मिति : २०८१ कार्त्तिक २२, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

जल शाहको कमब्याकको प्रतिक्षा

फिल्मीखबर, काठमाडौं, 2020/12/13
नेपाली फिल्म क्षेत्रमा आफ्नो अलग पहिचान बनाएकी अभिनेत्री जल शाहको ९० को दशकमा नेपाली फिल्ममा ठूलो बोलबाला थियो । कयौं उत्कृष्ट र सुपरहिट फिल्म दिएकी उनी करीब एक दशकदेखि परिवारसहित अमेरिकामा बस्दै आएकी छन् । उनै, जल आइतवार आफ्नो जन्मदिन मनाइरहेकी छन् । विकिपीडियाका अनुसार, २०३९ साल मंसिर २८ गते उनको जन्म भएको हो । 
 
एक छोरीकी आमा भइसकेकी जल अमेरिका पलायन भएसँगै अभिनयमा फर्किएकी छैनन् । यद्यपि, पारिवारिक भेटघाटका लागि नेपाल आउँदा उनले ढिलो चाँडो अभिनयमा फर्किने बताउने गरेकी छन् । जल फिल्म निर्माण गर्ने सोचमा पनि छिन् । तीन वर्ष अगाडि नेपाल आउँदा उनले भविष्यमा नारीप्रधान फिल्म निर्माण गर्ने आफ्नो र श्रीमानको योजनामा रहेको बताएकी थिइन् । 
 
 
उनले आफ्ना समकालीन अभिनेत्रीहरू फिल्म निर्देशनमा स्थापित भएकोमा पनि खुसी व्यक्त गरेकी थिइन् । तर, आफूमा निर्देशन गर्ने क्षमता नभएकाले अभिनय र फिल्म निर्माणमा आउने उनको भनाई छ । १४ वर्षको उमेरदेखि अभिनयमा होमिएकी उनले ५० भन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । एक समय उनको अभिनयसँगै सुन्दरताको पनि निकै प्रशंसा हुने गरेको थियो ।
 
आफ्नी आमाको चाहनाअनुसार फिल्म ‘श्री स्वस्थानी’ बाट उनी अभिनयमा भित्रिएकी थिइन् । उनले नायिकाको रुपमा भने फिल्म ‘अवतार’ बाट ब्रेक पाएकी थिइन् । यसपछि उनले कहिल्यै करिअर फर्केर हेर्नु परेन । ‘पराइ घर, शंकर, ठूल्दाई, नेपाली बाबु, एक नम्बरको पाखे’ जस्ता कयौं फिल्ममा काम गरेकी जलको दर्शकहरुले लामो समयदेखि कमब्याकको प्रतिक्षा गरिरहेका छन् ।
 
आइतवार जल शाहसँगै अभिनेत्री वर्षा राउतको पनि जन्मदिन हो । फिल्म ‘नाईं नभन्नू ल ४’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘छक्का पञ्जा, चौका दाउ, गोपी, मेरो पैसा खोइ ?, जात्रा, जात्रै जात्रा, मिस्टर झोले’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् । लकडाउनभन्दा अगाडि फिल्म ‘दुई नम्बरी’ को छायांकन गरिरहेकी उनको पाइपलाइनमा फिल्म ‘के घर के डेरा’ पनि छ ।