एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोग खेपिरहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको जिल्ला अदालतले पनि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बुधवार न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । थुनछेक बहसका लागि शाहलाई मंगलवार तनहुँबाट नवलपरासी लगिएको थियो ।
नवलपरासी अदालतले शाहलाई तनहुँकै कारगारमा राखेर मुद्दाको कारबाही अगाडि बढाउन आदेश दिएको हो । यही चैत १० गते तनुहँ जिल्ला अदालतले पनि नाबालिगलाई विभिन्न प्रलोभन दखाई जबर्जस्ती करणी गरेको देखिन आएको भन्दै शाहलाई थुनामा राख्न आदेश दिएको थियो । तर, शाहले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दिइसकेका छन् ।
नवलपरासी जिल्ला अदालतको आदेशसँगै शाहलाई बुधवार नै तनहुँ फर्काइएको छ । तनहुँबाट आएको सुरक्षाकर्मीको टोलीले शाहलाई तनहुँको कारागार लगेको हो । पूर्वी नवलपरासी अदालतले शाहलाई बैशाख ७ गते पुनः अदालतमा हाजिर हुन भनेको छ । नाबालिगले गत फागुनमा तनहुँ र नवलपरासी प्रहरी कार्यालयमा शाहविरुद्ध जबर्जस्ती करणीको मुद्धामा जाहेरी दिएकी थिइन् ।