मिति : २०८१ आश्विन १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सम्पादनमा उचाइ चुमेका भरत रेग्मी

फिल्मीखबर, काठमाण्डौ, 2020/12/03
कुनै पनि फिल्म, म्यूजिक भिडियो वा विज्ञापन पूर्ण भएर दर्शकसम्म पुग्न सम्पादकको भूमिका महत्त्वपूर्ण हुन्छ । निर्देशकको निर्देशनमा छायांकारले खिचेर ल्याएका दृश्यलाई सही तरिकाले मिलाउने काम सम्पादकको हो । यही सम्पादनको कर्ममा दुई दशक विताइसकेका भरत रेग्मी नेपाली फिल्म र म्यूजिक भिडियोको दुनियाँमा पछिल्लो समय धेरैको रोजाइमा परेका सम्पादक हुन् ।
 
तर, भरतले सम्पादकको रुपमा करिअर सुरु गर्नुको पछाडि बेग्लै कहानी छ । बाल्यकालदेखि नै उनी रेडियोमा कसरी बोल्न सकिन्छ होला भनेर सोच्थे । त्यही सपना बोकेर नवलपरासीबाट २०५५ सालमा काठमाडौं छिरेका थिए, भरत । आरआर कलेजमा अध्ययनसँगै आरजे र भिजे बन्नका लागि उनले आरजेको प्रशिक्षण लिए र रेडियो तथा टेलिभिजनमा प्रयास पनि गरे । तर, उनी कहिल्यै छनोट भएनन् ।
 
 
उनले रेडियो नेपालमा भ्वाइस ओभर टेस्ट भने पास गरेका थिए । तर, यो सर्टिफिकेटले उनको आरजे बन्ने सपना पूरा गर्न सकेन । त्यही बेला भारतबाट पेन्टासफको समुहले आरआर कलेजमा मल्टीमिडियाको बारेमा जानकारी दिएपछि उनको यसतर्फ रुची बढ्यो । र, उनले यसैमा भविष्य देखे । २ वर्ष मल्टीमिडियाको प्रशिक्षण लिएपछि उनले च्यानल नेपाल ज्वाइन गरे । यसबेलासम्म उनमा आरजे र भिजे बन्ने सपना मरिसकेको थिएन ।
 
उनी भन्छन्, ‘मान्छेमा कहिँ न कहिँ अदृश्य रुपमा आफ्नो क्षमता लुकेको हुँदो रहेछ ।  त्यो बाहिर आउन चाहिँ समय लाग्छ । मेरो नेचर र फ्यूचर टेक्निकल लाइन रहेछ तर सपना चाहिँ आरजे र भिजे बन्ने देखिरहेको रहेछु ।’ अहिले भने उनले आरजे र भिजे बन्ने सपना पूर्ण रुपमा त्यागिसकेका छन् । अब सम्पादनकै क्षेत्रमा उत्कृष्ट काम गर्ने संकल्प उनको छ । 
 
आफ्नै बलबुतोले सम्पादनको क्षेत्रमा आफूलाई स्थापित गर्न सफल भएकोमा उनलाई गर्व महशुस हुन्छ । तर, सम्पादन सजिलो काम नभएको उनको बुझाई छ । ‘एउटा छायाँकारले निर्देशकसँगको सर-सल्लाहमा एउटा भिडियो खिचेर ल्याएपछि उसको काम सकिन्छ । तर, त्यो सिधै दर्शकमा जाँदैन । त्यसपछि सम्पादन, कलर लगायतका कुरा गर्नुपर्छ । यहाँनेर विग्रियो भने पूरै फिल्म विग्रन्छ । त्यसैले सम्पादनको काम एकदमै चुनौतीपूर्ण छ,’ उनले भने ।
 
फिल्मको छायांकन पूरा भएपछि सम्पादक खोज्ने संस्कारका कारण पनि पोस्टमा फिल्म विग्रने गरेको उनको बुझाई छ । फिल्मको स्क्रिप्टदेखि नै निर्देशकसहितको टिम छलफलका लागि सम्पादकसँग बस्नुपर्ने उनी बताउँछन् । ‘फिल्म कस्तो बनाउने भन्नेमा सम्पादकको भूमिका पनि ठूलो हुन्छ । स्क्रिप्टदेखि नै सम्पादकसँग छलफल गर्नुपर्ने हो । तर, यहाँ खिचेर आएपछि सम्पादक खोजिन्छ । अनि सम्पादनको काम नसकिँदै प्रदर्शन मिति तोकिन्छ । जसले गर्दा फिल्म धेरै कुरामा विग्रिएको हुन्छ,’ उनी भन्छन् । 
 
मेकरहरुको हतारोका कारण पोस्टमा फिल्म विग्रने गरेको उनको बुझाई छ । उनी अगाडि थप्छन्, ‘आउँदा राम्रो बनेर आयो भने न पोस्टमा पनि फिल्म राम्रो बन्छ । हतारमा छायांकन गरेर हतारमा पोस्ट प्रोडक्सनको काम सक्न लागेपछि कसरी फिल्म राम्रो बन्छ ? पहिल्यै सम्पादकसहितको टिम बसेर स्क्रिप्टमा छलफल गर्नुपर्छ । जबसम्म यो संस्कार बस्दैन तबसम्म कमजोरी भइरहन्छ ।’
 
 
सम्पादनको क्षेत्रमा अध्ययन गरेर आउनेभन्दा सिकेर वा बुझेर आउनेलाई फिल्मकर्मीले विश्वास गर्ने गरेको उनको अनुभव छ । तर, यस क्षेत्रमा आउन अध्ययन पनि आवश्यक रहेको उनी औंल्याउँछन् । उनी भन्छन्, ‘अध्ययन मात्र गरेर आएका तर नेपालमा कामको अनुभव नभएका व्यक्तिलाई कुन लेभलको काम गर्ने भन्ने खासै ज्ञान हुँदैन । जसले गर्दा सुरुवातमा समस्या हुन्छ । अनुभवी व्यक्तिलाई भने कस्तो फुटेज आउँदा कतिसम्म बनाउन सकिन्छ भन्ने राम्रो अनुभव हुन्छ ।’
 
हलिउडको कन्सेप्टमा अध्ययन गरेर आएर २ करोडको फिल्ममा त्यो कन्सेप्ट प्रयोग गर्न नसकिने भरतको तर्क छ । नेपालमा बन्ने फिल्मको धरातलमा उभिएर काम गर्नुपर्ने भएकाले बाहिर अध्ययन गरेर आउने व्यक्तिलाई सुरुवातमा समस्या हुने उनले बताए । निर्देशकले पेपरमा स्टोरी बुझेर नभइ स्क्रिनप्ले बुझ्न सकेको खण्डमा पोस्टमा फिल्म राम्रो बन्ने उनको कथन छ । कथालाई न्याय गर्ने अभिनय नभएसम्म पोस्टमा जति मेहनत गर्दा पनि फिल्म राम्रो नबन्ने भरत बताउँछन् ।
 
सम्पादनको हिसाबले फिल्म र म्यूजिक भिडियोमा खासै फरक नहुने धेरैको बुझाई छ । तर, यसमा भरतको फरक विचार छ । उनी भन्छन्, ‘म्यूजिक भिडियोमा ३ देखि ५ मिनेटको गीत हुन्छ । त्यो गीतको भावलाई ५ मिनेटभित्र प्रस्तुत गर्नुपर्छ र सम्पादकले त्यसलाई न्याय गर्न सक्नुपर्छ । म्यूजिक भिडियो सम्पादन गर्दा रिदम र शब्दको भाव ख्याल गर्नुपर्छ । बजेटको हिसाबले फिल्म भए पनि म्यूजिक भिडियो पनि चुनौतीपूर्ण नै छ ।’
 
केही वर्ष अगाडिसम्म सम्पादन क्षेत्रमा सम्भावना र भविष्य शून्य मानिन्थ्यो । तर, भरत इमान्दार भएर काम गर्ने हो भने सम्पादनको क्षेत्रमा राम्रो भविष्य रहेको बताउँछन् । नेपालमा सम्पादकको रुपमा काम गरेका धेरैले फिल्म र म्यूजिक भिडियो पनि निर्देशन गरिसकेका छन् । भरत भने दुई डुंगामा खुट्टा राखेर यात्रा गर्नु जोखिमपूर्ण हुने तर्क राख्छन् । उनलाई लाग्छ सम्पादक वा छायाँकर भएर बाँच्नभन्दा निर्देशक भएर टिक्न गाह्रो छ । 
 
 
उनी आफूलाई फिल्म र म्यूजिक भिडियो निर्देशनको अफर १० वर्ष अगाडिदेखि नै आइरहेको बताउँछन् । ‘निर्देशन गर्न सक्छु भन्ने विश्वास चाहिँ छ । तर, म के गर्न आएको हुँ भन्नेमा स्पष्ट छु । मैले दुई डुंगामा सवारी गर्न नखोजेको हुँ । यदी मैले निर्देशन गर्न थाले भने सम्पादन पूर्ण रुपमा छाड्छु । नभए यसलाई नै निरन्तरता दिन्छु । अहिलेसम्म निर्देशनमा हात हाल्ने सोचमा छैन,’ उनी सुनिए । 
 
भरत रेग्मीले सम्पादन गरेका ‘बुढेसकालैमा, किन दुख्छ मुटु, हेर्दा राम्रो, हरेक शब्द, तीन ढिक्के फूली, माया बस्यो मुटुमा, सिन्धुलीगढी घुमेर हेर्दा, ट्राफिक जाम, आगे आगे तोपैको गोला, अल्लारे’ लगायतका म्यूजिक भिडियोहरु निकै चर्चित छन् । उनले हालसम्म ५ सय भन्दा बढी भिडियोहरु सम्पादन गरिसकेका छन् । भरतले ‘अन्दाज, कलिउड, ऋतु, कथा काठमाडौं, सुश्री सम्पत्ति, चौका दाउ’ लगायतका फिल्मको पनि सम्पादन गरिसकेका छन् ।