
टोड फिलिप्स निर्देशित हलिउड फिल्म ‘जोकर’ २०१९ को सबैभन्दा ब्लकबस्टर फिल्म हो । फिल्मले एक विलियन डलर कमाई गरेको थियो । यसमा आफ्नो जीवन्त अभिनयले दर्शकको मन जितेका अभिनेता वाकिन फिनिक्स अब ‘जोकर’ को सिक्वेलमा देखिने भएका छन् । अमेरिकी मिडियाका अनुसार, ‘जोकर २’ का लागि वाकिनलाई ५० मिलियन डलर अफर गरिएको छ ।
‘जोकर’ को सिक्वेललाई लिएर निर्देशक, अभिनेता र निर्माताले कुनै तयारी गरेका थिएनन् तर व्यावसायिक र समीक्षात्मक सफलतापछि टोड र वाकिन सिक्वेलको तयारीमा जुटेका छन् । वाकिनले यो फिल्मबाट उत्कृष्ट अभिनेताको अस्कार अवार्ड समेत जितेका थिए । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको र आउँदो चार वर्षमा दुई सिक्वेल ल्याउने तयारीमा निर्माण टिम छ ।
अभिनेता वाकिनले केही समय अगाडि लस एञ्जेलिस टाइम्सलाई अन्तर्वार्ता दिँदै भनेका थिए, ‘जोकर’ रिलिज वा यसको सफलताभन्दा अगाडि नै हामीले सिक्वेलको बारेमा कुराकानी गरेका थियौं । ‘जोकर’ को दोस्रो हप्ताको छायांकनको क्रममा मैले निर्देशक टोडसँग सिक्वेलमा काम गर्न सुरु गरौं भनेको थिएँ । तर, त्यसबेला मैले त्यतिक्कै भएको थिएँ, वास्तविक रुपमा होइन ।’