हरेक प्रकारको चरित्रमा जीवन्त बाँच्ने कलाकार हुन्, दीया मास्के । आफ्नो अभिनयबाट उनले थिएटरमा मात्र होइन, फिल्ममा पनि गजबको वाहवाही बटुलेकी छन् । ‘कागबेनी’, ‘सुनगाभा’, ‘साँघुरो’, ‘दोख’ जस्ता फिल्ममा सम्झनलायक चरित्रमा अभिनय गरेकी दीयाले आफ्नो करिअरमा पहिलो पटक सफलताको महसुस गर्न पाएकी छन् । उनलाई यो खुसी फिल्म ‘प्रकाश’ले दिलाएको हो ।
हुन त यसअघि दीया अभिनीत फिल्म ‘होस्टेल रिर्टन्स’ बक्सअफिसमा सफल भएको थियो । तर, सहायक भूमिका भएकाले उनले सफलताको श्रेय पाइनन् । ‘प्रकाश’को भने उनी केन्द्रिय पात्र हुन् । फिल्ममा उनी जुम्ली महिलाको भूमिकामा छन् र त्यसमा जीवन्त अभिनय गरेकी छन् । फिल्म हेर्दा उनलाई जुम्लाकै महिला लाग्छ । उनले चरित्रको गहिराइमा डुबेर अभिनय गरेकी छन् ।
फिल्म हेर्ने प्रायःले दीयाकै प्रशंसामा शब्द खर्चिएका छन् । त्यसैले पनि उनी फिल्म प्रदर्शनको दिनदेखि दिनहुँजसो हल पुगिरहेकी छन् । दोस्रो हप्तामा पनि उच्च शोजका साथ प्रदर्शन भइरहेको फिल्म सफलताको बाटोमा लम्किँदैछ । यसले सबैभन्दा बढी राहत दीयालाई पुगेको छ । किनकि, उनी लामो समयदेखि सुस्ताएको करिअरलाई उचाईं दिने एउटा सफल फिल्मको पखाईमा थिइन् ।
दीया लामो समय फिल्ममा देखिएकी थिइनन् । ‘दोख’ गत असारमा प्रदर्शन भएको भए पनि ७ वर्ष अगाडि निर्माण भएको थियो । त्यसपछि उनले ‘प्रकाश’मा काम गरेकी हुन् । यसकारण यो उनको कमब्याक फिल्म हो । ‘प्रकाश’ अघि उनलाई खासै फिल्मबाट अफर भएका थिएनन् । अब भने उनलाई भिन्न प्रकारको भूमिका र गहन विषयका फिल्मबाट राम्रो अफर आउन सक्ने देखिन्छ ।