
चर्चित अभिनेत्री तथा नाट्यकर्मी शुभद्रा अधिकारीको निधन भएको एक वर्ष भएको छ । उनको पहिलो वार्षिक पुण्य तिथीमा सोमवार फिल्मकर्मीहरुले नेपाली फिल्म क्षेत्रमा उनले पुर्याएको योगदान सम्झँदै सामाजिक सञ्जालबाट श्रद्धाञ्जली अर्पण गरेका छन् । २००३ सालमा काठमाडौंको असनमा जन्मिएकी अभिनेत्री अधिकारीको गत वर्ष ७३ वर्षको उमेरमा निधन भएको थियो ।
उनको वार्षिक पुण्य तिथीमा अभिनेत्री मिथिला शर्माले फेसबुकमा एक स्टाटस पोस्ट गर्दै उनलाई सम्झिएकी छन् । उनले रंगमञ्च र सिनेमा पर्दामा शुभद्राको अभिभावकीय सधैं अभाव रहिरहने उल्लेख गरेकी छन् । उनले शुभद्रालाई ‘नेपाली रंगमञ्च र सिने क्षेत्रमा आफ्नो सम्पूर्ण जीवन नै समर्पित गरेर इतिहास रच्न सफल कलाकारिता क्षेत्रकी कुशल तथा कौशल योद्धा’ पनि भनेकी छिन् ।
२०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी शुभद्राको पहिलो नाट्य अभिनय ‘कची मचा’ थियो । यसपछि उनले नाट्य अभिनयमा लामो समय विताइन् । बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’ लगायत धेरै नाटकहरुमा उनले अभिनय गरेकी थिइन् । उनले पहिलो पटक नायिका भएर काम गरेको नाटक जगतमर्दन थापाको ‘पलाँसको फूल’ थियो ।

निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ उनी अभिनीत पहिलो फिल्म हो । यसमा उनले हरिप्रसाद रिमालको पत्नीको भूमिका निभाएकी थिइन् । यो फिल्म गर्दा उनी २२ वर्षकी थिइन् । उनले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा काम गरेकी छन् ।