इन्टरनेटको युगभन्दा अगाडि सेलिब्रेटीहरुप्रति आम मानिसको धारणा फरक थियो । काँचको पर्दामा देखिने कलाकारहरुलाई विशेष रुपमा हेरिन्थ्यो । उनीहरु वास्तविक जीवनमा कस्ता हुन्छन् ? कस्तो जीवनशैली बाँच्छन् ? भन्ने कुरा कौतुहलताको विषय हुन्थ्यो । यसैले त मेला-महोत्सव, छायांकन स्थल र हलमा उनीहरुको एक झल्को हेर्नका लागि मात्रै पनि मानवसागर ओर्लिन्थ्यो ।
तर, इन्टरनेटको बढ्दो पहुँचले कलाकारप्रति आम मानिसको रुची र चासो घट्दै गएको छ । यो अवस्था आउनुमा कलाकारहरु नै दोषी छन् । उनीहरुले आफ्नो जीवनशैली देखाउने होडबाजीमा ओछ्यानदेखि ट्वाइलेटसम्म सामाजिक सञ्जालमा छरपस्ट पारेका छन् । जसले गर्दा अचेल सर्वसाधारणलाई पर्दाका अनुहार देख्दा अचम्म लाग्दैन, बरु आफ्नै अनुहार खुम्च्याएर हिँड्ने गर्दछन् ।
कुनै समय हलमा मात्र देख्न पाइने कलाकारहरु आजभोली सामाजिक सञ्जालमा सहजै उपलब्ध हुन्छन् । कोरोना महामारीपछि त केही कलाकारहरु पत्रकार समेत बनेका छन् । आफ्नै नाममा यूट्युब खोलेर कसैले अन्तर्वार्ता चलाइरहेका छन् भने कसैले भ्लगको नाममा पकाएकोदेखि खाएकोसम्म भिडियो राख्दै आएका छन् । अहिले यूट्युब नखोलेका नेपाली कलाकारहरु भेट्न नै गाह्रो छ ।
सेलिब्रेटी भएपछि यूट्युबमा भिडियो हेर्नेको संख्या उल्लेख्य हुन्छ । जसबाट राम्रो रेभिन्यू (डलर) आउँछ । भारतका केही नाम चलेका कलाकारहरुले पनि आफ्नै नाममा यूट्युब खोलेका छन् तर उनीहरुले यूट्युबलाई आफ्नो बारेमा जानकारी दिने प्लेटफर्मको रुपमा मात्र प्रयोग गरेको पाइन्छ । दुईतिर कुर्सी राखेर अन्तर्वार्तामै उत्रिँदैनन्, जसरी नेपालमा केही कलाकारले गरिरहेका छन् ।
करिश्मा मानन्धर, प्रियंका कार्की, रीमा विश्वकर्मा, केकी अधिकारी, पल शाह, ऋचा शर्मा लगायतका कलाकारहरुले आफ्नै नाममा यूट्युब खोलेर कसैले भ्लग त कसैले अन्तर्वार्ता चलाइरहेका छन् । यो भीडमा अभिनेत्री साम्राज्ञी आरएल शाह पनि थपिएकी छन् । उनले ‘एसआरएलएस’ नाममा यूट्युब च्यानल खोल्दै २२ जनवरी २०२२ मा ‘माई फर्स्ट भ्लग’ भन्दै एउटा भिडियो राखेकी छन् ।
भ्लगमा उनले नयाँ फिल्मको वर्कसपदेखि प्रियंका कार्कीलाई अन्तर्वार्ता दिएको भिडियोसम्म समावेश गरेकी छन् । कलाकारहरुले प्रविधिलाई आत्मसात् गर्दै आफूलाई त्यसै अनुरुप प्रस्तुत गर्नु राम्रो कुरा हो । तर, यूट्युबलाई डलर झार्ने प्लेटफर्मको रुपमा लिएर सस्तो हुने गरी प्रस्तुत हुँदा कलाकारको साख रहँदैन । अब साम्राज्ञीले यूट्युबमा आफूलाई कसरी प्रस्तुत गर्नेछिन्, हेर्न बाँकी छ ।