चर्चित अभिनेता भुवन केसीलाई मन्त्रिपरिषद बैठकले आगामी दुई वर्षका लागि चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । मंगलवार सञ्चार तथा सूचना मन्त्रालयले सार्वजनिक गरेको बैठकको निर्णयको ९औं नम्बरको बुँदामा उनलाई बोर्ड अध्यक्षमा मनोनयन गर्ने उल्लेख छ ।
दयाराम दाहालको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले सूचना प्रकाशित गर्दै बोर्ड अध्यक्षका लागि आवेदन दिन माग गरेको थियो । जसअनुरुप भुवनसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेश पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील पोखरेल र सुष्मा कार्कीले दरखास्त दिएका थिए । उनीहरुको यसै हप्ता अन्तर्वार्ता भएको थियो ।
भुवन स्थानीय तहको मुखमा नेकपा एमाले परित्याग गर्दै नेपाली कांग्रेस भित्रिएका थिए । उनले बोर्ड अध्यक्ष बन्नकै लागि कांग्रेस प्रवेश गरेको व्यापक टिका-टिप्पणी भएको थियो । सत्तामा रहेको पार्टीकै कार्यकर्ता बोर्ड अध्यक्ष बनाउने परिपाटी रहेकाले भुवन कांग्रेस प्रवेश गरेसँगै राजनीतिक शक्ति केन्द्र धाइरहेका थिए । अन्ततः कांग्रेसले उनलाई नै बोर्ड अध्यक्षको कुर्सी सुम्पिएको छ ।
फिल्म क्षेत्रको बागडोर समाल्ने अवसर भुवनका लागि जति सुखद् छ त्यति नै चुनौतीको चाङ पनि छ । नाम मात्रको बक्सअफिस कार्यान्वयन गर्नुपर्ने, बोर्डलाई स्वायत्त बनाउनु पर्ने, विदेशी फिल्मको थिचोमोचो अन्त्य गर्नुपर्ने लगायतका चुनौतीको पहाड उनको सामु छ । नेपाली फिल्ममा चार दशकभन्दा बढी समय विताइसकेका भुवन पहिलो पटक फिल्म क्षेत्रको नेतृत्व तहमा पुगेका हुन् ।
भुवनको फिल्मी करिअर जति सफल छ, अनेक विवादले उनको छवि खासै राम्रो बन्न सकेको छैन । कोरोना महामारीको समयमा अभिनेत्री साम्राज्ञी आरएल शाहले उनीमाथि दुर्व्यवहारको गम्भीर आरोप लगाएकी थिइन् । तर, विवाद जति भए पनि उनले आफ्नो करिअरमा एकसेएक सुपरहिट फिल्म दिएका छन् । नेपाली फिल्म क्षेत्रले यो स्थानसम्म फड्को मार्नमा उनको ठूलो योगदान छ ।
भुवनले आफूलाई कलाकारको रुपमा मात्र सीमित राखेका छैनन् । अभिनय करिअरको उत्कर्षमा रहेको समयदेखि फिल्म निर्माण गर्दै आएका उनले अहिलेसम्म त्यसलाई निरन्तरता दिएका छन् । फिल्म ‘ड्रिम्स’बाट निर्देशक समेत बनिसकेका उनले आफ्नो छोरा अनमोललाई पनि आफू हिँडेको बाटो ल्याए । अनमोल अहिले नेपाली फिल्मको ‘लिडिङ एक्टर’ हुन्, जसको नामैले फिल्म चल्छ ।
फिल्म ‘जुनी’बाट अभिनेताको रुपमा डेब्यू गरेका भुवनले आफ्नो करिअरको सुरुवात गायनबाट गरेका थिए । एक समय नेपाली फिल्ममा राज गरेका उनका प्रायः फिल्मले कमाई र प्रदर्शनमा ऐतिहासिक रेकर्ड बनाएका छन् । ‘कुमुसे रुमाल’, ‘सन्तान’, ‘चिनो’, ‘कन्यादान’, ‘करोडपति’, ‘सुपरस्टार’ जस्ता फिल्मबाट सुपरस्टार बनेका उनी पछिल्लो समय अभिनयमा उत्तिसाह्रो सक्रिय छैनन् ।