निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’ सिरिजलाई अन्त्य गर्दै ‘कबड्डी ४’मार्फत् नयाँ फिल्म ‘मास्टर बमकाजी’को निर्माण घोषणा गरेका थिए । ‘कबड्डी’को चारवटै सिरिजमा वीरकाजी (दयाहाङ राई) को बिहेको गोलचक्करलाई देखाएका उनले ‘मास्टर बमकाजी’मा ‘कबड्डी’को बमकाजी पात्र (सौगात मल्ल) को बिहेको कथालाई तन्काउँदैछन् । फिल्ममा सौगातको मुख्य भूमिका रहने पक्का छ ।
तर, यो फिल्मभन्दा अगाडि निर्देशक गुरुङ नयाँ फिल्म बनाउने तयारीमा जुटेका छन् । उनले नाम तय हुन बाँकी रहेको फिल्मका लागि मुख्य भूमिकामा अभिनेता विपिन कार्कीलाई अनुबन्ध गरेका छन् । बिहीवार दिउँसो उनीहरुबीच कागजी सम्झौता भएको हो । अभिनेता कार्कीले इन्स्टाग्राम स्टोरीमा एक तस्विर राख्दै आफू रामबाबु गुरुङको फिल्ममा भित्रिएको जानकारी गराएका छन् ।
प्राप्त जानकारी अनुसार, निर्देशक गुरुङले ‘बगान’ नाममा फिल्म बनाउने योजनासहित स्क्रिप्ट तयार पारेका थिए । तर, यो नाममा अभिनेता सरोज खनालले फिल्म निर्माण गरिसकेका कारण यतिबेला उनी नयाँ नामको खोजीमा रहेको बुझिएको छ । उनका हरेक फिल्ममा अनिवार्य अट्ने अभिनेता दयाहाङ राई, विपिनसँगको प्रोजेक्टमा रहन्छन् वा रहँदैनन्, यसबारेमा जानकारी प्राप्त छैन ।
विपिनले हालै फिल्म ‘के घर के डेरा’को केही प्रतिशत छायांकन सकाएका छन् । अब उनले बलिउड फिल्म ‘एनिमल’का लागि समय छुट्याएका छन् । उनी मुम्बईबाट फोन आउनसाथ कुनै पनि बेला भारत उड्ने तयारीमा बसेका छन् । भारतबाट फर्किएपछि पाइपलाइनमा रहेको फिल्म ‘प्रसाद २’को छायांकन सकेर उनले रामबाबु गुरुङको फिल्मलाई समय छुट्याउने जानकारीमा छ ।