मिति : २०८१ आश्विन १३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सूर्यवंशी’ ले हलमा तान्यो दर्शक, अब नेपाली फिल्मको पखाई

फिल्मीखबर, काठमाडौं, 2021/11/07
कोरोना महामारीले नेपालमा कुनै क्षेत्र सबैभन्दा बढी प्रभावित छ भने त्यो फिल्म क्षेत्र हो । पहिलो चरणको महामारीमा फिल्म क्षेत्रका गतिविधि करीब ९ महिना ठप्प रहे । बीचमा केही महिना खुले पनि कोरोनाको दोस्रो लहर सुरु भएसँगै फेरि बन्द भयो । फिल्मकर्मी र फिल्म सम्बद्ध संघ-संस्थाको अथक मिहिनेतपछि गत भदौबाट सरकारले हल खोल्न र छायांकनको अनुमति दियो ।
 
तर, सरकारले हल खोल्न अनुमति दिए पनि फिल्म प्रदर्शन गर्न निर्माताहरु तयार भएनन् । जसले गर्दा दशैंको मुखमा आएर मात्र हल खुले । हल खोल्ने निर्णय गर्दै नेपाल चलचित्र संघले पहिलो हप्ता निर्मातालाई ५५ प्रतिशत शेयर दिने र चलचित्र विकास बोर्डले ७ लाख बराबरको राहत प्याकेज घोषणा गरेको थियो । तर, यसका वाबजूद पनि निर्माताहरु फिल्म रिलिज गर्न तयार भएनन् । 
 
दशैं जस्तो ठूलो चाडमा ठूला फिल्म रिलिज नहुने देखेपछि निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको वरपीपल’ फूलपातीमा रिलिज गरे । शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत जस्ता नाम चलेका कलाकारहरुको अभिनय रहेको यो फिल्मले हलसम्म दर्शक तान्ने धेरैको अपेक्षा थियो । तर, फिल्म हेर्न हलसम्म दर्शक नै पुगेनन् । यसपछि त अरु निर्माताहरुको पनि भागाभग भयो । 
 
कोरोना महामारीअघि नेपाली निर्माताहरुको एउटै गुनासो र दुखेसो हुन्थ्यो- ‘हिन्दी फिल्मले गर्दा नेपाली फिल्म थिचोमिचोमा पर्‍यो ।’ नेपाली निर्माताहरु हिन्दी फिल्मका कट्टर विरोधी नै थिए । तर, कोरोना महामारीले थला परेको फिल्म क्षेत्रलाई चलायमान बनाउन भने हरेक फिल्मकर्मी बलिउडको एउटा आशातित फिल्मको प्रतिक्षामा थिए । त्यसमध्ये एउटा फिल्म थियो, ‘सूर्यवंशी’ ।
 
Sooryavanshi
 
पटक-पटक प्रदर्शन मिति घोषणा गरेता पनि कोरोनाका कारण यो फिल्म प्रदर्शनमा आउन सकेको थिएन । दशैंअघि भारतको महाराष्ट्र सरकारले सिनेमा हल खोल्न अनुमति दिएपछि निर्देशक तथा निर्माता रोहित शेट्टीले दिपावलीलाई लक्षित गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरे । यो घोषणाले भारतसँगै नेपालका निर्माता-वितरकदेखि हल व्यवसायीहरुसम्म उत्साहित भएका थिए । 
 
यो फिल्मले हलसम्म दर्शक तानेको खण्डमा आफ्नो फिल्म प्रदर्शन गर्ने सोचमा नेपाली निर्माताहरु थिए । नभन्दै ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएको छ । शुक्रवारदेखि नेपालका हलहरुमा दर्शकको ठूलो भीड छ । यसले नेपालका निर्माताहरु आफ्नै फिल्म चलेको जसरी खुसीयाली मनाइरहेका छन् । अब सबैलाई नेपाली फिल्म हेर्न पनि दर्शक आउँछन् भन्ने ठूलो आश पलाएको छ । 
 
तर, ‘सूर्यवंशी’ हेर्न हलसम्म ओइरिएका दर्शक नेपाली फिल्म हेर्न पनि उतिक्कै उत्साहका साथ आउँछन् भन्ने ग्यारेन्टी छैन । ठूलो स्टारकास्ट र तगडा कन्टेन्टले गर्दा यो फिल्मले दर्शकको राम्रो साथ पाएको हो । अब नेपाली फिल्मबाट पनि दर्शकको अपेक्षा यही रहनेछ । फिल्म बलियो छ भने दर्शकलाई हलसम्म आउन कोरोनाको भयले रोक्दैन भन्ने गतिलो उदाहरण ‘सूर्यवंशी’ बनेको छ । 
 
यो फिल्मले नेपालमा लोभलाग्दो व्यापार गरेपछि नेपाली निर्माताहरुमा छटपटि सुरु भएको छ । कोरोनाको भयले हलसम्म दर्शक आउँदैनन् कि भनेर दशैं र तिहार जस्तो पर्वमा फिल्म रिलिज गर्न डराएर बसेका निर्माताहरु अब कुन मितिामा फिल्म प्रदर्शन गर्ने भन्नेमा अन्योल अवस्थामा छन् । किनकि, बलिउडका ठूला स्टारका फिल्महरुले राम्रा मिति जति सबै ‘बुक’ गरिसकेका छन् । 
 
तर, अब निर्माण सकेर बसेका फिल्मलाई रिलिज गर्न निर्माताहरु तात्ने पक्का छ । आउँदै गरेको शिवरात्री, फागू पूर्णिमा, चैतेदशैँ, जनै पूर्णिमा, नयाँ वर्षमा फिल्म रिलिज गर्न निर्माताहरुबीच ठूलै तछाडमछाड चल्ने देखिन्छ । ‘ए मेरो हजुर ४, प्रेमगीत ३, म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन, कबड्डी ४, छक्का पञ्जा ४’ लगायतका ठूला फिल्म दर्शकले निकै प्रतिक्षा गरेर बसेका छन् ।