मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नक्कली कागजपत्र प्रकरणमा केकीको स्पष्टिकरण : ‘यो गतिविधिबारे पूर्व जानकारी थिएन’

फिल्मीखबर, काठमाडौं, 2022/08/24
keki adhikari
 
नर्वेमा ‘तिम्रो नजर’ नामक नेपाली फिल्मको छायांकनका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीसहित १४ जनाको नाममा भारतमा रहेको नर्वेजियन दूतावासमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र बोर्ड प्रमुखको हस्ताक्षर नक्कली बनाएर भिसा आवेदन पेस गरेको भेटिएपछि केकीले यस किसिमको अवान्छित गतिविधिबारे आफूलाई पूर्व जानकारी नभएको स्पष्टिकरण दिएकी छन् । 
 
बुधवार दिउँसो फेसबुकमा स्टाटस लेख्दै उनले ‘तिम्रो नजर’ नामक फिल्म आफूले साइन नगरेको पनि स्पष्ट पारेकी छन् । उनले लेखेकी छन्, ‘विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार ‘ब्लु बर्ड एच डि’ नामक निर्माण कम्पनीले ‘तिम्रो नजर’ नाम गरिएको फिल्म निर्माण गर्ने बहानामा कलाकारको रूपमा मेरो संलग्नता देखाई सरकारी कागजपत्र समेतको दुरुपयोग गरेको भन्ने समाचारप्रति सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’
 
गैरकानूनी कृयाकलाप गरेको भए दोषी उपर कारवाही गर्न माग गर्दै उनले अगाडि लेखेकी छन्, ‘मैले त्यस्तो नाम गरेको कुनै फिल्म निर्माण कम्पनीसँग कुनै पनि नामको फिल्ममा सम्झौता गरेकी छैन । र, यस किसिमको अवान्छित गतिविधिबारे कुनै पूर्व जानकारी पनि थिएन । साथै, मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागजपत्र, हस्ताक्षर र नामको दुरुपयोग गरि गैरकानूनी कृयाकलाप गरिएको रहेछ भने दोषी उपर कडा कारवाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्न चाहन्छु ।’ 
 
फिल्म छायांकनका लागि १४ जना कलाकारसहितको भिसा आवेदन परेपछि नर्वेजियन दूतावासले पर्यटन बोर्डसँग सम्पर्क गरेको थियो । तर, बोर्डले कुनै पनि नेपाली फिल्मको सुटिङको लागि नर्वेसँग अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजपत्र पेस भएको खुलेको हो । नक्कली लेटरप्याडमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी धनञ्जय रेग्मीको हस्ताक्षर प्रयोग छ । 
 
नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा फिल्मको निर्देशकमा दीपकप्रसाद आचार्य र निर्मातामा रोशन पराजुलीको नाम छ । नेपाल पर्यटन बोर्डको नक्कली कागजपत्र प्रयोग भएको भेटेपछि बोर्डले केस नेपाल प्रहरीलाई दिएको छ । प्रहरीको अनुसन्धान ब्युरोले सरकारी पत्र दुरुपयोगको विषयसँगै फिल्मका नाममा मानव तस्करी पनि हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको छ ।