नेपाली फिल्मको विधामा कलम चलाउने पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ, नेपालको सोमबार भएको ८औं महाधिवेशनबाट अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् । उनले ७० मत प्राप्त गर्दै अध्यक्ष पदमा जित हासिल गरेका हुन् । उनका प्रतिद्धन्द्धी डब्बु क्षेत्रीले ३९ मत ल्याउँदा अध्यक्षका अन्य दुई उम्मेदवार गीता अधिकारी र अनिल यादवले १४–१४ मत ल्याए ।
ठूलोपर्दाका सम्पादक जीवन पराजुलीले आफ्नो प्रतिद्धन्द्धी कुवेर गिरीलाई पराजित गर्दै उपाध्यक्ष कार्यक्रमतर्फ विजयी हासिल गर्दा संगठन उपाध्यक्षमा कुवेर डंगोल र महिला उपाध्यक्षमा दीपज्योति थापा निर्विरोध चयन भए । त्यस्तै, महासचिवमा समिर बलामी भारी मतका साथ विजयी भए । उनका प्रतिद्धन्द्धी बैकुण्ठराज पराजुलीले ५० मत पाउँदा समिरको पक्षमा ८८ मत खसेको थियो ।
सर्वाधिक मत प्राप्त गर्दै सचिवमा रघुनाथ सापकोटा विजयी हुँदा समावेशी सचिवमा विशाल राई निर्विरोध चयन भए । रघुनाथले १०५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी राम खड्का (आकाश) को पक्षमा ३१ मत खसेको थियो । त्यस्तै, कोषाध्यक्षमा प्रदीप कार्की निर्विरोध चयन भए भने सह-कोषाध्यक्षमा लेख बहादुर आचार्यलाई पराजित गर्दै विनोद पोखरेलले जित हासिल गरे ।
सदस्य पदमा भने सर्वाधिक मत नविन गिरीले प्राप्त गरेका छन् । उनको पक्षमा १०५ मत खसेको थियो । त्यस्तै, सदस्यमा मनिष दाहाल (अन्जान), गोपीकृष्ण चापागाईं, मिलन ढुंगाना, आशिष ओली, सृष्टि पोखरेल विजयी भए । सुरक्षा भट्टराई (महिला सदस्य) पदमा निर्विरोध हुँदा दीपक गुरुङ (समावेशी) पनि सदस्य पदमा निर्विरोध विजयी भएका थिए । चलचित्र पत्रकार संघ, नेपालले तीन वर्षका लागि नयाँ कार्यसमिति पाएको हो ।