस्तै, अर्का निर्माता श्रीदेव बि.एल.ले फिल्म हेरेर दिग्गज कलाकारहरु सबैले राम्रो प्रतिक्रिया दिएको बताए । फिल्मको कथा निर्माता राय आँफैले लेखेका हुन् । राय र श्रीदेवसँगै निशा खतिवडा निर्माता रहेको फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्ममा परमिता, बुद्दी र जयसँगै करण वर्मा, नीता ढुंगाना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।