३१ देशका ६० भन्दाबढी चलचित्रहरूको प्रतिष्पर्धासहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) सम्पन्न भएको छ। काठमाण्डौंको पर्यटन बोर्ड र राष्ट्रिय सभागृह हलमा यो महोत्सव पाँचदिनसम्म चलेको थियो।
गत सोमबार आयोजित समापन समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । नेपालका विशिष्ट र वरिष्ठ चलचित्रकर्मीहरू, प्राविधिकहरू, पत्रकारहरू, विदेशी पाहुनाहरू लगायतको उपस्थिति रहेको कार्यक्रममा पुरस्कृतहरूलाई ट्रफी र प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
नीफमा सहभागी प्रतिष्पर्धी फिल्महरूमध्ये सर्वोत्कृष्ट छनोट गर्न नेपालका वरिष्ठ निर्देशक तथा कलाकार नीर शाहको संयोजकत्वमा पाँच सदस्यीय निर्णायक समिति चयन भएका थिए । भारतका चर्चित चलचित्रकर्मी प्रेमेन्द्र मजुमदार, चीनको बेइजिङ फिल्म एकेडेमीका प्रोफेसर ल्याङ स्याओ, क्यान्स फिल्म फेस्टिभलका प्रोग्राम निर्देशक एन्ने डेलेच, नेपाली जनजाति तथा भाषाभाषी चलचित्रका वरिष्ठ चलचित्रकर्मी नविन सुब्बा निर्णायक सदस्यका रूपमा सहभागी थिए ।

महोत्सवमा इओ सिउ हुआ निर्देशित सिंगापुरको फिल्म ‘अ ल्यान्ड इमाजिन्ड’ ले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वोत्कृष्ट भई ‘गौतम बुद्ध पुरस्कार’ जितेको थियो। पहिलो हुँदै फिल्मले एक हजार डलरसहित ट्रफी र प्रमाण पत्र पाएको थियो। सुवर्ण सेनजुती तुसीको निर्देशन र लेखन रहेको भारत–बंगलादेशको ‘मीन आलाप’ ले सर्वोत्कृष्ट लघु फिल्मको ‘माउन्ट एभरेस्ट पुरस्कार’ सहित पाँच सय डलर जितेको थियो।
नीफमा सहभागी फिल्ममध्ये राष्ट्रिय लघु फिल्महरूको प्रतिस्पर्धामा ‘आमा’ बाट परिच्छेद सेनले सर्वोत्कृष्ट निर्देशक पुरस्कार प्राप्त गरेका थिए । नरेशकुमार केसी निर्देशित ‘डाइङ क्यान्डल’ बाट सर्वोत्कृष्ट फिल्म, निर्देशक र छायाँकारको पुरस्कारसहित ५० हजार रुपैयाँ र सर्वोत्कृष्ट पटकथाको पुरस्कार शिवम् अधिकारी निर्देशित ‘पञ्चायत’ ले प्राप्त गरेको थियो । लघु वृत्तचित्र फिल्मतर्फ २५ हजार रुपैयाँसहित सर्वोत्कृष्ट पुरस्कार सेनाङ ग्याम्जो तामाङ निर्देशित ‘सुपर मंक’ ले पाएको थियो भने सर्वोत्कृष्ट सम्पादकको पुरस्कार लव प्याकुरेले प्राप्त गरेका थिए । बंगलादेशको चलचित्र ‘कोमोला रकेट’ लाई जुरी पुरस्कार प्रदान गरिएको थियो ।
महोत्सवको अन्तिम दिन सोमबार चीनको फिल्म ‘अला चाङसो’ प्रदर्शन गरिएको थियो । नेपाल भाषाका दुई छोटा फिल्म ‘द मिथ जिरो’ र ‘अस्तित्व’ पनि देखाइएको थियो ।