फिल्मकर्मी रेशम जंग शाहले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न न्यूयोर्क राज्यको सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले एनआरएनएमा हुने गरेका विकृति विसंगतिविरुद्ध आवाज उठाउन र संगठनलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् । उनी सन् २०१८ मा आप्रवासी भिसामा अमेरिका गएका थिए ।
विदेशी भूमिमा विभिन्न कारणले समस्यामा परेका नेपालीहरुको सहयोगका लागि पनि आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । अमेरिकामा बसेर पनि नेपाली भाषा, साहित्य, संस्कृति र संस्कारको संरक्षणका लागि आफूले भूमिका खेल्ने रेशमको प्रतिबद्धता छ । नेपाली चलचित्रलाई अमेरिका, यूरोप लगायतका अन्य देशमा सहज रुपमा प्रदर्शन गर्न आफूले पहल गर्ने उनले बताएका छन् ।
रेशम समाजसेवामा पनि सक्रिय छन् । उनले २०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोक र काभ्रेमा तामाङ, मगर तथा दलित समुदायका लागि ५२ वटा अस्थायी आवास निर्माण गर्नुका साथै गोरखा, लमजुङ, तनहुँ र नुवाकोटका पीडितलाई राहत सामग्री वितरण गरेका थिए । उनले गुल्मीको गुल्मी दरबार गाउँपालिकामा दरबार कृषि तथा पशुपक्षी फर्म पनि सञ्चालन गरेका थिए ।
युएनडिपीको एचआईभी नियन्त्रण तथा रोकथाम परियोजनामा नेपालका विभिन्न जिल्लामा परियोजना प्रमुख भएर काम गरेका उनी ‘प्रेम गीत, चंखे शंखे पंखे र मेरी मामु’ फिल्ममा कार्यकारी निर्माताको रुपमा रहेका थिए । उनलाई नेपाली चलचित्रकर्मीहरुबाट राम्रो साथ मिलेको छ । यही मे महिनाको अन्तिम साता हुने निर्वाचनमा एनआरएनएका सदस्यले अनलाइनबाट भोट दिनेछन् ।