नर्वेमा नेपाली फिल्म छायांकनका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस भएको भेटिएको छ । ‘तिम्रो नजर’ फिल्मको छायांकन नर्वेमा गर्नका लागि भारतमा रहेको नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलेको हो ।
फिल्म छायांकनका लागि कलाकारसहितको भिसा आवेदन परेपछि दूतावासले नेपालस्थित पर्यटन बोर्डबाट फोनमार्फत जानकारी लिएको थियो । तर, बोर्डले कुनै पनि नेपाली फिल्मको सुटिङको लागि अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजपत्र पेस भएको खुलेको हो । नक्कली लेटरप्याडमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी धनञ्जय रेग्मीको हस्ताक्षर प्रयोग छ ।
तर, प्रमुख रेग्मीले बोर्डले नर्वेमा कुनै पनि फिल्मको सुटिङको लागि अनुमति नमागेको र आफ्नो हस्ताक्षर नक्कली प्रयोग भएको बताएका छन् । नेपाल पर्यटन बोर्डको ३०९-२०७८/७९ पत्र नम्बरमा गत जुलाई २० मा १४ जना कलाकारका लागि भिसा आवेदन पेस भएको थियो । तर, बोर्डले लेटरप्याड र हस्ताक्षर दुवै नक्कली प्रयोग भएको बताएपछि दूतावासले भिसा रिजेक्ट गरेको छ ।
सुटिङका लागि हरिश सिग्देल (आर्यन), केकी अधिकारीलगायत १४ जनाको नाममा भिसा आवेदन दिइएको थियो । तर, निर्माताले भिसाका लागि आवेदन दिएकाले फिल्म निर्माणका लागि प्रयोग भएको कागजातको बारेमा कलाकारहरु जानकार नहुन पनि सक्छन् । आर्यन र केकीले ‘तिम्रो नजर’ फिल्ममा काम गर्न लागेको हो वा होइन भन्ने विषयमा कुनै पनि जानकारी दिएका छैनन् ।
नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा फिल्मको निर्देशकमा दीपकप्रसाद आचार्य र निर्मातामा रोशन पराजुलीको नाम छ । आफ्नो कार्यालयको लेटरप्याड र प्रमुख कार्यकारी अधिकारीको हस्ताक्षर नक्कली प्रयोग भएको भेटेपछि बोर्डले केस नेपाल प्रहरीलाई दिएको छ । यस विषयमा अनुसन्धान गर्न केस प्रहरीलाई सुम्पिएको बोर्डका कार्यकारी प्रमुख रेग्मीले जानकारी दिए ।
बोर्डले अनुसन्धानको लागि दिएको पत्र दर्ता गरेर अहिले प्रहरीको अनुसन्धान ब्युरोले नक्कली कागजपत्र पेस सम्बन्धमा अनुसन्धान गरिरहेको छ । ब्युरोले सरकारी पत्र दुरुपयोगको विषयसँगै फिल्मका नाममा मानव तस्करी हुनसक्ने आशंकामा पनि अनुसन्धान गरिरहेको छ । छायांकनका लागि नक्कली कागजपत्र पेस भएको खबर सार्वजनिक भएसँगै फिल्म क्षेत्रमा तरंग मच्चिएको छ ।