मिति : २०८१ आश्विन १६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

किन अग्रजको अपमान गर्दैछन् प्रदीप र सन्तोष ?

फिल्मीखबर, काठमाण्डौ, 2022/09/20
आफूभन्दा सानालाई माया र ठूलालाई आदर-सम्मान गर्नु हाम्रो संस्कारको एक महत्त्वपूर्ण गुण र हिस्सा हो । अरुलाई सम्मान गर्दा आफूलाई पनि अरुले सम्मानको दृष्टिले हेर्छन् । तर, आधुनिक युगमा आफूभन्दा अग्रज र ठूलाबडालाई सम्मान गर्ने संस्कार लोप हुँदै गएको छ । समाजको मार्गदर्शक मानिने व्यक्तिहरु नै अग्रजको सम्मानभन्दा अपमान गर्न बढी उद्देलित छन् । फिल्म क्षेत्रको अहिलेको घटनाक्रम हेर्दा पनि त्यो देखिन्छ । 
 
अभिनेता प्रदीप खड्का र निर्माता तथा निर्देशक सन्तोष सेनका तात्ताता आक्रोशित अभिव्यक्ति हेर्ने हो भने नेपाली फिल्म क्षेत्रमा अग्रजलाई सम्मान गर्ने संस्कार हराएको स्पष्ट बुझिन्छ । ‘प्रेमगीत ३’लाई साथ र सहयोग गर्नेलाई उनीहरु महान् र देशप्रेमी मानिरहेका छन् । तर, यथार्थ बोल्नेलाई दुश्मन ठानेर अपमानजनक अभिव्यक्ति दिँदै हिँडिरहेका छन् । उनीहरुको एउटै धारणा छ, गलत नै भए पनि हाम्रै पक्ष लिनुपर्छ र ‘प्रेमगीत ३’को हरेकले माला जप्नुपर्छ ।
 
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रदीप खडकाले चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको अपमान गर्न कुनै कसर बाँकी छाडेनन् । उनले भुवन केसी आफूभन्दा अग्रज हुन् र नेपाली फिल्ममा ठूलो योगदान गरेका कारण सम्मान भाव व्यक्त गर्नुपर्छ भन्ने सामान्य चेत समेत राखेनन् । उनले भुवन केसीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै दिमाग नै नभएको मान्छे समेत भन्न भ्याए । 
 
Santosh Sen
 
‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाली फिल्म सरह सेवा-सुविधा अर्थात् विदेशी फिल्ममा लाग्ने १५ प्रतिशत विकास शुल्क मिनाहा र रातीको ११ बजेपछि शो चलाउन नदिने निर्णय गरेकोमा बोर्ड अध्यक्ष केसीप्रति उनको आक्रोश थियो । बोर्ड वा भुवन केसीप्रति कुनै कुरामा चित्त बुझाई थिएन भने ‘फेस टू फेस’ भएर समस्याको समाधान खोज्न सकिन्थ्यो । तर, उनले भुवन केसीले नेपाली फिल्ममा पुर्‍याएको योगदानको समेत सम्मान गरेनन्, जुन दुःखद् हो ।
 
आज प्रदीप जुन धरासतमा उभिएका छन्, त्यसमा भुवन केसीको ठूलो योगदान छ । नेपाली फिल्म क्षेत्र धरासायी भएको अवस्थामा भुवन केसीले काँध नथापेको भए आज प्रदीपको टेक्ने र समाउने हाँगा नै हुँदैन थियो । तर, नेपाली फिल्ममा भुवन केसीको योगदान नै नभएको झैं गरी उनी मिडियामा जसरी अपमानजनक अभिव्यक्ति दिँदै हिँडेका छन्, त्यसले उनले पाएको बौद्धिक अभिनेताको छविलाई पनि गिज्याएको छ । 
 
आफूभन्दा अग्रजको अपमान गर्न प्रदीप मात्र होइन, उनकै फिल्म ‘प्रेमगीत ३’का निर्माता तथा निर्देशक सन्तोष सेनले पनि कम्मर कसेका छन् । उनले मंगलवार फेसबुकमा स्टाटस लेख्दै कलाकार सरोज खनालमाथि अपमानजनक शब्द प्रयोग गर्दै जंघिन आरोप समेत लगाएका छन् । खनालले अमेरिकामा कलाकार लुक्ने ट्रेन्ड बसालेकाले आज राम्रो कामका लागि कलाकारले भिसा पाउन छाडेको उनको आरोप छ ।
 
हालै केही यूट्युबमा अभिनेता सरोज खनालले प्रदीपले भुवन केसीलाई लक्षित गरेर बोलेका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै आफूभन्दा अग्रजको सम्मान गर्न आग्रह गरेका छन् । निर्माता सेनले ‘प्रेमगीत’मा प्रदीपले काम गर्न सक्दैन होला भन्दा आफूले गर्न सक्छ भनेको पनि खनालले स्मरण गरेका छन् । कलाकार खनालको यो अभिव्यक्ति चित्त बुझाउन नसकेपछि सन्तोषले अपमानजनक भाषा प्रयोग गर्दै अमेरिकामा लुक्न ट्रेन्ड बसाल्ने मान्छेले हावा अभिव्यक्ति दिन नसुहाउने बताएका छन् ।
 
आफूले फिल्ममा नलिएका कारण सरोज खनालले यसप्रकारको अभिव्यक्ति दिएको सेनको आरोप छ । ‘प्रेमगीत’को समयमा आफूहरुबीच दोहोरो कुरा नभएको बताउँदै उनले लेखेका छन्, ‘प्रदीपले सक्दैन भनेको तपाईंकै निर्देशकले हो । अहिले सुन्दा लाज हुने अभिव्यक्ति दिँदै नहिड्नु होला । स्वयं प्रदीपलाई पनि यो कुरा सुन्दा लाज भयो होला । तपाईंको फिल्म क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने बसाली दिनुभयो । आज त्यसको नतिजा राम्रो कामको लागि पनि कलाकारले भिसा पाउँदैनन् ।’
 
saroj khanal
 
सन्तोष सेनले लेखेको स्टाटसले उनको चेतनास्तरमाथि नै प्रश्न उठाउँछ । सरोज खनालको योगदान अमेरिका गएर लुक्नु मात्र हो भन्ने हिसाबमा उनले जसरी स्टाटस लेखेका छन्, त्यो अत्यन्त लज्जास्पद छ । समय कालखण्डले खनाल अमेरिका भाँसिनु परेको थियो । तर, नेपाली फिल्ममा उनको योगदान नै छैन भन्नु मुर्खताभन्दा बाहेक अरु केही होइन । आफ्नो पक्षमा नबोलेको रिसमा अग्रजको यो हदसम्म अपमान गर्नु दुर्भाग्यपूर्ण हो ।
 
‘प्रेमगीत ३’ले विश्वमा नेपाली फिल्मका लागि ढोका खोल्दैछ । यो नेपाल र नेपाली फिल्म क्षेत्रकै लागि गर्वको कुरा हो । तर, आफूहरुको मिहिनेतलाई स्वीकार र सम्मान गर्नैपर्छ, नराम्रो बोल्न र लेख्न पाइँदैन, नियम र कानुन लगाउन पाइँदैन भन्ने हिसाबमा प्रस्तुत भएर अग्रजको पनि सम्मान नगर्नु फिल्म क्षेत्रमा नराम्रो संस्कारको विकास हुनु हो । ठूलो स्वरले कराउँदैमा गलत सत्य हुँदैन र सत्य झुटमा बदलिँदैन, यो कुरा बुझ्न ‘प्रेमगीत ३’ टिमले आवश्यक छ ।