.jpg)
विदेशमा नेपाली फिल्मको छायांकन गर्ने मामलामा निर्देशक तथा निर्माता मिलन चाम्स सबैभन्दा अगाडि मानिन्छन् । ‘लिलिबिली’, ‘ह्याप्पी डेज’, ‘बोबी’ फिल्मको विदेशी भूमिमा छायांकन गरिसकेका उनले विगत दुई सातादेखि नयाँ फिल्म ‘वर एण्ड वधु’को पर्यटकीय देश रोमानियामा छायांकन गरिरहेका छन् । फिल्मको महत्त्वपूर्ण सिनदेखि गीतसम्म रोमानियामा छायांकन भएको छ ।
.jpg)
रोमानियाको छायांकन अन्तिम चरणमा रहँदा निर्माण टिमले केही तस्वीरहरु सार्वजनिक गरेको छ । जसमा अभिनेत्री आँचल शर्मा र नव-नायक विवेक कर्माचार्य रोमान्टिक मुद्रामा देखिएका छन् । छायांकनको क्रममा आँचलदेखि मिलन चाम्ससम्मले रोमानियाको राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता समेत दिएका थिए । त्यहाँको टेलिभिजनमा फिल्मको छायांकन रिपोर्ट समेत प्रशारण गरिएको छ ।
(1).jpg)
मिलन चाम्सले अबको ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा गरिने बताए । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्मातामा डाक्टर अमित रिजाल छन् । फिल्ममा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्कालगायत पनि कलाकारको रुपमा छन् ।
.jpg)
रोमान्टिक कमेडी कथामा निर्माण भइरहेको फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह अतिथी भूमिकामा देखिँदैछिन् । रोमानियामा फिल्मको छायांकन राम्रो भएको र दर्शकले फरक स्वाद पाउने निर्देशक चाम्सको दाबी छ । सुदिप बरालको छायांकन रहेको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजको हो । यो फिल्मका लागि आँचलले १० केजीभन्दा बढी तौल घटाएकी छन् ।